काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि तीन दिने नाट्य महोत्सव ‘म्याड फेस्ट-२०२४’ सुरु भएको छ ।
महोत्सवको आज एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, रंगकर्मी पशुपति राई, महोत्सवका निर्देशक अनुप न्यौपाने र कलाकार सोमनाथ खनालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
यो महोत्सव मण्डला थिएटरका पूर्व विद्यार्थीहरू र थिएटरको संयुक्त आयोजना गरिएको हो । असार २३ गतेसम्म चल्ने महोत्सवको यो पहिलो संस्करण समेत हो । महोत्सवका निर्देशक न्यौपानेका अनुसार महोत्सवमा विभिन्न ६ वटा नाटकहरु मञ्चन गरिने छ ।
महोत्सवमा नाटकसहित नाट्यकला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि हुनेछ ।
महोत्सवमा संयोग गुरागाइँको निर्देशनमा ‘रेल्वे टु नोव्हेर,’ अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन हुनेछन् ।
महोत्सवका लागी १८ वटा कथाहरूबाट ८ वटा कथा छनोट गरी १५ दिने प्रडक्सन वर्कसप गरेर अन्तिम ६ वटा नाटकलाई मञ्चनका लागि छानिएको हो ।
महोत्सवमा आज पहिलो दिन रेल्वे टु नोव्हेर र अंकुरन, दोस्रो दिन शिल्पिनी र नुग्धा र तेस्रो दिन अगमु र मिरर मञ्चन हुनेछन् । नाटक हरेक दिन दिउँसो १२ र ३ बजे मञ्चन गरिनेछ ।
Facebook Comment
Comment