काठमाडौं । केही हप्ताअघि एउटा व्यापक चर्चा थियो— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सदस्यता नवीकरण गरिन् । यद्यपि यो चर्चा अहिले मत्थर भएको छ ।
पूर्वराष्ट्रपति सम्मानित पद भएकाले पुन: सक्रिय राजनीतिमा फर्किनुलाई स्वाभाविक मानिँदैन । त्यसैले हुनुपर्छ, भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय चर्चामा मात्रै सीमित रहेन, संसद्सम्मै पुग्यो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति पुन: सक्रिय पार्टी राजनीतिमा फर्किनु शोभनीय नहुने भन्दै संसद्मा प्रश्न गरेका थिए— पूर्वराष्ट्रपतिज्यू पुन: सक्रिय पार्टी राजनीतिमा आएपछि राज्यबाट पूर्वराष्ट्रपतिको हैसियतमा सेवा-सुविधा लिन मिल्छ कि मिल्दैन ?
त्यसो त राजनीतिक विश्लेषक, लोकतन्त्रका हिमायतीदेखि संविधानका जानकारहरू पूर्वराष्ट्रपति पुन: सक्रिय पार्टी राजनीतिमा आउनु हरेक हिसाबले सुहाउँदो नहुने तर्क गर्छन् ।
अर्का पूर्वराष्ट्रपति रामवरण यादव हलचल नगरी ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । धेरैले भनेका छन् कि राष्ट्रपति भइसकेको व्यक्ति त्यसैगरी राष्ट्रको सम्मान खाएर बस्नुपर्छ, पुन: सक्रिय पार्टी राजनीतिमा आउने बाटो छेक्ने संवैधानिक तथा कानूनी अड्चन नभए पनि शोभनीय देखिँदैन, हुँदैन ।
तर, भण्डारीले भने गत वैशाखमा आफ्ना प्रतिनिधिमार्फत सदस्यता नवीरकण गरिसकेको स्रोत बताउँछ । त्यसयता उनी पार्टी कार्यक्रममा समेत सहभागी हुँदै आएकी छन् । तर, उनी आफू स्वयम् भने आफूले पार्टी सदस्यता नवीकरण नगरेको जिकिर गर्छिन् ।
भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषयलाई धेरैले पार्टी नेतृत्व ‘हत्याउन’ खोजेको रूपमा बुझेका छन् । अध्यक्ष केपी शर्मा ओली बाहिर जति नै शक्तिशाली देखिए पनि पार्टीभित्र पहिलेजस्तो पकड छैन । २०७८ मंसिरमा भएको सौराहा (दशौं) महाधिवेशनमा आफूअनुकूल टिम फर्मेसन गरे पनि २०८० को जिल्ला अधिवेशनसम्म आइपुग्दा ओली पार्टीभित्रै पहिलेभन्दा राजनीतिक रूपमा कमजोर बनेको देखिन्छन् ।
पार्टीमा आफूमाथि सङ्गठित रूपमा आक्रमण हुन सक्ने भय उनमा देखिन्छ । त्यसैले पार्टीभित्र कुनैखाले गुट स्वीकार्य नहुने भन्दै खबरदारी गर्ने गरेका छन् । यसअघि गत साउन २० गते मनोनीत उपाध्यक्ष गुरु बरालको शपथ ग्रहण कार्यक्रममा ओलीले भनेका थिए— पार्टीभित्र कुनै खाले गुट स्वीकार्य हुँदैन । गुटले पार्टी बनेको इतिहास कहीँ छैन ।
उनको यो भनाइले पनि उनी पार्टीमा पहिलेजस्तै बलियो र सर्वस्वीकार्य छैनन् भन्ने कुरा पुष्टि गर्छ । यसैबेला भण्डारी पार्टीमा आएर नेतृत्व लिन खोजेको धेरैको विश्लेषण छ ।
खासगरी पार्टीका १० बुँदे पक्षधर नेतालाई निनाराकृत गरेको, आफूअनुकूल नेताहरूको जिम्मेवारी हेरफेर गरेको, पार्टीमा ७० वर्षे उमेरहद हुँदाहुँदै अझै २० वर्षसम्म कसैले आस नगर्दा हुन्छ भनेर अभिव्यक्ति दिएकोलगायतका विषयले पार्टीभित्रै ओलीको लोकप्रियता घट्दै गएको बताइन्छ ।
एमालेकै एक नेता भन्छन्, “कुनै पार्टीभित्र कहिल्यै कोही सर्वस्वीकार्यकताको घेराभित्र हुँदैन । हुनु पनि हुँदैन । तर, त्यसको दायरा बढ्यो भने समस्या हुने हो । एमालेभित्र अध्यक्ष कमरेडमाथि सिधै प्रश्न गर्ने साथीहरू त छैनन् तर, उहाँसँग खासै खुसी नहुने साथीहरू भने धेरै नै छन् ।”
कतिपयको आशङ्का के पनि छ भने आफूसँग खुसी नभएका नेता-कार्यकर्ता र जनताको ‘सेन्टिमेन्ट’ समात्न ओलीकै सल्लाहमा भण्डारीले सदस्यता नवीकरण गरेकी हुन् ।
एमालेकै ओलीइतर एकजना नेताले यसलाई ‘तेलमा पाकिरहेको माछा भुङ्ग्रोमा परेको’ रूपमा अर्थ्याउँछन् । त्यसोभए ओली भण्डारीलाई नेतृत्व दिन तयार देखिएका हुन् भन्ने सवालमा भन्छन्, “दिन पनि सक्छन्, नदिन पनि सक्छन् । ओलीले दिन्छन् नै भन्ने हुँदैन । त्यो विगतमा पनि देखिएकै हो । जे होस्, तत्कालका लागि भने ओलीको योजना त्यही हो । बाहिर मिडियामा आएजस्तो होइन ।”
पार्टीभित्र रुष्ट नेता-कार्यकर्ताको सङ्ख्या बढ्दै गएको ठहर गर्दै ओलीले भण्डारीमार्फत त्यो जमातलाई पार्टीभित्रै केन्द्रित गर्न खोजेको कतिपयको आशङ्का छ । त्यसो त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेता गोकुल बाँस्कोटालगायतका नेताहरू पूर्वराष्ट्रपति भण्डारी सक्रिय पार्टी राजनीतिमा आउनुपर्छ भन्ने कोणबाट विचार व्यक्त गर्छन् ।
उनीहरूले ओलीमाथि यसैगरी दबाब दिइरहेको ती नेताको बुझाइ छ । ती नेता जोड गर्छन्, “वस्तुत: भइरहेको यो हो तर, बाहिर मिडियामा भने अर्कै कुराहरू आइहेका छन् । अर्कै खाले विश्लेषणहरू आइरहेका छन् ।”
त्यसो त बाहिर राजनीतिक वृत्तमा एमालेभित्र ओली र भण्डारीबीच अन्तर्सङ्घर्ष सुरु भएको विश्लेषण गरिन्छ । कतिपयले त केसम्म भनेका छन् भने पार्टी नेतृत्वमा भण्डारी हाबी हुने भएकाले ओलीले नेपाली कांग्रेससँग हतार-हतार सत्ता गठबन्धन बनाएर प्रधानमन्त्री बने । तर, यो बुझाइ र विश्लेषण वस्तुत: गलत भएको ती नेताको जिकिर छ ।
राजनीतिक विश्लेषक हरि रोका पनि एमालेभित्र ओलीको ‘अल्टरनेटिभ’ खोज्न थालिएको विश्लेषण गर्छन् । “कुनै पार्टीभित्र कोही पपुलर छैनन् । तपाईं प्रचण्डको कुरा गर्नुस्, देउवाको कुरा गर्नुस् वा ओलीको कुरा गर्नुस् । पार्टभित्र कोही पपुलर छैनन् । त्यसबेला पार्टीभित्र स्वयम् नेताले नचाहे पनि दोस्रो वा तेस्रो लेयर र कार्यकर्ता वृत्तबाट अल्टरनेटिभ खोज्न थालिन्छ । त्यो एमालेभित्र पनि सुरु भयो भन्ने लाग्छ ।”
यस्तो अवस्थामा अल्टरनेटिभका रूपमा भण्डारी हुनसक्ने विश्लेषक रोकाको भनाइ छ । “फेरि भण्डारीमा म सबै जान्दछु, मभन्दा जान्ने अर्को महिला कोही छैन भन्ने मनसाय देखिन्छ । त्यस्तो अवस्थामा त्यो हुनसक्छ ।”
उनी नैतिकता नभएपछि मान्छेले जे पनि गर्नसक्ने बताउँछन् । “नैतिकता नै बाँकी छैन कसैमा । नैतिकता नै नभएपछि जे गर्दा पनि हुन्छ । साउथ एसियाका नेतामा त नैतिकताको उच्च सङ्कट छ,” उनले भने ।
Facebook Comment
Comment