‘प्रहरी हौँ’भन्दै घरभित्र छिरेको समूहले लुट्यो २ करोड, घरधनी समेत अनुसन्धानको घेरामा

नेपालभ्युज

‘प्रहरी हौँ’भन्दै घरभित्र छिरेको समूहले लुट्यो २ करोड, घरधनी समेत अनुसन्धानको घेरामा
फोटो- प्रतिकात्मक स्केच

काठमाडौं । भक्तपुरको दधिकोटमा एक व्यवसायीको घरमा नक्कली प्रहरीको समूहले लुटपाट गरेको छ । ‘हामी प्रहरी हौँ, खानतलासी लिनुपर्याे’ भन्दै छिरेका उनीहरूले नगद दुई करोड रुपैयाँ लुटेर लगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

घटनामा संलग्न भनिएका २ जना पक्राउ परेका छन्, भने २ जना फरार छन् ।

प्रहरीले अनुसन्धान भने गोप्य रूपमा जारी राखेको थियो । घटनाको पाँच दिनपछि शनिबार उनीहरू पक्राउ परेका हुन् ।

गत मंगलबार दिउँसो १ बजे चारजनाको समूह आएर घरभित्र छिरेको थिए । दुईवटा मोटरसाइकलमा पुगेका थिए । उनीहरूले प्रहरीको कार्ड भन्दै परिचयपत्र पनि देखाएका थिए ।

त्यो समूहले आफूहरू प्रहरी हौँ भन्दै घर खानतलासी अनुमतिका लागि घर धनीसँग कागज समेत गराएका उल्लेख छ । यद्यपि दुई करोड रुपैयाँ लुटपाट भयो या हुन पाएन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ । पक्राउ परेका दुई जनाबाट करिब ६ लाख रुपैयाँ मात्रै बरामद भएको छ ।

उनीहरूले झोलामा रहेको रकम लिएर भागेको प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा देखिएको छ । लुटपाट गर्न पुगेको समूहले प्रहरीको नक्कली परिचयपत्र बनाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । अनुसन्धान अझै जारी रहेकाले केही खुल्न बाँकी रहेको उनले बताए ।

प्रहरीले घरधनीमाथि पनि अनुसन्धान गरिरहेको छ । कसरी र कुन माध्यमबाट घरमा यति धेरै रकम जम्मा गरियो भन्नेबारे सोधपुछ भइरहेको बताइएको छ । भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved