बीआरआईमा अनुदान नै प्राथमिकता : प्रधानमन्त्री

मंगलबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अनुदान लिने कुरामा नै प्राथमिकता रहने बताए ।

नेपालभ्युज

बीआरआईमा अनुदान नै प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन नेतृत्वको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा अनुदानका कार्यक्रमलाई नै प्राथमिकता दिने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अनुदान लिने कुरामा नै प्राथमिकता रहने बताए ।

ऋण नै लिँदा पनि एडीबी र वर्ल्ड बैंक जस्तै १ वा १.५ प्रतिशतभन्दा बढी नजाने उनले बताए ।

‘वर्ल्ड बैंक र एडीबीको नाम लिनुको तात्पर्य त्यही प्रतिशतलाई इंगित गरेको हो । तर हाम्रो जोडचाहिँ ग्रान्टमा लिनेमा नै हुन्छ । यो विषयमा हामीले सम्बन्धित सबैसँग चर्चा पनि गरेका छौँ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको मंगलबाट सुरु भएको १६ औं बैठकबाटै बीआरआईमा हस्ताक्षर हुने भनेर आफूले नभनेको तर त्यसको तयारी भइरहेको बताए ।

‘छिट्टै हुनसक्छ । बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने भनेको हामीले योजना आयोग र चीनको पनि त्यही समकक्षीको बीचमा गर्ने भनिएको हो । अहिले परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालय अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको छ । तर टुंगिसकेको छैन’, उनले भने ।

सचिवस्तरीय बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गरेकी छिन् भने चिनियाँ टोलीको नेतृत्व विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved