भारतबाट एक वर्षमै भित्रियो १ अर्ब ११ करोडको आलु

नेपालभ्युज

भारतबाट एक वर्षमै भित्रियो १ अर्ब ११ करोडको आलु
फाइल तस्वीर
बाँके । बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँ बराबरको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोड रुपैयाँको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार रुपैयाँ बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।
आलु आयातबाट आव २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ तथा गत आव २०८०/८१ मा २७ करोड २२ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए । अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपैयाँ राजश्व वृद्धि भएको छ ।
पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए । उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved