काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चुस्त दुरुस्त बनाउने प्रयास गरिएको बताएका छन् ।
उनले सो कार्यालयलाई थप प्रभावकारी बनाउन विगतदेखि नै विभिन्न समयमा विभिन्न कार्यदलले अध्ययन गरी सुझाव र सिफारिसहरू प्राप्त भएको बताए ।
उनले आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक अन्तर्गत राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकाय तथा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रतिनिधि सभामा मंगलबार जवाफ दिएका थिए ।
‘सुझाव तथा सिफारिसलाई मध्यनजर गरी बदलिदो समय र परिवेशअनुरूप यस कार्यालयको संगठन संरचनालाई दक्ष, प्रभावकारी, मितव्ययी र नतिजामुखी बनाउन संगठनको कार्यप्रकृति र कार्यबोझको विश्लेषण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी चुस्त दुरूस्त बनाउने प्रयास गरिएको छ’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा यस कार्यालयलाई सुशासनको उत्कृष्ट निकायको रुपमा स्थापित गर्न आवश्यक कार्य र क्रियाकलापहरू पहिचान गरी क्रमश: कार्यान्वयन गरिँदै आएको र सोही बमोजिम यस कार्यालयलाई पुन: संरचना गरी ६८ दरबन्दी कटौती गरिएको विषय समेत जानकारी गराए ।
उनले यसबाट अन्य निकायहरूलाई समेत प्रभावकारी र नतिजामुखी संगठन निर्माणका लागि मार्गदर्शन हुने अपेक्षा लिइएको बताए ।
Facebook Comment
Comment