काठमाडौं । राजनीतिमा होस् वा अन्य कुनै सामाजिक, व्यावसायिक तथा प्रशासनिक संस्थामा, कुनै पनि व्यक्ति लामो कार्यकाल टिक्न चाहन्छन् ।
राजनीतिक दलका शीर्ष नेताको ‘नेतृत्व भोक’ र ‘पद मोह’ आश्चर्य लाग्दो छ । यस विषयमा ती बारम्बार आलोचित भएका छन् । तर, कसैले ‘सच्चिने’ सङ्केत देखाएका छैनन् ।
नेतृत्व र व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन र अनुभवअनुसार भने कुनै पनि संस्था वा पदमा कुनै व्यक्ति लामो कार्यकालसम्म बस्नु स्वयम् त्यो व्यक्ति, संस्था र समाज सबैका लागि हानिकारक हुन्छ ।
अझ व्यावसायिक क्षेत्रको प्रमुख कार्यकारी अधिकृत त १० वर्षभन्दा बढी कसैलाई बनाउनै हुँदैन भन्ने मान्यता छ । किनकि १० वर्षपछि अधिकांश व्यक्तिमा आफ्नो पदलाई न्याय गर्न सक्ने जाँगर र सृजनशील विचार नै बाँकी रहँदैन ।
राजनीतिक नेतृत्वमा यो मान्यतालाई स्वीकार गर्ने देश अमेरिका हो । अमेरिकामा एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने प्रचलन स्थापित छ । २ कार्यकालको अर्थ त्यहाँ ८ वर्ष मात्र हो, १० वर्ष पनि हैन ।
गैरलोकतान्त्रिक चरित्र भएका देशमा भने एउटै व्यक्ति दशकौंसम्म नेतृत्वमा रहन्छन् । सन् १९९१ को क्रान्तिपछिको रुसी संविधानमा पनि यो प्रावधान थियो । तर, पुटिनले संविधान संशोधन गरेर हटाए । ठीक त्यही काम चीनमा सि चिनफिङले गरे । अहिले उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति छन् ।
लामो कार्यकालका केही फाइदा हुँदै नभएका हैनन् । लामो कार्यकालसम्म पदमा रहेको व्यक्ति अनुभवी बन्छ । संस्था र सङ्गठनका लागि चाहिने सम्बन्ध निर्माण गर्दछ । बाह्य पक्षसँगका सम्बन्धहरू सहज र विश्वासनीय हुन्छन् ।
अन्तर्सङ्गठन समन्वय र स्वीकार्यता बलियो हुन सक्दछ । राजनीतिक तथा सामाजिक संस्थामा उसले एक स्थापित व्यक्तित्व, ‘टावरिङ पर्सनालिटी’ निर्माण गर्दछ । कुनै संस्थामा यस्तो व्यक्तित्व छ भने अरुले धेरै चिन्ता र मेहनत नै गर्नु पर्दैन ।
तर, लामो कार्यकालका फाइदाभन्दा बेफाइदा धेरै हुन्छन् । लामो कार्यकालको नेतृत्व प्रकारान्तले आफ्नै संस्था र अनुयायीका लागि बोझ बन्न पुग्दछ । उसले निर्माण गरेका अनुभव, शक्ति संरचना, गुट र सम्बन्धहरूले नयाँ प्रकारको गतिरोध सृजना गर्दछन् । एक निश्चित बिन्दुमा पुगेर ती सबलता र अवसर हैन, चुनौती र कमजोरीमा परिणत हुन्छन् ।
भनिन्छ— खराब चिजको मात्र हैन, जस्तै असल चिजको पनि अन्त्य आउँछ । किनकि सबै सुरुवात एक दिन अन्तिममा पुग्नैपर्छ । नेतृत्वको पदमा रहेको व्यक्तिको हकमा पनि यो लागू हुन्छ, चाहे नेतृत्व असल र सक्षम नै किन नहोस् ।
व्यवस्थापनशास्त्री भन्छन् कि मूल नेताका रूपमा व्यक्तिको परीक्षण ३ देखि १० वर्षभित्र भइसक्दछ । ३ वर्षभन्दा कम यसर्थ उपयुक्त हैन कि उसले आफ्नो क्षमता र योग्यतालाई पुष्टि गर्ने पर्याप्त अवसर नै पाउँदैन ।
१० वर्षभन्दा बढी यसर्थ उपयुक्त हैन कि उसँग संस्थाका लागि उपयोग गर्न कुनै क्षमता र योग्यता नै बाँकी रहँदैन । त्यसपछिका दिनमा नेतृत्वले गर्ने भनेको पुनरावृत्ति हो, नयाँ र सृजनशील काम हैन ।
लामो समय एउटै पदमा बस्दा व्यक्तिमा कामप्रतिको आकर्षण, उत्सुकता र जाँगर समाप्त हुँदै जान्छ । तर, लोभ भने बढ्दै जान्छ । तल्ला पदमा भएका व्यक्तिलाई बढुवा गरेर यो समस्या हल गर्न सकिन्छ तर, मूल नेतालाई कहाँ बढुवा गर्ने ?
लोभ एक यस्तो भावना हो, जो बढ्न थालेपछि बढेको-बढ्यै गर्छ । बढ्दो लोभले नेतृत्वमा अनेक भ्रम र द्विविधा सृजना गर्दछ । धेरै जसो नेतृत्वको पतनको कारण लोभ र लोभबाट सृजित गलत निर्णय हुन्छन् ।
मनमा लोभ छ भने बाहिर लुकाउन खोजेर लुक्दैन, कुनै न कुनै प्रकारले प्रकट भइहाल्छ । र, अक्सर लोभी मानिसलाई अनुयायीहरूले मन पराउँदैनन् । मानिसको आम मनोविज्ञान नै हो कि ऊ आफू लोभी हुनु स्वाभाविक र जायज ठान्दछ तर, आफ्नो नेता वा आदर्श व्यक्ति भने लोभी नभइदिए हुन्थ्यो भन्ने कामना गर्दछ ।
बढ्दो उमेर र अनुभवले नयाँ सिकाइका लागि बाटो रोक्दछन् । उमेर एक जैविक प्रक्रिया पनि हो । मानसिक र शारीरिक स्वास्थ्य सहीसलामत छ भने उमेर समस्या हुँदैन तर, प्रकृतिको नियममा आम रूपमा यस्तो हुँदैन ।
उमेरसँगै रोग, शारीरिक तथा मानसिक शिथिलता अनिवार्यतः थपिन्छन् । व्यक्तिमा नयाँ ज्ञानप्रतिको रुचि र सीपको सिकाइ कमजोर हुन्छ । जबकि संस्थाको नेतृत्व आवश्यकताले भने नयाँ-नयाँ ज्ञान, सृजनशील सोच, प्रविधि र सीपको माग गरिरहेको हुन्छ ।
लामो कार्यकालको नेतृत्वको अर्को खराबी के हो भने संस्थागत प्रक्रिया कमजोर र व्यक्तिगत प्रभुत्व बलियो हुन्छ । संस्थामाथि व्यक्ति यसरी हाबी हुन थाल्दछ कि संस्थामा व्यक्ति भएजस्तो हैन, व्यक्तिमा संस्था निहित भएजस्तो स्थिति उत्पन्न हुन्छ ।
कतिपय अवस्थामा यस्तो हुन्छ कि नेतृत्वमा भएको व्यक्ति मात्र हैन, व्यक्तिसँगै संस्था नै असान्दर्भिक हुन्छ । संसारमा त्यस्ता थुप्रै राजनीतिक, सामाजिक तथा व्यावसायिक संस्था थिए, जो कुनै व्यक्तिको कारणले स्थापित भए र व्यक्तिसँगै मरे ।
लामो कार्यकालको नेतृत्वले संस्थाका लागि नयाँ सम्भावनाको खोजी त गर्दैन नै, पुराना अवसरलाई पनि सङ्कुचनमा लैजान्छ । यस्तो बेला अनुयायीले अवश्य नेतृत्वको आलोचना गर्दछन् । तर, नेतृत्वले यस्ता आलोचनालाई अहम्माथिको ठेस ठान्यो, व्यक्तिगत बेइज्जति र अपमानका रूपमा ग्रहण गर्यो भने के गर्ने ?
त्यसपछि अन्तर्सङ्गठन द्वन्द्व बढ्छ । अनुयायीबाट नेतृत्व परिवर्तन गर्ने गराउने प्रयत्न हुन थाल्दछ । यो प्रक्रिया निकै अस्वस्थ्यकर पनि हुन सक्दछ । यस्तो अवस्था नआओस् भनेर नेतृत्वले आफैँ बुझ्नु राम्रो हो ।
व्यक्तिमा नेतृत्वको भोक, पदको महत्वाकाङ्क्षा, सार्वजनिक स्वीकार्यता र उन्नतिको चाहना हुनु मानवीय मनोविज्ञानका दृष्टिकोणले अनुचितचाहिँ हैन । यस्तो चाहना कसैले नराख्ने हो भने संस्थाहरू बन्दैनन् । सामाजिक गतिशीलता हासिल हुँदैन । सभ्यताले प्रगति गर्दैन । तर, त्यस्तो चाहनाको सीमा के हो ? यो चाहिँ सबैले बुझ्नुपर्ने हुन्छ ।
निरन्तर १० वर्ष कुनै संस्थाको मूल नेतृत्वमा बस्दा व्यक्तिले प्राप्त गर्नु पर्ने सार्वजनिक स्वीकार्यता, सेवा सुविधा, इज्जत प्रतिष्ठा पाइसकेको हुन्छ । त्यसपछिका दिनमा त्यो घट्न थाल्ने हो, बढ्ने हैन । यो यथार्थलाई बुझ्न र आत्मसात गर्न एक प्रकारको उदार मनोभावना र लोकतान्त्रिक मनोवृत्ति चाहिन्छ । अधिनायकवादी सोच, निरङ्कुश प्रवृत्ति र फासिष्ट चिन्तन भएका मानिसले यो यथार्थ बुझ्न सक्दैनन् ।
यही कारण हो कि एक समयमा कतिपय लोकप्रिय, असल, सफल र क्रान्तिकारी नेताहरू अर्को समयमा विरोध र आलोचनाको तारो बन्दछन् । तिनले पाइसकेको प्रतिष्ठा पनि गुमाएर बदनाम भएर मर्नुपर्ने हुन्छ ।
नेतृत्वको आकाङ्क्षा नै नभएको व्यक्तिले पनि संस्था, समाज र राष्ट्रका लागि ठूलो योगदान गर्न सक्दैनन् । तर, नेतृत्व भोक र लोभको सीमा बुझेन भने त्यो आत्मघाती हुन्छ ।
जति विश्लेषण गरे पनि अन्ततः अर्थ उही हो कि निश्चित समयपछि नेतृत्व परिवर्तन संस्था र समाजका लागि मात्र हैन, स्वयम् व्यक्तिका लागिसमेत उचित हुन्छ । दुर्भाग्यको कुरा हो कि देशका शीर्ष नेताले यति सानो र सरल सत्य पनि बुझिरहेका छैनन् । तसर्थ, ती विरोध र आलोचनाको तारो बन्दै गइरहेका छन् । इतिहासमा तिनले गरेका योगदानका लागि प्राप्त इज्जत घट्दो छ र दिनदिनै बदनाम हुँदै गएका छन् ।
राजनीतिक होस् वा सामाजिक, आर्थिक होस् वा अन्य कुनै संस्था; दुई कार्यकाल र १० वर्षभन्दा बढी मूल नेता नहुने प्रचलन स्थापित गर्ने हो भने देशको प्रगतिमा धेरै ठूलो योगदान पुग्न सक्दछ ।
व्यवस्थापनशास्त्री जिम कोसिन्सको भनाइ छ— आज तपाईं कुनै संस्थाको मूल नेता हुनुहुन्छ भने तपाईंको सबैभन्दा ठूलो सफलता यो हुन्छ कि पद छोड्दा संस्थालाई कुनै हानि हुँदैन भन्ने निश्चिन्त मन लिएर छोड्न सक्नुहोस् । यदि एउटा यस्तो उत्तराधिकार तपाईंले सङ्गठनभित्र जन्माउन सक्नुभएको छैन भने तपाईं असल र सफल नेतृत्व हैन ।
असल र सक्षम अविछिन्न उत्तराधिकारको चिन्ता हरेक संस्थाको मुख्य चिन्ता हो । असल नेतृत्वले संस्थाको चिन्ता गर्दछ, लोभी नेतृत्वले पदमा टिक्ने र लामो कार्यकाल नेतृत्वमा रहने कुराको । समय-समयमा सहज नेतृत्व हस्तान्तरण तथा परिवर्तन आधुनिक लोकतान्त्रिक समाज र राष्ट्रका लागि अपरिहार्य तत्त्व हो ।
Facebook Comment
Comment