काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई/मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले विगत तीन महिनाभित्र श्रृंखलाबद्ध रुपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन् ।
उनले गाउँ गाउँमा अपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरू डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको बताइन् ।
‘गाउँगाउँमा अपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिनभित्र यो गाउँ चोरी गर्छौं भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ । सुन्दा यो अपत्यारिलो छ । तर सत्य कुरा यही हो’, उनले भनिन् ।
उनले नागरिकहरु अनिँदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने माग गरिन् ।
सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गरिन् ।
Facebook Comment
Comment