काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरु स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले कर्णाली प्रदेशका राजमार्गहरु मृत्यु राजमार्ग बनेका बताए । उनले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।
‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्यु राजमार्ग वहन गर्न दिएको हो ? त्यसैले म भन्न चाहन्छु, यदि यही तरिकाले सरकारले गर्यो भने कर्णालीका प्रदेशका सांसदहरुले संसद् घेराउ गर्नुपर्ने छ । मन्त्रालय घेराउ गर्नुपर्ने छ’, उनले भने ।
उनले यदि सचेत भएर कर्णालीका बाटाहरूमा बजेट छुट्याइएन भने आफूहरू जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको जानकारी गराए ।
Facebook Comment
Comment