लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसको समर्थनमा एमालेका गिरी मुख्यमन्त्री बन्ने

नेपालभ्युज

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसको समर्थनमा एमालेका गिरी मुख्यमन्त्री बन्ने
एमाले संसदीय दलका नेता लिला गिरी

काठमाडौं । लुम्बिनी प्रदेशमा सोमबार नयाँ सरकार बन्ने भएको छ । कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।

अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै त्यो पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएपछि आइतबार राती नै शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

मुख्यमन्त्री महराले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्रीमा गिरी नियुक्त हुनेछन् । मुख्यमन्त्री सहित सबै मन्त्रीले एकसाथ शपथग्रहण गर्ने गरी तयारी गरिएको छ ।

पहिलो चरणमै सबै मन्त्रीहरूको टुंगो लगाउन खोजेपनि आकांक्षीको संख्या धेरै भएकाले कांग्रेस र एमालेलाई सकस भएको देखिन्छ ।

राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्दै जनताको आर्थिक अवस्था सुधार गर्ने संकल्पसहित नयाँ सरकार बन्ने गिरीले बताए ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज छ ।

प्रदेश गठन भएदेखि सधैँ सरकारमा सहभागी भएको दल नेकपा माओवादी केन्द्र भने पहिलो पटक प्रतिपक्ष दलको भूमिकामा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved