काठमाडौं । नेपाली कांग्रेसले यसपाली प्रभावशाली नेतालाई मन्त्री बनाउने तयारी थालेको छ ।
वरिष्ठ र प्रभावशाली नेताहरूलाई नै सरकारमा पठाउने गरी छलफल भइरहेको नेताहरुको भनाइ छ ।
सभापति शेरबहादुर देउवाले सबै खेमाका शीर्ष नेतालाई सहभागी गराउनेगरि छलफल चलाएको नेताहरुको दाबी छ ।
बुढानिलकण्ठ स्रोतका अनुसार, गगन थापा,रमेश लेखक, प्रकाशमान सिंह, सशांक कोइरालामध्येबाटै सरकारमा जाने टोलीको नेतृत्व बनाउने सभापति देउवाको चाहना छ ।
गुटका नेतामा पनि सकेसम्म आफैँ जाने कसरतमा देखिन्छन् । महामन्त्री गगन थापा गृहमन्त्री लिएर सरकारको नेतृत्व गर्ने कसरतमा लागेका छन् ।
हालसम्मको गृहकार्य र छलफललाई आधार मान्दा गृह मन्त्रालयमा रमेश लेखकको सम्भावना बलियो देखिएको छ ।
पदाधिकारी तहकै कुनै नेताले गृहमन्त्रीको अडान छाडेनन् भने लेखक कानुनमन्त्री बन्नेछन् । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन पनि लेखकलाई कानुनमन्त्री बनाउनु पर्ने देउवाको चाहना छ ।
लेखकपछि यसपालिको सूचीमा नछुट्ने अर्को नाम हो आरजु राणा । नयाँ सरकारमा राणालाई परराष्ट्रमन्त्री बनाउन देउवा र एमाले अध्यक्ष केपी ओलीबीच मोटामोटी सहमति भइसकेको छ ।
महामन्त्री थापा मन्त्री नभए संस्थापन इतर खेमाबाट बद्री पाण्डेको सम्भावना बलियो छ । पाण्डे अहिलेसम्म मन्त्री बनेका छैनन् । उनी पार्टीको सहमहामन्त्री पनि हुन् ।
अर्का सहमहामन्त्री किशोरसिंह राठौरको नाम पनि चर्चामा छ । सशांक कोइरालाको कोटाबाट दीपक गिरीले मौका पाए भने राठौर छुट्न सक्छन् ।
सशांक आफै पनि सरकारमा जान इच्छुक भएकाले अन्तिममा गिरी र राठौर बाहिर हुन सक्छन् । कोइरालाले यसअघि पनि कृषि मन्त्री बन्ने चाहना राखेका थिए ।
विनोद चौधरी पनि यसपटक मन्त्री बन्ने दौडमा अघि छन् । उद्योगी व्यवसायीको क्षेत्रबाट चौधरी मन्त्री बन्ने लगभग पक्का रहेको बताइन्छ ।
कर्णालीबाट पूर्णबहादुर खड्काले जुम्लाकी सांसद कान्तिका सेजुवाललाई अघि सारेका छन् ।
गण्डकीबाट सहमहामन्त्री जीवन परियारको चर्चा भइरहेको छ ।
बागमतीबाट देउवा खेमाबाट दुर्लभ थापा, जितजंग बस्नेत र उदयशमशेर राणा पनि सरकारमा जाने कसरतमा छन् ।
Facebook Comment
Comment