काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचन लोकतान्त्रिक मुलुकको आन्तरिक तथा नियमित प्रक्रिया त हो नै, साथै यसको विश्वव्यापी चासो तथा भूराजनीतिक महत्त्व पनि उत्तिकै ठूलो हुन्छ । संसारले नै अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई नियालिरहेको हुन्छ ।
अझ यसो भनौँ, यो वा त्यो उम्मेदवारको पक्षमा विश्वकै मनोविज्ञान विभाजित भएको हुन्छ ।
विश्वभरिकै कन्जर्भेटिभहरू यतिखेर ट्रम्पको विजयको कामना गर्दै होलान् । वामपन्थी, उदारवादी र पहिचान राजनीतिका पक्षधरको झुकाव भने कमला ह्यारिसतिर हुन सक्दछ ।
व्यक्तिगत तहमा मात्र हैन, मूल प्रतिस्पर्धी देशहरूले समेत आफूले इच्छाएको उम्मेदवार जितोस् भन्ने कामना गरिरहेका हुन्छन् । भलै कि मनमनै किन नहोस् !
अमेरिकाको मूल प्रतिस्पर्धी देश चीनको मनमा यतिखेर को होला ? ट्रम्प कि ह्यारिस ? आखिर बेइजिङ अमेरिकामा कसले जितोस् भन्ने चाहन्छ ? उसको मनमा को छ ?
सन् २०१६ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘डिजिटल म्यानुपुलेसन’ मार्फत ट्रम्पलाई चुनाव जित्न सहयोग गरेको व्यापक चर्चा भएको थियो । अहिले ट्रम्प खुलेआम यो भन्न गर्दछन् कि सन् २०२० को चुनाव पनि उनले जितेको भए रुस- यूक्रेन युद्ध नै हुने थिएन । पछिल्लो समय उनको थप दाबी छ, यदि यसपटक राष्ट्रपतिमा निर्वाचित भए युद्ध रोक्न पुटिनलाई राजी गराउन सक्दछन् ।
कुनै एक व्यक्तिको हार-जितसँग करोडौं मानिसको जीवन जोडिएको हुन्छ भने त्यहाँ छनोटको भावना अवश्य उत्पन्न हुन्छ । डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको छनोट दुई व्यक्तिमध्ये एकको मात्र हैन । यीमध्ये कुनै एकको जितले विश्व राजनीतिमा फरक-फरक प्रभाव पर्न सक्दछ ।
डोनाल्ड ट्रम्प र जो बाइडन दुवै राष्ट्रपतिको कार्यकाल विश्वले भोगिसकेको थियो । यी दुईमध्ये को दोहोरिँदा कस्तो प्रवृत्ति प्रकट वा प्रभावी हुन्छ भन्ने आकलन बनिसकेका थिए । ट्रम्प र बाइडनलाई विश्वले बुझ्न बाँकी थिएन । तर, अन्तिम क्षणमा निर्वाचन दौड परित्याग गरेर राष्ट्रपति बाइडनले बहसलाई नयाँ मोड मात्र दिएका छैनन्, घटनाक्रमलाई अझ रोचक र चाखलाग्दो पनि बनाइदिएका छन् ।
उनको प्रस्तावमा अब डेमोक्र्याटिक उम्मेदवारका रूपमा बहालवाला उपराष्ट्रपति कमला ह्यारिस निर्वाचनको दौडमा रहेकी छन् ।
चुनावी प्रचारका बीच ट्रम्पमाथिको गोली प्रहार बाइडनको उम्मेदवारी परित्यागभन्दा कम रहस्यमय हैन । भलै कि ट्रम्पलाई कुनै ठूलो चोट लागेन । उनी सकुशल रहन सफल भए । यो घटनाबाट मतदातामा ट्रम्पप्रतिको सहानुभूति बढेको ठानिन्छ ।
दुवै पार्टीले उपराष्ट्रपतिका उम्मेदवार तय गरिसकेका छन् । ट्रम्पका निर्वाचन सहधावक हुन्— जेडी भान्स । ७८ वर्षीय ट्रम्पले ठीक आधा उमेरका ३९ वर्षीय भान्सलाई जोडा छानेर युवा मतदातालाई आकर्षित गर्न खोजेका छन् ।
कमला ह्यारिसले मिनेसोटाका गभर्नर वाल्जलाई आफ्नो टिमबाट उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् ।
ट्रम्प शासनकालमा अमेरिका-चीन सम्बन्ध तुलनात्मक रूपमा बढी तनावपूर्ण देखिन्थ्यो । शालीन र शान्त स्वभावका बाइडनले चीन नीतिमा कुनै ठूलो परिवर्तन त ल्याएन तर, तनावहरूको शिथिलीकरण भने गरे ।
अमेरिकाका दुवै राजनीतिक दलले चीनलाई मुख्य प्रतिस्पर्धी देश स्वीकार गरेका छन् । जस्तो कि दोस्रो विश्वयुद्धअघि बेलायत र जर्मनी तथा शीत युद्धकालमा सोभियत सङ्घ मुख्य प्रतिस्पर्धी देश मानिन्थे ।
ट्रम्पले जितून् वा ह्यारिसले, चीन नीतिमा आधारभूत भिन्नता आउने सम्भावना कम छ । तर, आक्रामकताको मात्रामा भिन्नता हुन सक्ने छ ।
अमेरिका-चीन सम्बन्धमा यदाकदा उल्लेखनीय मोड पनि आउँदै नआएका हैनन् । जस्तो कि सन् १९७० मा रिचार्ड निक्सनको पालामा भएको थियो । यो दुई देशबीचको सम्बन्धको सबैभन्दा सुखद पाटो थियो । तसर्थ, अमेरिका-चीन सम्बन्ध सधैँ निरन्तरता र निश्चिततामा हुन्छ भन्न सकिन्न ।
चीन खुला अर्थतन्त्र र बन्द समाज भएको देश हो । चीनमा राजनीतिक धारणाको प्रष्ट अभिव्यक्ति हुँदैन । न सरकारले त्यसो गर्दछ, न जनताले खुलेर प्रतिक्रिया दिन्छन् । तर, ट्रम्प चीनप्रति बढी आक्रामक छन् भन्ने उनीहरूलाई थाहा छ ।
ट्रम्प नीतिका मुख्य तीनवटा तत्त्व हुन्छन् । एक— व्यापार र आप्रवासनलाई सङ्कुचन गर्नु, अर्को विश्व बहुपक्षीयता संस्थाको भूमिकालाई कमजोर पार्नू । यी दुवै नीति चीनका लागि हानिकारक हुन्छन् ।
तेस्रो— जटिल विषय रुस-चीन सम्बन्ध हो । यस विषयमा समेत ट्रम्पका नीतिले चीनलाई हानि पुग्न सक्दछ । किनकि ट्रम्पले पुटिनसँगको मित्रतालाई पुनर्स्थापित गरे भने चीनले एक विश्वासनीय र शक्तिशाली मित्र गुमाउनेछ ।
बाइडन शासनकालमा चीनलाई भएको फाइदा यो पनि थियो कि रुस-चीन निकै नजिकका मित्र हुन पाएका थिए । यूक्रेनलाई पश्चिमा राष्ट्रको समर्थनले एक नयाँ शक्ति सन्तुलन बनाएको थियो ।
ट्रम्पले जिते के अमेरिकाले यूक्रेनलाई सहयोग गर्न छोड्ला ? त्यसोभए के होला ? के किभको पतन होला ? कि ट्रम्पले पुटिनलाई युद्धबाट फिर्ता हुन राजी गराउलान् ?
सम्भव छ यी कुनै कुरा हुने छैनन्, स्थिति बाइडनकालमा जस्तै यथास्थितिमा रहन पनि सक्नेछ । तर, कुनै पनि युद्ध अनन्त हुँदैन । कुनै न कुनै दिन रुस-यूक्रेन युद्ध समाप्त हुनै पर्दछ । युद्धको अन्त्यले रुसको विश्व स्थानलाई निर्धारण गर्दछ र त्यसको प्रभाव रुस-चीन सन्तुलनमा पर्नेछ ।
अमेरिका-चीन सम्बन्धलाई हेर्ने यतिखेर मुख्य बलिया दुई धारणा छन् ।
पहिलो— नयाँ शीतयुद्धको धारणा । यो धारणामा चीन नयाँ सोभियत सङ्घ हो र अमेरिका-चीन सम्बन्धको चिसो कहिल्यै अन्त्य हुने छैन । त्यो त्यसपछि मात्र समाप्त हुनेछ, जब सोभियत सङ्घको विघटनजस्तै चीनमा एकदलीय कम्युनिष्ट शासनको अन्त्य हुनेछ ।
दोस्रो धारणा भने यति कठोर छैन । यसले अमेरिका-चीन सम्बन्धलाई नयाँ शीतयुद्ध नभएर दुई ठूला शक्ति राज्यबीचको ‘म्यानेजेबल’ तनाव मान्दछ । दोस्रो धारका बौद्धिकहरू भन्छन् कि अमेरिका-चीन प्रतिस्पर्धा र तनावको कुनै ‘समाधान’ छैन, यो ‘व्यवस्थापनयोग्य’ मात्र छ ।
नयाँ शीतयुद्धको अवधारणाले भने या त दुईमध्ये एक शक्तिको पतन हुनुपर्ने या कुनै न कुनै बिन्दुमा युद्ध अनिवार्य हुने धारणा राख्दछ । तथ्यहरू हेर्दा अमेरिका-चीन आर्थिक सम्बन्ध यति गहिरो भइसकेको छ, युद्ध वा ध्वंसात्मक तनाव दुवैलाई निक्कै महङ्गो हुनेछ ।
सन् १९४९ मा चीनमा कम्युनिष्ट शासन स्थापना भएयता अमेरिकामा ७ रिपब्लिकन र ७ डेमोक्र्याट्स राष्ट्रपति निर्वाचित भएका छन् ।
रिचर्ड निक्सनअघि चीनबारे अमेरिकाको बुझाइ फरक थियो । त्यसअघि चीनलाई साम्यवादी सोभियत सङ्घको एक सहयोगी राज्यका रूपमा हेरिन्थ्यो । चीन र सोभियत सङ्घबीच अन्तर्विरोध पैदा गर्न र दुईलाई टाढा राख्न प्रयत्न गरिन्थ्यो ।
हुन त चीन बार्सा प्याक्टमा थिएन । युगोस्लाभियाजस्तै चीनले पनि असंलग्नताको नीति अवलम्बन गरेको थियो । सन् १९७० को दशकयता चीनलाई ‘साम्यवादी’ हैन, ‘संशोधनवादी’ राज्यका रूपमा बुझिन्छ । र, यसले धेरै ठूलो भिन्नता ल्याउँछ ।
सोभियत सङ्घले जस्तै चीनले साम्यवादी विचारधाराका लागि विश्वसङ्घर्ष गर्दछ भन्ने कुरा अमेरिकामा कसैले पत्याउँदैन । तसर्थ, अमेरिका-चीन तनाव ‘शीतयुद्ध’ भन्दा बढी ‘व्यापार युद्ध’ नै हो ।
वासिङ्गटन एक बेला ‘खुला विश्व’ को पक्षधर थियो । उसैको पहलकदमीमा विश्व व्यापार सङ्गठन बन्यो । तर, यसको खास फाइदा भने चीनलाई भयो । आर्थिक रूपमा खुला विश्वले चीनलाई विश्वभरि व्यापार गर्ने, औद्योगिकीकरण र उत्पादकत्व विस्तार गर्ने, आर्थिक महाशक्ति बन्नेलगायत अवसर दियो ।
ट्रम्पले पहिलो कार्यकालमा कोरोना महाव्याधिको दोष चीनमाथि थोपरेका थिए । कोरोना चीनबाट फैलिएको हुँदा यसबाट भएको विश्वव्यापी धनजनको क्षतिपूर्ति चीनले दिनुपर्ने माग गरेका थिए । उनले विश्व स्वास्थ्य सङ्गठनबाट समेत अमेरिकालाई निकालेका थिए । ट्रम्पका यस्ता क्रियाकलापले चीनलाई निकै अप्ठ्यारो परेको थियो ।
हुन सक्दछ, बेइजिङ कमला ह्यारिसप्रति सहानुभूति राख्दछ ।
Facebook Comment
Comment