सपना र सङ्घर्ष

पैसा बेच्ने भीमप्रसाद बा !

पैसा बेच्ने भीमप्रसाद बा !

काठमाडौं । रानी पोखरी घेरिएको बारमा एक मिटर जति पेटी निकालिएको छ । त्यसैको एउटा कुनामा पुराना पैसाको सानो थाक छ । छेवैमा केही पोका नेपाली रुपैयाँका ढ्याक छन् । रुपैयाँ, पैसा, सुकालगायत निकै पुराना पैसा सजाएर बेच्न राखिएको छ । छेउमै बारमा अढेस लागेर बसेका छन् एक वृद्ध बा !

रत्नपार्कको निलो माइक्रो स्टेसनभन्दा थोरै अगाडि सडक पेटीको कुनामा छेलिएर बसिरहन्छन् उनी अथार्त् भीमप्रसाद श्रेष्ठ । बा, व्यापार कत्तिको भइरहेको छ ? थोरै झर्को मान्दै भीम बा भन्छन्, ‘हुँदैन, नानी व्यापार-स्यापार, सबैले हेर्दै जाने मात्र हो ।’ उनको जवाफमा दिक्दारीपन झल्किन्थ्यो ।

अझ व्यापार व्यवसायको बारेमा सोध्ने पत्रकार हो भन्ने थाहा पाए पछि उनी कड्किन पो थाले ! मानौँ, पत्रकार उनका लागि शत्रुसरह हुन् ।

‘पहिला पहिला पनि धेरै पत्रकार हुँ भन्दै कुरा गर्दै जान्थे, खै त के गर्न सक्यो । भिडिओ खिचेर लान्छ तर, हामी गरिबलाई केही न केही । ३५ वर्ष भयो काठमाडौंको सडक चहारेको, तिमीजस्ता धेरै पत्रकार आए तर मेरो अवस्था बदलिएन । म सडकको सडकमै छु । अझ त्रास उस्तै छ ।’

उनी विगतको कुरा सम्झँदै भन्छन्, ‘एक पटक त झन् मैले दुई जना पत्रकार हुँ भन्दै भिडिओ खिच्न आउनेलाई थर्काएर खेदाएको छु ।’

भीमप्रसाद पत्रकारसँग औधी रिसाएका रहेछन् । गुनासो र समस्या सुन्न आएका पत्रकारले मीसयूज गरे भन्ने रहेछ उनमा । त्यसैले पत्रकारलाई देख्यो कि ‘चुप लागेर आफ्नो बाटो जाऊ’ भनी थर्काउँछन् उनी । उनी जति पत्रकारको बारेमा नराम्रो कुरा गर्थे, त्यति फ्रस्टेसन ओकलिरहेका थिए ।

त्यसैले उनको गालीको प्रभाव परेन, निरन्तर उनको कुरा सुनिरहेँ । एक छिनमा बोलेर केही थाके जस्तो भएका भीमप्रसादले आफ्ना धेरै गुनासा र पीडा पोखे । ‘के भयो बा ?’ प्रश्नसहित नजिकिएँ । भीमप्रसाद गफिन थाले ।

भीमप्रसादले ललिता निवास जग्गा प्रकरण, बाल मन्दिर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायतका धेरै विषयमा सुनाउन थाले । उनमा राजनीतिको राम्रो ज्ञान रहेछ ।

उनले नेपालका ठूला-ठूला नेतादेखि उनीहरूले दिएको सास्तीसम्मका गफ गर्न भ्याए । भीमप्रसाद विस्तारै खुल्दै गए । मलाई हातमा चकलेटसमेत थमाइदिए । अघिसम्म लखेट्न खोजेका भीमप्रसादमा अभिभावकीय ममता पो देखियो ।

पुराना पैसा बेच्ने काम 

आफू अब बुढेसकाल लागिसकेकाले अरू काम गर्न नसक्ने उनी बताउँछन् । भीमप्रसादसँग एक, दुई, पाँच, दशलगायतका कागजी नोट थिए, केही सिक्का पनि ।

त्यो पैसा कसरी कहाँबाट साट्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘जहाँ पायो त्यहाँबाट दिँदैन, टक्सारबाट ल्याउँछु म त ।’ अनि फाइदा हुन्छ त ? ‘फाइदाको लागि मैले यो काम गरेको हैन, खान बस्न पुग्छ त्यति भए मलाई अरु केही चाहिएन ।’

३५ वर्ष भएछ उनी काठमाडौं छिरेको । आफू काठमाडौं आउँदा यसको स्वरूप अर्कै रहेको सम्झन्छन् उनी । नेपालको प्रायः सबै जिल्ला घुम्न भ्याइसकेका भीमप्रसाद उमेरले ७१ वर्ष पुगे । जीवनको ठक्करले उनलाई निकै बाठो बनाइसकेको छ । उनी पुराना पैसा अर्थात् आफ्नो सामान किन्ने व्यक्ति हेरेरै चिन्छन् ।

नपत्याउँदा व्यक्ति उनको सामानको छेउमा आउँदा भीमप्रसाद केही शतर्क हुन्छन् । कारण हो बेच्न राखिएको पैसा धेरै पटक चोरी भएको तीतो अनुभव छ उनीसँग । उनी यी र यस्ता घटनाबाट धेरै चनाखो भइसके ।

‘बा, तपाईं त कति बाठो हुनुहुँदो रहेछ है भनेर जिस्काउँदा थोरै हाँस्दै उनी भन्छन्, ‘यी फटाहाहरू किन्नेचाहिँ हैन हेर्छन्, हेर्छन् मिलाएर राखेको सामान बिगार्छन् मौका मिले चोरेर भाग्छन् ।’ फेरि छेउमा राखिएको चकलेटको पोकाबाट दुईवटा निकालेर हाम्रो हातमा राखिदिए र एउटा ध्यार्र च्यातेर आफू खाए ।

नेतामा प्रचण्ड मन पर्छ 

राजनीतिसम्बन्धी राम्रो ज्ञान रहेका भीमप्रसाद प्राय: नेपालका सबै नेता चिन्छन् । आन्दोलन गर्न सडकमा आएका गगन थापा, रवि लामिछाने लगायतलाई त थर्काएको पनि उनी बताउँछन् । पत्रकार भन्नेबित्तिकै उनी बेलाबेलामा ऋषि धमलाको नाम लिन्छन् । प्राइम टाइम्स टेलिभिजनमा आफू गएको पनि बताउँछन् ।

‘हुन त नेताहरू सबै त्यस्तै हुन् तर पनि मलाई प्रचण्डचाहिँ मन पर्छ । हामी गाउँमा हुँदा सडक थिएन । गाडी थिएन । नुन तेल किन्न पनि २/३ दिनको बाटो हिँडेर बजार झर्न पर्थ्यो । प्रचण्ड सरकार आएपछि हाम्रो गाउँमा सडक पुग्यो,’ उनले भने ।

उनले प्रचण्डको पहिलो कार्यकाल सम्झिँदै भने, “त्यसबेला हाम्रोमा धेरै विकास भयो । बाटो पुग्यो ।”

लेख्न पढ्न निगाँलो र खरानी हुन्थ्यो 

आफू सानो छँदा पढ्न नपाएको भीमप्रसाद सुनाउँछन् । ‘स्कुल त हुन्थ्यो तर, पनि मैले पढ्न पाइनँ, उनको दुखेसो छ । “निगाँलोको कलम बनाउँथ्यौँ अनि खरानीको मसी बनाएर भित्तामा लेख्थ्यौँ,” उनी सम्झन्छन् ।

अनौपचारिक शिक्षा लिएका उनलाई अक्षर पढ्न कुनै समस्या छैन ।

उमेरले ७१ वर्ष पुगे पनि भीम प्रसादको आँखामा कुनै समस्या छैन । आफूलाई पढ्न राम्रोसँग आउँछ भन्ने प्रमाणित गर्न उनी नजिकैको पत्रिका तानेर पढ्न थाल्छन् । साथै, लेख्न पनि थाल्छन् । कहिल्यै विद्यालयको प्राङ्गण नटेके पनि भीमबहादुर साक्षर छन् ।

अढेस लागेर बसेका उनी फुत्त भुइँमामा ओर्ले । बुढेसकालले छोइसकेका उनी भन्छन्, ‘एकै ठाउँ धेरै बेर बस्न सक्दिनँ नानी, जिउ कर्ककराउँछ ।’

धर्मसम्बन्धी ज्ञान 

पढाइमा औधी रुचि राख्ने भीमप्रसादले धेरै धर्मका किताब पढिसकेका छन् । उनलाई रामायणको कथा कण्ठस्तै छ । वेद व्यासको बारेमा पनि उनी भन्न सक्छन् । कस्तो कस्तो किताब पढ्न मन लाग्छ तपाईंलाई ? मैले प्रश्न सोझाएँ ।

अलि उत्साहित हुँदै उनले भन्न थाले, ‘मैले धेरै किताब पढिसकेँ तर, मलाई धर्म कर्मको किताब धेरै मन पर्छ नानी । एउटा त मैले साथैमा बोकेर पनि हिँड्छु ।’ उनी झोलाबाट धर्मसम्बन्धीको कुनै एउटा पुस्तक निकालेर फेरि पढ्न थाले । ‘तपाईं पुरेत काम पनि गर्नुहुन्थ्यो हो ?’ यसको जवाफ उनी छोटोमा दिन्छन्, ‘हैन’ ।

नगर प्रहरीको सास्ती

उनी काठमाडौं महानगरका नगर प्रहरीले दिने सास्तीबाट वाक्क भएका छन् । फुटपाथ व्यवसायीहरूको सामान बलजफ्ती जफत गरेको देख्दा निकै रिस उठ्छ उनलाई ।

‘अनि तपाईंको चाहिँ सामान खोस्दैनन् नगर प्रहरीले ?’ भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘मेरो त थोरै छ त्यै नि देखिहाल्नुभयो । त म यसरी चेपिएर लुकेर सामान बेच्छु । मलाई केही गर्दैनन् ।’

कोरोनाको बेलामा निकै दुखी भए 

कोराना महामारी फैलिएको बेला भीमप्रसादलाई खान निकै समस्या हुन्थ्यो । उनको व्यवसाय पनि त्यति बेला चलेन । पैसा पनि हुँदैन थियो । राहत बाँड्न धेरै थरीका संस्था आउँथे । तर, जो बाठो उसैले मात्र पाउँथ्यो । पत्रकार खाली भिडि‌ओ खिच्न मात्र आउँथे ।

पत्रकारसमक्ष आफ्नो पीडा, दु:ख र गुनासा पोख्थे भीमप्रसाद । तर, उनीतिर न त सरकार, न त कुनै संघसंस्था । कसैको पनि नजर पर्न सकेन । त्यहीबाट पत्रकारप्रतिको विश्वास मरेको रहेछ उनको ।

‘सडकमा जनता कसरी बसेका छन्, समस्या के कस्तो छ भन्दै भिडिओ मात्र खिचेर लगे । हामी त्यो बेला कस्तो अवस्थामा थियौँ । हाम्रो समस्याको समाधानतर्फ कसैले ध्यान दिएनन्,’ भीमप्रसाद भावुक भए ।

वृद्ध अवस्थामा जीवन संघर्ष 

उनको परिवार त छ तर, उनी आफ्नो परिवारको बारेमा बताउन चाहँदैनन् । ‘म एक्लै छु, एक्लै बस्छु अनि एक्लै खुसी छु,’ उनी भन्छन् । नजिकै उनको कुरा सुनिरहेका एक व्यक्तिको काँधमा धाप मार्दै उनी थोरै हाँसे ।

अहिले कहाँ अनि कोसँग बस्नुहुन्छ बा ? यो प्रश्नको जवाफमा भन्छन्, ‘एउटा नातिनीसँग बस्छु । सामानहरू सबै यही चौकी (छेवैमा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयतर्फ इशारा गर्दै) मा राख्छु । खाना पनि यतै खान्छु । एउटा खानाको ८० रुपैयाँ पर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved