काठमाडौं । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटामा आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित स्नातक तहका विभिन्न संकायमा छात्रवृत्ति आह्वान गरेको हो ।
विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत सञ्चालित बीई कम्प्युटर, बीई आर्किटेक्चर, बीई सिभिल, बीई सिभिल (रुरल), बीई इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बीई सफ्टवेयर, बीई आइटी र बीई सिभिल डिप्लोमा होल्डर्स, बीसीए र बिएस्सी इन्भाइरोन्मेन्ट कार्यक्रममा चार सय ९० कोटाका लागि दरखास्त आह्वान गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए।
व्यवस्थापन संकायअन्तर्गत सञ्चालित बीबीए, बीबीए (फाइनान्स), बीसीएस आईटी, बीएचसीएम, बीएचएम र बीबीए टीटी कार्यक्रममा सात सय ७० कोटा तथा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत सञ्चालित बिडेभ्स, बीईसीएस र बिएएलएलबी कार्यक्रममा ३९ कोटाका लागि दरखास्त आह्वान गरेको छ ।
विश्वविद्यालयले हालै विभिन्न महाविद्यालयमा कार्यक्रम र ‘सेक्सन’ थप गरेकाले उल्लिखित छात्रवृत्ति कोटा अझै बढ्न सक्ने जनाएको छ। विश्वविद्यालयले आङ्गिक महाविद्यालयमा कुल विद्यार्थी भर्ना कोटाको २० प्रतिशत र सम्बन्धन प्राप्त महाविद्यालयहरूमा कुल विद्यार्थी भर्ना कोटाको १० प्रतिशतका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
ढकालका अनुसार छात्रवृत्तिका लागि यही साउन ३० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने व्यवस्था मिलाइएको छ ।
Facebook Comment
Comment