नारायणगढ मुग्लिन सडकखण्डका २५ स्थान पहिरोको जोखिममा

नेपालभ्युज

नारायणगढ मुग्लिन सडकखण्डका २५ स्थान पहिरोको जोखिममा
फाइल फोटो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको भरतपुरस्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार, तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।

सडकखण्डका नाम्सी, कालीखोला र तुइन पुलको पहिरो नियन्त्रणका निम्ति ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।

यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । २०८० सालको वर्षामा यो सडकखण्डमा ३० स्थानमा र अघिल्लो ७९ सालमा ३६ पटक पहिरो खस्दा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो ।

कार्यालयका इन्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेतीदोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए । सोही सडकखण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रणको अध्ययन गरिरहेको छ ।

उक्त सडकखण्डकै खहरेखोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न सो संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved