फुट्दै एकताको रटान लगाउने नेपालका कम्युनिष्ट

फुटेको-फुट्यै गरे पनि यिनीहरूले एकता, एकीकरण र ध्रुवीकरणको रटान लगाउन भने छाड्ने छैनन्, यो निश्चित छ । सानो-सानो समूह बनाएर आफूलाई कम्युनिष्ट भनाउनेले बृहत् कम्युनिष्ट ध्रुवीकरणको नारा भजाए पनि यथार्थमा त्यो हुने सम्भावना देखिँदैन ।

फुट्दै एकताको रटान लगाउने नेपालका कम्युनिष्ट

काठमाडौं । फुट र विभाजन नेपालका कम्युनिष्ट पार्टीको विशेषता नै बनिसकेको छ । राम्रोसँग आकार ग्रहण नगर्दै पनि फुट्नु नेपालका कम्युनिष्ट पार्टीको अर्को अविछिन्न विशेषता हो । अझ यसो भनौँ, वर्तमान अवस्था ‘प्रतिकम्युनिष्ट नेता एउटा पार्टी’ बन्ने स्थितिउन्मुख छ ।

झन्डै आठ दशकको नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा १६ वटाभन्दा बढी कम्युनिष्ट पार्टी अस्तित्वमा देखिन्छन् संसद् भित्र र बाहिर गरेर । उनीहरू प्रकारान्तरले एउटै पार्टीबाट छुट्टिँदै आएका हुन् । २००६ सालमा पुष्पलाल श्रेष्ठले बनाएको एउटा कम्युनिष्ट पार्टी यहाँसम्म आउँदा भिन्न-भिन्न ‘साइनबोर्ड’ बोकेर १६ वटाभन्दा बढी भएका छन् ।

अझ अचम्मचाहिँ के भने कम्युनिष्ट पार्टी थपिने अर्थात् फुट्ने र विभाजित हुने क्रम जारी नै छ । आकार नै नभएका कम्युनिष्ट पार्टी पनि फुटेको-फुट्यै छन् । यही मेसोमा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भर्खरै फुटेको छ जुन, फुट्ने आकारको पार्टी नै थिएन ।

यो पार्टी झन्डै दुई हप्ताअघि मात्रै पनि फुटेको थियो । झन्डै दुई वर्ष अगाडि मात्रै किरणको पार्टीसँग एकता गरेका धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले पार्टी अलग्याए । कञ्चन तिनै नेता हुन्, जसले अढाई वर्षअघि मात्रै नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा (बहुमत) गठन गरेका थिएका थिए ।

जे होस्, के स्पष्ट हुन्छ भने कि कम्युनिष्ट नेताहरू बढी आकाङ्क्षी भए, आफैँ नेतृत्वको भोको भए, उनीहरू आफैँ सर्वोच्च नेता हुन चाहन्छन्, उनीहरू सोच्छन् कि पार्टी सानो नै किन नहोस्, नेतृत्व (अध्यक्ष वा महासचिव) भने म आफैँ हुनुपर्‍यो ।

यो एउटा प्रतिनिधि घटना हो । यहाँभन्दा थोरै अगाडि मात्रै पुग्ने हो भने तीन वर्षअघि नेकपा (एमाले) विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए । यस्ता घटनाहरू हुँदै आएका हुन्, हुँदै जान्छन् र हुँदै जानेछन् ।

अझ उदेकचाहिँ के भने जसले फुटाउँछ, उसैको अभिव्यक्ति र भाषण हुन्छ— कम्युनिष्ट पार्टीको एकता, एकीकरण र ध्रुवीकरणका लागि पार्टी फुटाएको/विभाजन गरेको हो ।

अहिले किरणको पार्टी फुटाएका नेताको भनाइ पनि ठ्याक्कै यही छ । नयाँ पार्टी बनाउन जमर्कोरत नेता हरिकृष्ण गजुरेल भन्छन्, “हामीले मुख्य रूपमा कम्युनिष्ट पार्टीहरूको ध्रुवीकरण र एकता चाहेका हौँ । हाम्रो स्पष्ट बाटो त्यही हो । यसैका लागि हामीले कमरेड किरणबाट अगल हुने निर्णय गरिसकेका छौँ । कमरेड किरणले जनताले चाहेको क्रान्ति गर्नुभएन, गफ मात्रै बढी गर्नुभयो । यदि जनताले चाहेको क्रान्ति हुँदैन भने हामी त्यहाँ किन बसिरहने ?”

नेताहरू एकातिर पार्टी फुटाउने र अर्कोतिर एकता, एकीकरण र ध्रुवीकरणको रटान किन लगाउँछन् ? बुझेर बुझिनसक्नु छ ।

जे होस्, के स्पष्ट हुन्छ भने कि कम्युनिष्ट नेताहरू बढी आकाङ्क्षी भए, आफैँ नेतृत्वको भोको भए, उनीहरू आफैँ सर्वोच्च नेता हुन चाहन्छन्, उनीहरू सोच्छन् कि पार्टी सानो नै किन नहोस्, नेतृत्व (अध्यक्ष वा महासचिव) भने म आफैँ हुनुपर्‍यो ।

घटनाक्रम नियाल्दै आउँदा यो पुष्टि पनि हुन्छ, कम्युनिष्ट पार्टीहरू विभाजनका खास कारण योभन्दा बढी केही देखिँदैन ।

कम्युनिष्ट पार्टीभित्र अर्को हाँस्यास्पद ‘ट्रेन्ड’ छ । नेताहरू जब पार्टी विभाजन गर्ने तरखर थाल्छन्, उनीहरू हल्ला फिँजाउँछन् कि बाहिरी शक्तिले खेल्यो । उनीहरू कहिले पश्चिम खेल्यो, कहिले उत्तर खेल्यो, कहिले भारत खेल्यो त कहिले अमेरिका खेल्यो भनेर पार्टी विभाजनसम्म पुग्छन् ।

आफ्नो मुख्य शत्रु तोक्ने कम्युनिष्ट पार्टीका नेताले विभाजन र फुटका लागि सहज होस् भनेरै त्यसरी बाहिरी शक्तिको हवाला दिएका हुनसक्छन् । हुनसक्छ, कहिलेकाहीँ कुनै विशेष समय र सन्दर्भमा बाहिरी शक्ति खेल्छन् । तर, कम्युनिष्ट नेताहरू जब आफू मिल्दैनन् र पार्टी फुटाउँछन्, तब पार्टीमा बाहिरी शक्ति खेल्न थाल्छ । योभन्दा हाँस्यास्पद र झुट कुरा के होला ?

त्यसो त अहिले नेपालमा जति पनि कम्युनिष्ट नामधारी पार्टी छन्, उनीहरू फुट र विभाजनको भयबाट मुक्त छैनन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालदेखि मोहन वैद्य ‘किरण’ हुँदै धर्मेन्द्र बाँस्तोलासम्ममा मेरो पार्टी फुट्छ, अझै घट्छ कि भन्ने डर देखिन्छ ।

त्यसैले भन्न सकिन्छ कि फुट र विभाजन र त्यहीबखत एकताको रटान कम्युनिष्ट पार्टीहरूको अविछिन्न विशेषता हो जुन, कहिल्यै मेटिँदैन, हराउँदैन ।

त्यसोभए अब प्रश्न— के नेपालमा सच्चा कम्युनिष्ट छन् ? राजनीतिक विश्लेषक तथा राजनीतिशास्त्री ठान्छन् कि नेपालमा सच्चा कम्युनिष्ट नै छैनन् । राजनीतिक विश्लेषक प्राडा राजकुमार पोखरेल एउटा लेखमार्फत भन्छन्, “दर्शनका हिसाबले, विचारका हिसाबले, शास्त्रका हिसाबले हेर्ने हो भने नेपालमा कम्युनिष्ट नै छैनन् भन्दा पनि हुन्छ । उनीहरूमा आदर्श, चरित्र, प्रष्ट योजना र गन्तव्य नै छैन ।”

फुटेको-फुट्यै गरे पनि यिनीहरूले एकता, एकीकरण र ध्रुवीकरणको रटान लगाउन भने छाड्ने छैनन्, यो निश्चित छ ।

पोखरेल मात्रै यसो भन्दैनन् । अरु वाम विश्लेषकको बुझाइ पनि मिल्दोजुल्दो नै छ । योचाहिँ स्पष्टै भन्न सकिन्छ कि माओ र स्टालिनले जुनखाले कम्युनिष्ट पार्टी बनाए, त्यही रूपको कम्युनिष्ट पार्टी अहिले नेपालमा मात्रै होइन, चीन वा अर्को तेस्रो कम्युनिष्ट मुलुकमा पनि छैन ।

जे होस्, यो छुट्टै बहसको विषय हो । तर, प्राडा पोखरेलकै अनुसार नेपालका कम्युनिष्ट भनाउँदाहरू भने फुटेको-फुट्यै छन्, फेरि दोहोर्‍याउँछु— जुन पार्टीहरू फुट्ने आकारमै हुँदैनन् ।

फुटेको-फुट्यै गरे पनि यिनीहरूले एकता, एकीकरण र ध्रुवीकरणको रटान लगाउन भने छाड्ने छैनन्, यो निश्चित छ । सानो-सानो समूह बनाएर आफूलाई कम्युनिष्ट भनाउनेले बृहत् कम्युनिष्ट ध्रुवीकरणको नारा भजाए पनि यथार्थमा त्यो हुने सम्भावना देखिँदैन । अन्तत: नेपाली कम्युनिष्टको हालत भारतीय कम्युनिष्टहरूको जस्तै बन्नसक्छ ।

पछिल्लो पटक यो टिप्पणीकारसँग एक कम्युनिष्ट नेता भन्दै थिए कि पछिल्लो पुस्तामा कम्युनिष्टप्रति झुकाव नै छैन । यसमा ती नेता थप प्रमाण पेस गर्छन्— युवालाई कम्युनिष्ट लिडरले त्यो मौका नै दिएनन्, उनीहरूले कम्युनिष्ट भन्नेबित्तिकै जनताले गाली गर्ने लिडरका रूपमा चिनाए आफू र आफ्नो संस्थालाई ।

यसबेला मैले एउटा प्रसिद्ध यूरोपेली भनाइ सम्झेँ, ‘मान्छे २५ वर्षसम्म कम्युनिष्ट भएन भने ऊ युवा नै होइन ।’ यदि यसै हो भने यसो भन्नु उपयुक्त होला, नेपाली कम्युनिष्ट नेताहरूले नेपालका किशोरलाई युवा हुनै दिएनन् ।

खैर, अन्तत: फेरि पनि कम्युनिष्ट नेता र पार्टीहरू यूटर्नमा सुध्रिँदैनन्, कम्युनिष्ट चरित्र वहन गर्दैनन् । फेरि पनि चल्ने उसैगरी हो, यसैगरी हो । मान्छेहरू भन्छन् कि कति निरासातिर जानू ! तर, खै कम्युनिष्ट पार्टीहरूको सन्दर्भमा आशावादी हुने ठाउँ कहीँ छ र ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved