सप्तकोशीमा पानीको बहाव बढेसँगै माछा मार्न र डुंगा चलाउन रोक

नेपालभ्युज

सप्तकोशीमा पानीको बहाव बढेसँगै माछा मार्न र डुंगा चलाउन रोक

काठमाडौं । सप्तकोशी नदीको बहाव बढ्न थालेसँगै माछा मार्न र डुंगा चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी र सप्तरीले कोशीमा माछा मार्न र डुंगा चलाउन रोक लगाएको हो ।

जुन कुनै समयमा बढ्न सक्ने जलस्तरले निम्त्याउने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले सतकर्तासहितको आवश्यक तयारीसमेत अघि बढाइएको छ ।

बाढी पूर्व तयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक समेत डाकिएको छ । बैठकले नदीमा आउन सक्ने बाढीको आँकलन गर्दै सूचना सम्प्रेषण र विपद् पूर्वतयारको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ ।

बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय समेत गरेको छ ।

सप्तकोसीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका स्परको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ । नेपाली पक्षको समन्वयमा उक्त क्षेत्रमा भारतीय पक्षले तार जाली र बालुवा भरिएका बोरा राख्ने काम जारी राखेको छ ।

ब्यारेजमा सम्पन्न प्रजिअसहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तीव्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका सवालमा समेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण समेत गरेको छ । सप्तकोशी नदीमा केही दिन यता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।

सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्ष यता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ ।

भारतीय पक्षले भने जलस्तरको मापनका आधारमा ब्यारेजका ढोका खोल्ने गर्छ । ढोका खोल्न ढिला हुँदा बर्सेनि नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । —न्युज एजेन्सी नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved