काठमाडौं । २०८० असार ४ गते ४ वटा वामपन्थी दल मिलेर ‘समाजवादी मोर्चा’ को घोषणा गरेका थिए । यसभित्र ३ वटा कम्युनिष्ट विचारधाराका दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव समूह) थिए भने एक गैरकम्युनिष्ट जनता समाजवादी पार्टी, नेपाल सामेल थियो ।
अहिले जसपा नेपाल विभाजित भएर दुई समूह भएको छ— उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा । दुवै समूहले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत दिएका छन् ।
अशोक राई समूह त सरकारमै सामेल छ । ओली सरकारमा यसले २ वटा मन्त्रालय पाएको छ । उपेन्द्र यादव समूह भने विश्वासको मत दिएर पनि सरकारमा समेटिएको छैन ।
जसपाका दुवै समूह समाजवादी मोर्चाबाट बाहिरिए पनि यसमा अझै ४ वटै दल छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बाट अलग भएको महिन्द्र राय यादव नेतृत्वको समूह समेत समाजवादी मोर्चाको बैठकमा सामेल हुने गरेको छ ।
१ वर्षभन्दा बढीको अभ्यासले मोर्चाको राजनीतिक उपादेयता वा प्रभावकारिता भने पुष्टि भएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहुन्जेल मोर्चा उनको सहयोगी समूहजस्तो देखिएको थियो । मोर्चाले अवधारणापत्र सार्वजनिक गर्ने, बैठक बस्ने र सरकारलाई समर्थन गर्नेबाहेक अरु केही गर्न सकेको थिएन ।
असार १७ गते मध्यरात जब कांग्रेस-एमालेले नयाँ राजनीतिक सहमति बनाएर प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्ने निर्णय गरे, तब प्रचण्डले सम्झेको पहिलो राजनीतिक सहारा नै यही मोर्चा थियो ।
उनले प्रधानमन्त्री निवास बालुवाटारमै मोर्चाको बैठक बोलाए । बैठकले ‘वामपन्थी दलहरूको विकल्पका रूपमा मोर्चाको पुनगर्ठन र विस्तार गर्ने’ निर्णय गर्यो । साथै कांग्रेस-एमाले गठबन्धनले ‘पश्चगमनको संकेत’ गरेको अर्थ पनि लगायो ।
यसको अर्थ हुन्थ्यो— समाजवादी मोर्चालाई कांग्रेस-एमाले गठबन्धन सरकारको विपक्षमा बस्ने कम्युनिष्ट तथा वामपन्थी समाजवादी दलहरूको राजनीतिक मोर्चा बनाउने ।
अहिले मोर्चाको उपादेयताबारे फेरि प्रश्न उठेको छ । मोर्चाभित्रका चार दलबीच पार्टी एकता गरेर नेकपा (समाजवादी केन्द्र) बनाउनेबारे छलफल भइरहेको छ । यस प्रक्रियामा सामेल एक नेता भन्छन्, “नेकपा (एकीकृत समाजवादी) ले आँट गर्ने हो भने यो असम्भव छैन ।”
नेसपाको यादव-श्रेष्ठ समूह भने माओवादी केन्द्रसँग पार्टी एकताका लागि आतुर छ । यसका नेता गङ्गानारायण श्रेष्ठ भन्छन्, “मोर्चामा भएका चार पार्टीबीच एकता हुन सके सँगै गरौँ भनेर ढिला गरेको हो । माओवादी केन्द्र र नेसपाबीचको एकता तत्काल हुन सक्दछ ।”
नेत्र विक्रम चन्द ‘विप्लव सी’ समूह पनि एकता चाहन्छ तर, ‘नेसपा जस्तो’ पूरै तयारी अवस्थामा भने छैन । माओवादीको ‘महापतन’ भएको भन्दै केही वार्ष हिंसात्मक विद्रोहतिर लागेको यो समूहले आफ्नो नीति तथा कार्यक्रमलाई ‘एकीकृत जनक्रान्ति’ भन्ने गरेको छ ।
अरु कुनै पनि समूहले यस्तो राजनीतिक कार्यक्रम स्वीकार गरेका छैनन् । तर, विप्लवको मनोदशा वैचारिक नभएर मनोवैज्ञानिक मात्र भएको धेरैको ठहर छ । उनी एकीकृत पार्टीको महासचिव हुन चाहन्छन् । तर, हिजो माओवादी आन्दोलनमा रहेका पूर्वसहकर्मीहरू विप्लवलाई त्यो स्तरको नेता ठान्दैनन् ।
एक माओवादी नेता भन्छन्, “चन्दमा आक्रोश र उद्दण्डताको भावना बढी छ । उनी भावनात्मक र असन्तुलित कुरा गर्न मन पराउँछन् । एकीकृत पार्टीमा धेरै ठूलो शक्ति विप्लवलाई दिएर उपलिब्ध हुँदैन । उनले मूलधार र संसदीय राजनीतिको मर्मलाई न्याय गर्न सक्दैनन् ।”
एकीकृत समाजवादीमा भने अहिलेसम्म ४ दलको एकताबारे कुनै विकासक्रम छैन । हालै सम्पन्न यस पार्टीको महाधिवेशनले कार्यकर्तामा उत्साहभन्दा भन्दा बढी निराशा थप्यो । महाधिवेशनको आन्तरिक प्रक्रिया लोकतान्त्रिक हुन नसकेको गुनासो व्यापक सुनियो ।
एमाले फुटेर बनेको यो दलका नेता कार्यकर्तामा माओवादी केन्द्रभन्दा एमालेतिरै बढी मोह छ । सम्मानजक आह्वान र पहलकदमी भए एमालेतिरै फर्किन चाहन्छन् । तर, केपी शर्मा ओलीको नेतृत्व रहुन्जेल पार्टी एकता सहज भइरहेको छैन ।
एकीकृत समाजवादी विपक्षी मोर्चामा प्रतिपक्षीय भूमिकाका लागि माओवादीसँग सहकार्य गर्न सहमत होला तर, पार्टी एकताकै तहमा जान तयार छैन । यो पार्टीकी युवा नेतृ भन्छिन्, “पार्टीका अधिकांश कार्यकर्ता आफ्नै मूल पार्टी एमालेमा फर्किन चाहन्छ, २०८४ को चुनावसम्म पार्टीगत रूपमै त्यो सम्भव होला भनेर धीरतापूर्वक पर्खेर बसेका हुन् । माओवादीसँग पार्टी एकता भयो भने नेतृत्व जाला तर, कार्यकर्ता त्यता जाँदैनन्, एमालेतिरै फर्किन्छन् ।”
नभन्दै संकेत त्यस्तै देखिएको छ । एकीकृत समाजवादीका केही नेता कार्यकर्ता एमालेतिरै फर्किएका छन् । माधवकुमार नेपालको कार्यशैलीबाट यो पार्टीका कार्यकर्ता रुष्ट छन् । नाम नखुलाउने शर्तमा ती नेतृ भन्छिन्, “माधव नेपालले मात्र हैन, घनश्याम दाइले पनि पार्टी पङ्क्तिलाई निराश बनाउनुभयो । त्यत्रो बौद्धिक भनिएको नेता महासचिव हुनुभएको छ तर, कुनै रचनात्मक पहलकदमी र उत्साहजनक क्रियाकलाप छैन ।”
गत आम निर्वाचनमा पाँचदलीय गठबन्धनबाट सीमित सिट लिएर देशभरि उम्मेदवार नठाउनु र त्यसकै कारणले थ्रेसहोल्ड नकाट्नु यो दलको सबैभन्दा ठूलो दुर्भाग्य भएको उनको बुझाइ छ । उनी निराशापूर्ण शब्दमा भन्छिन्, “अब त यो दलको कुनै सान्दर्भिकता नै रहेन ।”
एकीकृत समाजवादीका नेता कार्यकर्ताको यस्तो मनोविज्ञानले पनि मोर्चामा भएका ४ दलको एकतालाई सहज बनाउँदैन । १ वर्ष अगाडि राष्ट्रिय सभागृहमा ठूलै कार्यक्रमका बीच समाजवादी मोर्चा घोषणा भएको थियो । घोषणाको केही महिनासम्म राम्रै ताउरमाउर भयो । ४ दलबीच प्रदेश, जिल्ला र पालिका तहसम्म मोर्चाका समिति बनाउने सहकार्य गर्ने क्रम चल्यो ।
मोर्चामा संलग्न दलको प्रतिनिधि सभाभित्र ५४ सिट थियो । कांग्रेस-एमालेपछि यो निकै ठूलो शक्ति हुन्थ्यो । गत फाल्गुनमा प्रचण्ड नेतृत्वको सरकारले गठबन्धन परिवर्तन गरी एमालेसँगको सत्ता सहकार्य सुरु गरेपछि एमालेलाई पनि मोर्चामा सामेल हुन आग्रह गरिएको थियो । तर, एमाले समावेश भएन ।
अर्कोतिर स्वयम् माओवादी पार्टीभित्रै थुप्रै आन्तरिक सङ्कट छन् । पार्टी निरन्तर कमजोर हुँदै जानुको मुख्य कारण माओवादी आन्दोलनभित्रको फुट र अध्यक्ष प्रचण्डको नेतृत्वशैली मुख्य रूपमा जिम्मेवार रहेको बुझाइ त्यहाँ बढ्दै गएको छ ।
अध्यक्ष प्रचण्डको नेतृत्वका सीमा प्रष्टै देखिएका छन् तर, तत्काल विकल्प पनि देखिन्न । यद्यपि प्रचण्डको पकड स्वयम् माओवादीभित्रै कमजोर हुँदै गएको हो कि भन्ने धेरैलाई लागेको छ ।
माओवादीभित्रको जनार्दन शर्मा ‘प्रभाकर’ समूह प्रचण्डको नेतृत्वबाट अब पार्टीको पुनर्उत्थान सम्भव नभएको निष्कर्षमा पुगेको छ । यस्तो बेला प्रचण्डले ४ दलको एकता गर्ने र नेतृत्व लिने कुरा सहज छैन ।
तर, एकीकृत समाजवादीलाई छोडेर पूर्वमाओवादी समूहको एकता भने सम्भव हुन सक्दछ। अहिले सबै माओवादी समूहमा एक प्रकारको छटपटी छ । त्यति ठूलो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानका बाबजुद आफ्नो पार्टी कांग्रेस-एमाले जत्तिको पनि हुन नसकेको पीडा छ ।
कतिपयले त माओवादी पार्टी अर्को प्रजा परिषद् हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । तर, पूर्वमाओवादी समूहका वैचारिक कोणहरू भिन्नभिन्न छन् ।
डा. बाबुराम भट्टराई कम्युनिष्ट विचारधारा नै परित्याग गरी वैकल्पिक राजनीतिको कुरा गर्दछन् । मोहन वैद्य समूह नयाँ जनवादी गणतन्त्रको कार्यदिशामा छ । विप्लव एकीकृत जनक्रान्ति भन्छन् । आहुति कम्युनिष्ट विचारकै वैज्ञानिकीकरण गर्ने कुरा गर्दछन् । प्रचण्ड नेतृत्वको मूल माओवादी कांग्रेस-एमालेजस्तै एक संसद्वादी दल भइसकेको छ ।
एकताबारे के भन्छन् दलहरू ?
देव गुरुङ, माओवादी केन्द्र
राजनीतिमा सम्भावना त हरेक कुराको हुन्छ । यसरी भन्दा मोर्चा एउटै पार्टीका रूपमा आउने सम्भावना पनि नकार्न मिल्दैन । तर, हामी सम्भावनाको पछि नभइकन सत्यको पछि हिँड्नुपर्छ । त्यही मान्यता हो ।
मोर्चामा त्यसबारे खास छलफल भएको छैन । कतिपय नेताहरूले व्यक्तिगत रूपमा कुरा उठाउनुहुन्छ । त्यसबाहेक कुरा छैन । जे कुरा हुन्छ, त्यो त आधिकारिक रूपमा अगाडि आइहाल्छ ।
जगन्नाथ खतिवडा, एकीकृत समाजवादी
समाजवादी मोर्चा भोलि एउटा पार्टीकै रूपमा आउँछ भन्नेबारे अहिलेसम्म परिकल्पनासमेत गरिएको छैन । यो तत्कालको एउटा कार्यनैतिक सहकार्य मात्रै हो । खासगरी वामपन्थी विचारधारा भएका दलहरूसँग महत्त्वपूर्ण एजेन्डा र विषयवस्तुहरूमा मिलेर डट्ने कुरा हो ।
एकीकृत समाजवादी कलम चुनाव चिह्न लिएर कहीँ जाँदैन । एकीकृत समाजवादी एकीकृत समाजवादीकै रूपमा जनताका बीचमा रहन्छ । समाजवादी मोर्चा एउटा विशुद्ध सहकार्य मात्रै नै हो । आजसम्म मोर्चाका बैठकहरूमा एकताका बारेमा कुनै छलफल पनि भएको छैन ।
गङ्गानारायण श्रेष्ठ, नेसपा (यादव-श्रेष्ठ समूह)
समाजवादी मोर्चा भोलि एउटै पार्टीका रूपमा आउनसक्ने सम्भावना छ । हामी प्रयत्नरत छौँ । मोर्चाका रूपमा मात्र नभइकन त्यसलाई पार्टीकै रूपमा विस्तार गर्नुपर्छ भन्नेबारे प्रारम्भिक छलफल हुन थालेका छन् । त्यसका केही तहहरू छन् ।
अब अहिले माओवादी र नेसपाबीच पार्टी एकताको घोषणा हुन मात्रै बाँकी हो । विप्लवजीहरूको केन्द्रीय कमिटीले पनि एकता गर्ने भनेर निर्णय गरिसकेको छ । अब माधवजीहरूको चाहिँ त्यस्तो औपचारिक निर्णय भएको थाहा छैन । जे होस्, सम्भावना भने छ । त्यसका लागि एकता संयोजन समिति बनाएर पनि गर्न सकिन्छ । थप छलफल हुन बाँकी छ । सुरुमा त राजनैतिक, वैचारिक, साङ्गठानिक कुराहरूमा मिल्नुपर्यो । प्रक्रिया लामै चल्छ तर, एकताको सम्भावना छ ।
प्रकाण्ड, नेकपा
मोर्चामा सबै कम्युनिष्ट विचारधाराकै दलहरू छन्, योचाहिँ सकारात्मक पाटो हो । तर, राजनीतिक तथा वैचारिक भिन्नताहरू छन्, योचाहिँ जटिल पक्ष हुन् ।
हाम्रो प्रमुख ध्यानचाहिँ माओवादी धारलाई नै एक ठाउँमा ल्याउने हो । यसेमा कसरत गरिरहेका छौँ हामीले । यो भनेकोचाहिँ कम्युनिष्ट आन्दोलनको क्रान्तिकारीकरण हो । यो अहिलेको वस्तुगत आवश्यकता पनि हो र जनता तथा इमान्दार कार्यकर्ताको चाहना पनि हो । यसैगरी जाने भन्ने हो ।
अब मोर्चाको कुरा जहाँसम्म छ, यसले चाहिँ प्रणाली र नेतृत्वका कारण बिग्रिएका र बढ्दै गएको क्राइसिसलाई सच्याउने भन्ने कोणबाट बनेको हो । यसो हुँदाहुँदै पार्टीकै रूपमा आयो भने त्यो राम्रो भयो । तरि, अहिलेसम्म त्यसबारे छलफल भएको छैन ।
Facebook Comment
Comment