गठ्ठाघर दुर्घटना: अरूको घरमा रङ लगाएर छोरीहरूको भविष्य रङ्ग्याएका उत्तमकै घर रङविहीन !

साताअघि मात्रै अमेरिका गएकी छोरी फर्किँदै

तीन छोरीको भविष्य बनाउन उनले घरमा रङ्ग लगाउने काम गरे । त्यसबाटै आफ्ना तीन छोरीको भविष्य उज्यालो बनाउने प्रयास गरे । आज, कोइराला परिवारको घर रङहीन बनेको छ ।

गठ्ठाघर दुर्घटना: अरूको घरमा रङ लगाएर छोरीहरूको भविष्य रङ्ग्याएका उत्तमकै घर रङविहीन !

काठमाडौं । बिहीबार उत्तम कोइरालाले सोचेका थिए— आज भतिजलाई भेटौँला, केही छिन रमाइलो गरौँला !

तर, त्यही नै उनको जीवनको अन्तिम यात्रा बन्यो । न हिजै भतिजसँग भेटे, न अब कहिल्यै भेट्नेछन् ।

बूढानीलकण्ठ १० कपन मिलनचोकमा बस्दै आएका उत्तम बिहीबार मध्याह्न भतिजलाई भेट्न जान भनेर भक्तपुर निस्किएका थिए । भतिज बस्थे, भक्तपुर सूर्यविनायक । त्यस्तै १२ बजेको आसपासमा घरबाट स्कूटर चढेर निस्किएका उनी चाबहिल, कोटेश्वर हुँदै भक्तपुर लागे ।

भतिजको घर पुग्नु केही किलोमिटर वरै गठ्ठाघरमा उत्तमको जीवन मात्र होइन, एउटा परिवारको सपना नै चकनाचुर भयो । जब उत्तम सवार बा ४९ प ८९४४ नम्बरको स्कूटरलाई पछाडिबाट आएको ना ६ ख २१७३ नम्बरको मालबाहक ट्रकले किच्यो ।

उत्तम कोइराला सवार स्कूटरलाई ठक्कर दिएर लतार्दै मालवाहक ट्रक । 

त्यो ठक्करले उत्तमलाई मात्रै किचेन, एउटा परिवारको भविष्य नै किचिमिची पारिदियो । २० टन बोकेर गुडिरहेको ट्रकले लतारेर ३० मिटर पर पुर्‍याउँदा उत्तमको शवसमेत सग्लो रहेन, प्रहरीहरूले चोक्टा-चोक्टा उठाए ।

०००

उत्तमको जीवन धेरै नेपालीको जस्तै सङ्घर्षमय थियो । जनकपुर चुरोट कारखानामा ऊर्जावान् जीवन बिताएका उनले रिटायर्ड भएपछि पनि काम गर्न छाडेनन् ।

तीन छोरीको भविष्य बनाउन उनले घरमा रङ्ग लगाउने काम गरे । त्यसबाटै आफ्ना तीन छोरीको भविष्य उज्यालो बनाउने प्रयास गरे । आज, कोइराला परिवारको घर रङहीन बनेको छ ।

उनका तीन छोरीहरू, जसले आफ्ना बुबाको साथमा सधैँ स्नेह पाएका थिए । अब भने उनीहरूले जीवनको सबभन्दा ठूलो आधार गुमाएका छन् ।

“जसले आफ्नो जीवनभर रङ्ग भर्दै आएका थिए, पहिले जनकपुर चुरोट कारखानामा र त्यसपछि घरहरूमा । तर आज उनको मृत्युले आफ्नै परिवारको जीवनबाट सबै रङ्ग पखालिदिएको छ,” उनलाई नजिकबाट चिन्ने बूढानीलकण्ठ १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई भन्छन् ।

गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेजले उठायो प्रश्न- चेकिङको नाममा मध्य दिउँसै मूल सडक किन छेकियो ? (फुटेजसहित)

केही दिनअघि मात्र माइली छोरीलाई अमेरिका पठाएर खुसी भएका उत्तम आज आफैँ अनन्त यात्रामा निस्किए । जेठी छोरी अस्ट्रेलियामा छिन् । कान्छी छोरी काठमाडौंमै अध्ययनरत छिन् । अब दाहसंस्कारको लागि परिवारले छोरी पर्खनु पर्नेछ ।

परिवारसँग उत्तम कोइराला र स्कूटर चढेर जाँदै गरेको सीसीटीभी फुटेजको दृश्य ।

यो घटनाले परिवारको खुसी खोसेको छ । कोइराला परिवारको घरको मूल खम्बा ढलेको छ । अरूको घरमा रङ्ग लगाएर जीवनभर परिवारलाई रङ्गिन संसार देखाउने प्रयास गरेका उत्तमले अब न त आफ्ना छोरीको सफलता देख्न पाउनेछन्, न त छोरीहरूले पाउनेछन् बुवाको आशीर्वाद ।

छिमेकीसमेत रहेका बूढानीलकण्ठ १० का वडाध्यक्ष नवराज भट्टराई भन्छन्, “गठ्ठाघरको त्यो दुर्घटनाले केवल एक व्यक्तिको जीवन लिएन, एउटा सम्पूर्ण परिवारको खुसी र आशा पनि खोसेको छ । जहाँ रङ्गहरू मधुरो भएका छन् ।”

शहीद परिवारका उत्तम

ओखलढुङ्गा चिशंखुगढी नगरपालिका ४ रातमाटे घर भएका ६२ वर्षीय उत्तमका जेठी आमापट्टीका जेठा दाजु महेश कोइराला पञ्चायतविरुद्धको आन्दोलनमा शहीद भएका थिए । आज त्यही परिवारले अर्को ठूलो क्षति बेहोरेको छ ।

उत्तमको परिवारले गाउँ छोडेर काठमाडौं बस्न थालेको २० वर्ष भइसकेको थियो । उनका अधिकांश आफन्त काठमाडौंमै छन् । केही दाजुभाइ खलक गाउँमै बस्छन् ।

उत्तमको मृत्युपछि गठ्ठाघरमा भएको तनावको दृश्य, जहाँ अश्रुग्याससमेत प्रहार गरिएको थियो भने केही ट्राफिक प्रहरीकुटिएका थिए ।

वडाध्यक्ष भट्टराईका अनुसार उनको जेठीआमापट्टीका सन्तान (शहीद परिवारका) मात्रै गाउँमा छन् । कान्छीपट्टीका सन्तान सबै काठमाडौं बस्दै आएका छन् ।

यी पनि पढ्नुहोस्-

ट्राफिकले थापेको ‘डेथ ट्र्याप’ : लुकेर चेकिङ गर्दा दुर्घटना, यसरी कुटिँदै लखेटिए प्रहरी (भिडिओसहित)

गृहमन्त्रीले आइजीपीलाई सोधे- ‘गठ्ठाघर दुर्घटना हुनुमा पुलिसको गल्ती छ कि ?’

गठ्ठाघर दुर्घटनाको प्रभाव: घटना साम्य नभएसम्म उपत्यकामा ट्राफिक चेकिङ नहुने

ट्राफिकले चेक गरिरहेको स्कूटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युपछि गठ्ठाघर तनावग्रस्त

यी हुन् गट्ठाघर दुर्घटनाका मृतक (सीसीटीभी फोटो)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved