काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा उपमहासचिव, पूर्वमन्त्री एवम् सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले पेस गरेको प्रस्तावले अहिले एक प्रकारको तरङ्ग सिर्जना गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको मूल ‘साङ्गठनिक नेतृत्व’ हस्तान्तण गर्नुपर्ने माग उनले अघि सारेका छन् ।
शर्माको प्रस्तावलाई पार्टी बैठकले के कसरी किनारा लगाउँछ, रोचक जिज्ञासाको विषय बनेको छ । अहिलेसम्म माओवादीमा ‘पार्टी भन्नु नै प्रचण्ड, प्रचण्ड भन्नु नै पार्टी’ भनेजस्तो अवस्था थियो । यसरी औपचारिक बैठकमै लिखित प्रस्ताव पेस गरेर नेतृत्व हस्तान्तरणको माग अहिलेसम्म कसैले गरेका थिएनन् ।
माओवादी आन्दोलन र पार्टीमा प्रचण्डको नेतृत्व विकल्पहीन र प्राधिकारपूर्ण मानिन्थ्यो । प्रचण्डको नेतृत्वबिनाको माओवादी कमै मानिसले कल्पना गर्थे । करिब ४ दशकदेखि उनी निरन्तर पार्टीको नेतृत्वमा छन् ।
उनकै नेतृत्वमा तत्कालीन नेकपा (एकता केन्द्र) माओवादीमा रूपान्तरण गरिएको थियो । ‘माओवाद’लाई मार्क्सवाद-लेनिनवादको समकक्षमा राखेर मार्गदर्शक सिद्धान्त बनाइएको थियो । कुनै बेला उनको नामसँग जोडेर पार्टी सिद्धान्त नै निर्माण गरिएको थियो— प्रचण्डपथ ।
प्रचण्डपथ संश्लेषण गर्दा डा. बाबुराम भट्टराईले लेखेका थिए— यो सामान्य राजनीतिक कार्यदिशाभन्दा माथि उठेको तर, वादको उचाइ हासिल गरिनसकेको एक विशिष्ठ वैचारिक तथा सैद्धान्तिक विकासक्रमको संश्लेषण हो ।
मोहन वैद्य ‘किरण’ प्रचण्डपथ’का ठूला समर्थक थिए । आज उनीहरू पार्टीमा छैनन्, न त पार्टीको सिद्धान्तमा नै प्रचण्डपथ बाँकी छ । तर, प्रचण्डका निकट भनिएकाहरूले नै अब प्रचण्डपथलाई मात्र हैन, स्वयम् प्रचण्डलाई बिदा गर्ने कुरा गर्न थालेका छन् । शर्मा प्रचण्डलाई करिब ४ दशकदेखि नै साथ दिँदै आएका नेता हुन् ।
प्रचण्डको आँटिलो इतिहास
प्रचण्ड नेपाली राजनीतिमा ‘वैचारिक स्थिरता’भन्दा बढी आँट र जोखिमपूर्ण निर्णयको कारणले स्थापित भएका हुन् । २०४८ को आम निर्वाचनमा संयुक्त जनमोर्चाको नाममा भाग लिएको र ९ सिट जितेको संसदीय पार्टी प्रचण्डको नेतृत्वमा सशस्त्र युद्धमा गयो । वैधानिक सङ्घर्षको थलोबाट अवैधानिक सङ्घर्षको मोर्चामा फर्कियो । प्रचण्डकै नेतृत्वमा १० वर्षे सशस्त्र सङ्घर्ष भयो ।
उनकै नेतृत्वमा १२ बुँदे सहमति, जनान्दोलन २०६३-६३, बृहत् शान्ति सम्झौता, अन्तरिम व्यवस्थापिका हुँदै पार्टी शान्तिपूर्ण मूलधारमा फर्कियो ।
उनकै नेतृत्वमा पहिलो संविधान सभाको निर्वाचनमा माओवादी देशकै सबैभन्दा ठूलो पार्टी भयो । उनी माओवादी आन्दोलन र पार्टीको नेतृत्वको हैसियतमै तीनपटक प्रधानमन्त्री भए ।
सम्भवत: पहिलो संविधानसभा निर्वाचन माओवादी आन्दोलनको उत्कर्ष थियो । त्यसपछि भने प्रचण्डप्रतिको आकर्षण निरन्तर ओरालो लाग्यो ।
अहिले चलिरहेको माओवादी स्थायी कमिटी बैठकमा प्रभाकरले त्यही ओरालो यात्राको चित्रण गर्दै प्रचण्डसँग नेतृत्व हस्तान्तरणको माग गरेका छन् । तर, आन्दोलनको इतिहासमा प्रचण्डको भूमिका र योगदानको भने सम्मान हुनुपर्ने शर्माको भनाइ छ ।
प्रभाकरले दिएका तीन विकल्प
जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रस्तुत गरेको ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकको १४ पृष्ठ लामो प्रस्तावमा एक बुँदा ‘नेतृत्वबारे’ छ । यस बुँदामा प्रभाकरले ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहनको मान्यता’ मा रही निम्न विकल्पमा जानुपर्ने बताएका छन् ।
१. प्रचण्डले हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय सुनिश्चित गर्दै वैचारिक काम र सत्ताको नेतृत्वको जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।
२. प्रचण्ड संरक्षकको भूमिकामा रही हालका सबै पदाधिकारी सल्लाहकार हुने र तेस्रो तहका व्यक्तिलाई कार्यकारी सङ्गठनात्मक नेतृत्व हस्तान्तरण गर्ने ।
३. केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी बनाउने र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने ।
शर्माका यी तीन बुँदाका अर्थ बडो प्रष्ट छ— उनले प्रचण्डलाई कि नेतृत्व छोड्न कि पार्टीभित्रको प्रत्यक्ष निर्वाचनबाट चुनिएर आउन खुला चुनौती दिएका छन् । प्रश्न यहाँनेर बाँकी छ, अब प्रचण्डले के गर्लान् ?
प्रचण्ड चाहँदैनन् लिन प्याओ जन्माउन
शर्माले पहिलो विकल्पमा प्रचण्डले ‘चाहेको व्यक्ति’ लाई नेतृत्व हस्तान्तरण गर्न सक्ने सुझाव दिएका छन् । यो विकल्प क्रियाशील हुने सम्भावना निकै कम छ ।
प्रचण्ड अहिले नै पार्टीको सङ्गठनात्मक नेतृत्व परित्याग गर्ने पक्षमा छैनन् । उनले चाहेको व्यक्ति को हो ? त्यो पनि प्रष्ट छैन । प्रचण्ड आफूपछिका नेताहरूको क्षमतामा विश्वस्त हुन सकिरहेका छैनन् । आफू नेतृत्वमा नहुँदा पार्टी अझै कमजोर हुनसक्ने डर उनमा छ । प्रचण्डसँग असन्तुष्ट हुँदै गएको वृत्त पनि प्रचण्डकै नेतृत्वमा पार्टी पुनर्गठन होस् भन्ने चाहन्छ ।
प्रचण्डमाथि प्रभाकरका पाँच आरोप !
शर्मासँगको मतभेद बढ्दै गएपछि प्रचण्डले करिब १ वर्षअघि आफूले उत्तराधिकारी घोषणा नगर्ने, माओले जस्तो गल्ती नदोहोर्याउने र लिन प्याओ नजन्माउने बताएका थिए । उनले भनेका थिए, “नेतृत्व उत्तराधिकार घोषणा गरेर आउँदैन । हाम्रा साथीहरू हेर्दा गरिखालान् जस्तो लाग्दैन ।”
चिनियाँ कम्युनिष्ट पार्टीमा लिन प्याओलाई अध्यक्ष माओको उत्तराधिकार मानिन्थ्यो । अन्ततः उनीमाथि स्वयम् माओको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लागेको थियो । देश छोडेर भाग्दै गर्दा सन् १९७१ मा मंगोलियाको आकासमाथि भएको हवाई दुर्घटनामा उनी मारिएका थिए ।
माओवादीमा अहिले प्रचण्डले उत्तराधिकारी घोषणा र साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्न चाहेको व्यक्ति देखिँदैन । यद्यपि, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यस्तो अपेक्षा राखेका छन् । तर, उनी जनयुद्धकालीन नेता नभएको हुँदा माओवादी पार्टीपङ्क्तिले मूल नेता स्वीकार गर्ने सम्भावना न्यून छ ।
तेस्रो तहको नेतृत्व को ?
शर्माले नेतृत्व हस्तान्तरणसम्बन्धी दोस्रो विकल्पमा अहिलेका सबै पदाधिकारी सल्लाहकार हुने र तेस्रो तहको व्यक्तिलाई सङ्गठनात्मक नेतृत्व सुम्पिने प्रस्ताव गरेका छन् । माओवादीको पदाधिकारी अहिले २२ सदस्यीय छ ।
प्रचण्ड अध्यक्ष छन् । एक वरिष्ठ उपाध्यक्ष छन् नारायणकाजी श्रेष्ठ । चार उपाध्यक्ष छन् कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल । एक महासचिव छन् देवप्रसाद गुरुङ । यस्तै ६ जना उपमहासचिव छन् गिरिराजमणी पोख्रेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र मातृकाप्रसाद यादव ।
नौ जना सचिव छन् राम कार्की, देवेन्द्र पौडेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य, दिनानाथ शर्मा, चक्रपाणी खनाल र लीलामणी पोख्रेल । एक कोषाध्यक्ष छन् श्रीराम ढकाल ।
शर्माको दोस्रो विकल्प क्रियाशील हुने हो भने यी सबै सल्लाहकार हुन राजी हुनुपर्ने छ र यसभन्दा बाहिरबाट मूल नेतृत्वको खोजी गर्नुपर्ने छ ।
तेस्रो तहको नेतृत्व भन्नाले सायद पदाधिकारीपछिका स्थायी कमिटी सदस्यलाई बुझिन्छ । यसमा थप २१ सदस्य छन् । अन्जना बिसुंखे, अमृता थापा, ओनसरी घर्ती, उर्मिला अर्याल, कमला रोक्का, कालीबहादुर मल्ल, कुलप्रसाद केसी, कालीबहादुर बहादुर मल्ल, खगराज भट्ट, गणेशमान पुन, जयपुरी घर्ती, जोखबहादुर महरा, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, शशी श्रेष्ठ, विश्वनाथ शाह, सत्य पहाडी ।
‘घनश्याम मोडेल’मै जनार्दन : तेस्रो तहका युवालाई नेतृत्व हस्तान्तरणको माग, मान्लान् प्रचण्ड ?
यी कुनै पनि नाम माओवादी पार्टीको मूल सङ्गठनात्मक नेतृत्वका लागि प्रखर देखिन्नन् । सङ्गठनभित्रको प्रभाव र क्रियाशीलता के कस्तो छ, त्यो पार्टी पङ्क्तिभित्र समीक्षा र मूल्याङ्कनको विषय हो । बाह्य जनमतमा भने मूल नेता हुनेगरी व्यक्तित्व स्थापित भएको छैन । यस कारण प्रभाकरको दोस्रो विकल्प पनि त्यति उपयुक्त देखिँदैन ।
के प्रचण्डसँग अध्यक्षमा प्रतिस्पर्धा गर्छन् शर्मा ?
शर्माले प्रस्ताव गरेको तेस्रो विकल्प भने अनुपयुक्त हैन । तर, पार्टीभित्र प्रत्यक्ष मतदानसहितको अध्यक्षको निर्वाचन नै भए पनि कसै न कसैले प्रचण्डसँग प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्ने हुन्छ । समानान्तर गुट वा सञ्जाल बनाउन सक्नुपर्ने हुन्छ ।
विगतमा मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईसमेत पार्टीमा हुँदा प्रचण्डसँग समानान्तर प्रतिस्पर्धाको सम्भावना थियो । तर, त्यस कालखण्डमा पनि त्यस्तो महाधिवेशन र प्रतिस्पर्धा भने भएन । रामबहादुर थापा ‘बादल’ अहिले एमालेमा छन् ।
जनयुद्धकालीन माओवादीका मूल नेता मानिएका वैद्य, भट्टराई र थापा माओवादी पार्टीबाट बहिर्गमित भइसकेको अवस्थामा महाधिवेशनमा अध्यक्षको चुनाव नै भए पनि प्रचण्डसँग को लड्ला ? एक विकल्प नारायणकाजी श्रेष्ठ हुन सक्लान् तर, उनी प्रचण्डको इच्छाविपरीत उम्मेदवार हुने सम्भावना न्यून रहन्छ ।
त्यसो भए को त ? अन्ततः जनार्दन शर्मा आफैँले प्रतिस्पर्धा गरे मात्र हो ।
अन्य दलमा समानान्तर प्रतिस्पर्धी हुन्छन् । जस्तो कि नेपाली कांग्रेसमा डा. शेखर कोइराला, गगन थापा, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधिहरू सभापति शेरबहादुर देउवाका सम्भावित प्रतिस्पर्धी मानिन्छन् ।
एमालेमा केपी ओलीसँगै माधवकुमार नेपाल, झलनाथ खनालजस्ता प्रतिस्पर्धी थिए । अहिले ईश्वर पोख्रेल, विद्यादेवी भण्डारी, विष्णु पौडेल, शंकर पोखरेल जस्ता सम्भावित प्रतिस्पर्धी नेताहरू छन् । कांग्रेस-एमालेमा त्यस्तो प्रतिस्पर्धाको इतिहास र प्रचलन पनि छ ।
माओवादीमा अहिलेसम्म मूल नेतृत्वको लागि यस प्रकारको आन्तरिक प्रतिस्पर्धा भएको छैन । प्रत्यक्ष मतदानमा आधारित पार्टी महाधिवेशन नै भए पनि प्रचण्डसँग प्रतिस्पर्धा गर्ने व्यक्तित्वको अभाव देखिन्छ ।
सम्भावना छैन, दबाब मात्रै !
माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, “कमरेड प्रभाकारले उठाएको नेतृत्व हस्तान्तरणको सवाल अहिले नै कार्यान्वयन हुने देखिन्न । अध्यक्ष कमरेडसँगका मतभेद र असन्तुष्टिको कारण उहाँले यस्तो प्रस्ताव ल्याउनुभयो । तर, यो दबाब मात्र हो, कार्यान्वयनमा जानसक्ने सम्भावना छैन ।”
तर, शर्मा र उनीनिकट नेताहरू भने पार्टी सुदृढीकरणको सवाल उठिरहँदा नेतृत्व पनि परिवर्तन हुनुपर्ने मत राख्छन् । शर्मानिकट एक नेता नेपालभ्युजसँग भन्छन्, “अबको समयमा नयैँ मान्छे चाहिन्छ, योङस्टर नै चाहिन्छ । बालेन-हर्कहरूसँग प्रतिस्पर्धा अब प्रचण्डले गर्नै सक्दैनन् । अब तेस्रो पुस्ता चाहिन्छ ।”
अहिलेसम्म गरेको हरेक योगदानका लागि धन्यवाद दिँदै अब प्रचण्डलाई सल्लाहकारको भूमिकामा राख्नुपर्ने ती नेताको भनाइ छ ।
Facebook Comment
Comment