बेलायतका नवनिर्वाचित प्रधानमन्त्री स्टार्मर भन्छन्- परिवर्तनका लागि आतुर छु

नेपालभ्युज

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री स्टार्मर भन्छन्- परिवर्तनका लागि आतुर छु

लण्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टार्मरले शनिबार आफ्नो कार्यभार सम्हालेको पहिलो दिनको सुरुआतमा आफूलाई ‘परिवर्तनका लागि आतुर’ रहेको घोषणा गर्दै आफ्नो लेबर सरकारको ‘नम्बर एक अभियान’ विकास हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्टार्मरले निवर्तमान कन्जरभेटिभ सरकारको आप्रवासीलाई रुवान्डामा निर्वासित गर्ने योजना अन्त्य गर्ने आफ्नो पूर्व घोषित मनसायको पनि पुष्टि गरे ।

“रुवान्डा योजना सुरु हुनुभन्दा पहिले नै मरेको थियो र यो अहिले निकै पुरानो भइसकेको छ । म अवरोधकको रूपमा काम नगर्नेलाई निश्कासन गर्ने नौटङ्की जारी राख्न तयार छैन,” उनले आफ्नो पहिलो क्याबिनेट बैठकपछि पत्रकारहरूलाई भने।

कन्जर्भेटिभ पार्टीको १४ वर्षे शासनको अन्त्य गर्दै पार्टीले शुक्रबार चुनावमा शानदार जित हासिल गरेको छ । बेलायतकी प्रथम महिला अर्थमन्त्री रचेल रिभ्स र नयाँ विदेशमन्त्री डेभिड लामीसहितको शीर्ष टोलीसँगको कुराकानीमा उनले राजा चाल्र्स तृतीयले सरकार गठनका लागि आमन्त्रण गर्नु मेरो जीवनको सम्मान र सौभाग्य भएको बताए ।

“हामीसँग धेरै काम गर्न बाँकी छ, त्यसैले अब हामी आफ्नो कामलाई निरन्तरता दिन्छौं,” उनले ताली बजाएर सुधारका कामबारे प्रतिवद्धता व्यक्त गरे ।

बेलायतको संसद्मा १७४ सिटको भारी बहुमतका साथ आफ्नो पार्टी सत्तामा फर्किएको केही घण्टापछि स्टार्मरले शुक्रबार डाउनिङ स्ट्रिटमा आफ्नो मन्त्री टोली नियुक्त गरेका छन् ।

कोभिड–१९ महामारीका बेला सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भालान्सलाई विज्ञान मन्त्री बनाइएको छ । जेम्स टिम्पसनलाई पनि जेल मन्त्री बनाइने भएको छ। उनको जुत्ता मर्मत गर्ने कम्पनीले पूर्व अपराधीहरूलाई रोजगार दिन्छ ।

दुवै जना निर्वाचित सांसद नभएकाले सरकारमा सहभागी हुनका लागि संसदको माथिल्लो सदनमा सिट दिइनेछ । स्टार्मरले दुवै नयाँ मन्त्रीहरू ‘परिवर्तनसँग सम्बन्धित’ व्यक्तिहरू भएको र जनताको जीवनमा ठोस सुधार ल्याउने आफ्नो दृढतालाई चित्रण गरे ।

“म परिवर्तनका लागि बेचैन छु, र मलाई लाग्छ र आशा छ, तपाईंले पहिले नै देख्नुभएको कुराले यो देखाउँछ,” उनले पत्रकारसँगको भेटमा भने । शुक्रबार लेबर कार्यकर्ताहरूको झण्डा फहराउने भीडले स्टार्मरलाई डाउनिङ स्ट्रिटमा स्वागत गरेको थियो तर उनको सरकारका लागि कठिन चुनौतीहरू छन् ।

उनले तत्काल सम्बोधन गर्नुपर्ने प्रमुख विषयहरूमा अस्थिर अर्थतन्त्र, खस्कँदो सार्वजनिक सेवा र वर्षौं लामो जीवनयापनको संकटबाट पीडित परिवारहरूको अवस्थामा सुधार ल्याउनु समावेश छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved