बेचन झाको इन्कारी बयान : शरणार्थीबारे जानकारी छैन, म कसैलाई चिन्दिनँ

नेपालभ्युज

बेचन झाको इन्कारी बयान : शरणार्थीबारे जानकारी छैन, म कसैलाई चिन्दिनँ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले इन्कारी बयान दिएका छन् ।

सरकारी वकिलसँगको बयानमा झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेकोसमेत बताएका छन् ।

‘भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन ।’ उनले बयानमा भनेका छन्, ‘टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही नभएकोले उनले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानून्, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन ।’

उनले रामशरण केसीले भनेको अडिओमा आफ्नो आवाज नरहेको र आफू आवाज परीक्षण गर्न पनि तयार रहेको बताए । साथै, हरिभक्तबाट पनि रकम नलिएको र भिडिओमा देखिएको भनिएका व्यक्तिहरू पनि नचिन्ने बताएका छन् ।

उनले बयानमा भनेका छन्, ‘अडियोहरूमा भएको संवाद मेरो होइन । भिडिओमा देखिएको व्यक्तिहरू को-को हुन् मलाई थाहा भएन । म मेरो आवाज परीक्षण गर्न मन्जुर छु ।’

उनले अगाडि भने, ‘श्याम कृष्ण श्रेष्ठलाई म चिन्दिनँ, उनले के बयान दिएका छन् । मलाई सरोकार छैन । हरिभक्त महर्जनलाई म चिन्दिनँ, मैले उनीबाट कुनै पनि रकम लिएको छैन, उसले कहाँ के बयान दिएका छन, उनै जानून् ।’

काठमाडौं सरकारी वकिल कार्यालय काठमाडौंले झाविरूद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved