काठमाडौं । बहालवाला अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार साँझ आगामी राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी परित्याग गरेको घोषणा गरे । मतदानको १०७ दिन बाँकी हुँदा बाइडेनले चुनावी रेसबाट अलग भएको घोषणा गरेका हुन् ।
उनीमाथि उम्मेदवारी परित्याग गर्न पार्टीभित्र र बाहिरबाट चर्को दबाब थियो । यसको मुख्य कारण उनको उमेर र स्वास्थ्य देखाइएको थियो । ८१ वर्षीय बाइडेन अहिले कोभिड संक्रमित छन् ।
दोस्रो कारण, विपक्षी रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाब झेल्न बाइडेन असमर्थ हुने विश्लेषण गरियो । मत सर्वेक्षणहरूले बाइडेन नै मैदानमा भए ट्रम्पले जित्न सक्ने सम्भावना देखाएका थिए ।
सन् २०२० को निर्वाचनमा यी दुईबीच प्रतिस्पर्धा भएको थियो । र, बाइडेनले ट्रम्पलाई पराजित गरेका थिए । यसपटक नतिजा उल्टो हुन सक्ने भय डेमोक्रेटिक पार्टीका समर्थकमा बढ्दै गएको थियो । पार्टीले बाइडेनलाई उम्मेदवार बनाएर ट्रम्पका लागि विजयको ढोका खोल्न नहुने उनीहरूको तर्क थियो ।
न्यूओर्क टाइम्सले एक सम्पादकीय नै लेखेको थियो– बाइडेनले उम्मेदवारी परित्याग गर्नु देशका लागि निकै ठूलो सेवा हुनेछ । यो नै ट्रम्पको अराजकताको जोखिमलाई रोक्न सक्ने एक मात्र उपाय हो ।
केहीगरी विजय भए पनि बाइडेन दोस्रो कार्यकालको अन्त्यसम्म ८५ वर्षको हुने, उमेर र स्वास्थ्यको कारणले प्रभावकारी राष्ट्रपति हुन नसक्ने भय बढ्दो थियो । डेमोक्याट्सहरू बाइडेनको स्थानमा एक युवा, शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो भएको, ऊर्जावान् उम्मेदवार चाहन्थे ।
तर, बाइडेनले उम्मेदवारी परित्याग गर्न अस्वीकार गर्दै आएका थिए । यी दुईबीच पहिलो चरणको राष्ट्रपतीय निर्वाचन बहससमेत भइसकेको थियो । तर, आइतबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै बाइडेनले सबैलाई आश्चर्यचकित बनाई दिएका छन् । साथै पार्टी समर्थकमा नयाँ उत्साह भरिदिएका छन् ।
बाइडेनको यो घोषणाको पार्टीभित्र व्यापक स्वागत भएको छ । पूर्वराष्ट्रपति बाराक ओबामा तथा पूर्वसभामुख न्यान्सी पिलोसीले उम्मेदवारी फिर्ताका लागि बाइडेनलाई धन्यवाद दिएका छन् ।
राष्ट्रपति बाइडेनले आफ्नो उम्मेदवारीको दौड अन्त्य मात्र गरेका छैनन्, निर्वाचन अभियानलाई उपराष्ट्रपति कमला ह्यारिसले अघि बढाउने प्रस्ताव पनि गरेका छन् ।
डेमोकेटिक पार्टीभित्रको प्रक्रिया अघि बढ्न अब या त कसैले उपराष्ट्रपति ह्यारिसलाई चुनौती दिएर आन्तरिक निर्वाचन हुनुपर्ने छ । कसैले चुनौती नदिए बाइडेन डेलिगेट्सहरूले ह्यारिसलाई आगामी राष्ट्रपतिय निर्वाचनका लागि पार्टीको उम्मेदवार अनुमोदन गर्न सक्नेछन् । ह्यारिसले उपराष्ट्रपतिका लागि नयाँ नेताको छनोट गर्नु पर्नेछ ।
बाइडेनको सचिवालयले चुनावी अभियानको नाम परिवर्तन गरि ‘ह्यारिस फर प्रेसिडेन्ट’ राखेको छ । अहिलेसम्म काम गर्दै आएको बाइडेनको अभियान समूहले नै कमला ह्यारिसको चुनावी अभियानको संयोजन गर्ने बताइएको छ । ह्यारिसलाई उम्मेदवार बनाउने बाइडेनको प्रस्तावलाई अहिलेसम्म कसैले चुनौती दिएको छैन । तर, सबैले समर्थन गरिसकेका पनि छैनन् ।
बाइडेनको निर्वाचन अभियान कोषमा ९६ मिलियन डलर भएको र यो अब कमला ह्यारिसको निर्वाचन अभियानमा खर्च हुने बताइएको छ । बाइडेनको प्रस्तावपछि ह्यारिसले समर्थन र सहयोगका लागि तीव्र गतिमा चौतर्फी समन्वय सुरुवात गरेकी छन् ।
ह्यारिसले प्रतिक्रिया दिँदै भनेकी छन्, “मतदान सुरु हुन १०७ दिन बाँकी छ । हामी मिल्छौँ । हामी एकताबद्ध हुन्छौँ । हामी लड्छौँ । हामी ट्रम्पलाई पराजित गर्छौँ र जित्छौँ।”
उनले डेमोक्रेटिक पार्टी ट्रम्पलाई रोक्ने शर्तमा यथाशिघ्र एकताबद्ध हुने विश्वास पनि व्यक्त गरिन् । ह्यारिसको अर्को चुनौती उपराष्ट्रपतिका लागि एक उपयुक्त जोडा छनोट गर्नु हो । समावेशिता र सन्तुलनका लागि श्वेत पुरुषबाट उपराष्ट्रपति उम्मेदवार छनोट हुने सम्भावना छ । त्यसका लागि केही नाम तुरुन्तै चर्चामा आएका छन् ।
जस्तो कि नर्थ क्यारोलिना, केन्टुकी, पेन्सिलभेनिया, मिनेसोटा गभर्नर क्रमशः रोय कुपर, एन्डी बेसेयर, जोस सापिरो, टिम बाल्ज । एरिजोना सिनेटर मार्क केली पनि यो चर्चाको सूचीमा छन् । यी सबैबाट ह्यारिसले सार्वजनिक समर्थन पाइसकेकी छन् । यहाँसम्म कि वरिष्ठ पार्टी नेता बिल र हिलारी क्लिन्टन दम्पत्तिको समर्थन पनि ह्यारिसले पाइसकेकी छन् ।
तर, पार्टीभित्र शक्तिशाली मानिएका बाराक ओबामा, न्यान्सी पिलोसीलगायतले ह्यारिसलाई समर्थन गर्नुको साटो आन्तरिक प्रतिस्पर्धाको प्रक्रिया पूरा हुनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति भएका छैनन् । सन् २०१९ को चुनावमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन । यद्यपि, उनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत प्राप्त गरेकी थिइन् ।
५९वर्षीया कमला ह्यारिस भारतीय मूलकी आमा र अफ्रिकन मूलका पिताकी सन्तान हुन् । ७८ वर्षीय ट्रम्पका सामु ह्यारिस युवा र ऊर्जावान् उम्मेदवार देखिन सक्नेछिन् ।
उनी ट्रम्पको ‘श्वेत सर्वोच्चतावादी पुरुष अहङ्कार’ का लागि एक गतिलो चुनौती हुन सक्छिन् । ट्रम्प आफैँ कुनै बेला ह्यारिसका समर्थक थिए । सन् २०११ र २०१३ को क्यालिफोर्निया महान्याधिवक्ताको प्रतिस्पर्धामा ट्रम्पले ह्यारिसलाई चन्दा दिएका थिए ।
ह्यारिसले महिला, अश्वेत, हिस्पानिक तथा एशियन मतदाताको मुख्य हिस्सालाई नै प्रभावित गर्न सके जित सहज हुने विश्लेषकले बताएका छन । डेमोक्रेटिक पार्टीको नेसनल कन्भेन्सन अगष्ट १९ तारिख सिकागोमा हुने सम्भावना छ । यसले अनुमोदन गरेपछि मात्र ह्यारिसको उम्मेदवारी पक्का हुनेछ ।
द न्यूओर्क टाइम्सको सहयोगमा
Facebook Comment
Comment