तानावाइको गुल्सारी र घनश्याम भुसाल
सम्भव असम्भव जे भएपनि एकपटक प्रधानमन्त्री भएका र लामो समय एमालेको महासचिव रहेर सत्ताको स्वाद लिएका माधवका आकाङ्क्षाहरू उनको उमेरभन्दा बलशाली छन् । माधवलाई हराएर घनश्याम भुसाल एकीकृत समाजवादीको अध्यक्ष भए भने त्यसले उनको पार्टी र नेपालको राजनीतिमा के फरक पर्छ ?
कजाख लेखक चिंगिज आइत्मातभको विश्वप्रसिद्ध उपन्यास छ— बुढो र घोडा (Farewell to Gyulsary) । उपन्यासमा लेखकले नयाँ तन्नेरी घोडाले कसरी बुढो घोडालाई लडेर जित्छ र बथानमा उसको नेतृत्व स्थापित हुन्छ भन्ने विस्तारमा चर्चा गरेका छन् ।
गुल्सारी नामको घोडाले त्यसरी नै आफ्ना अग्रजबाट नेतृत्व खोसेको हुन्छ । घोडा बथानमा नयाँले पुरानोसँग घच्ची हालेर नजितेसम्म तिनले नयाँलाई हेप्न र फाँ-फुँ गर्न छाड्दैनन् । यस्तो जितुवा घोडा आफ्नो बथानको रक्षक पनि हो ।
घोडाको जवानी, बृद्ध अवस्थाको कथा र बुढो भेडी गोठालो तानावाइको यो कहानीमा मानिसका जीवनका उकाली ओरालीका मर्मस्पर्शी सन्दर्भ छन् । मानिस र घोडाका हार्दिक सम्बन्धहरूको रेखा छ, बुढो हुँदाका समान पीडा र दुःख छन् ।
यहाँ भने नेपालको संसदीय राजनीतिको एउटा सानो शक्ति रहेको नेकपा (एकीकृत समाजवादी) मा सम्भावित शक्ति सङ्घर्षको कुरा गर्न लागिएको हो । नेपालका राजनीतिक दलमा नेतृत्व हस्तान्तरणको प्रक्रियामा देखिएका पछिल्ला प्रवृत्ति हेर्दा उदाउँदो पुस्ताले खास ठाउँमा पुगेपछि पुरानो पुस्तासँग झडप नगरी नेतृत्व परिवर्तन भएको देखिएको छैन ।
नेपाली कांग्रेसमा कृष्णप्रसाद भट्टराई र गणेशमानबाट गिरिजाप्रसादले त्यसरी नै नेतृत्व खोसेका थिए । यता एमालेमा केपी शर्मा ओलीले तीन पटकको प्रयासमा संस्थापनबाट अध्यक्ष पद आफ्नो पोल्टामा पारेका थिए । मतदानमार्फत लडेरै उनले आफ्ना समकालीन भएपनि पार्टी सत्तामा रहेका पुरानालाई पराजित गरेका हुन् ।
माओवादी नेता प्रचण्डलाई कसैले आन्तरिक रूपमा चुनौती दिएको त देखिन्न तर, उनी नै नेतृत्वमा आफ्नो विकल्प नभएको भन्दै निकै जुनियर नेतालाई हप्कीदप्की लगाइरहेका भेटिन्छन् । सबै नेतामा कमरेड मोहन विक्रम सिंहको जिनेटिक लिगेसी छ जस्तो देखिन्छ, जो आफ्नो आयुले भ्याउन्जेल नेतृत्वमा बस्न चाहन्छन् ।
केही दिन पहिले एउटा पत्रिकामा एकीकृत समाजवादीभित्र माधवकुमार नेपाल र झलनाथ खनालले अध्यक्ष हुन गरिरहेको जोरजुलुमलाई महासचिव घनश्याम भुसालले चुनौती दिन खोजेको भन्ने समाचार थियो । मलाई अलिकति चासो लाग्यो । आफ्नो पुस्ताका भुसाल जुन भएपनि एउटा पार्टीको नेतृत्वमा आउने सम्भावनाको जोखाना हेर्न मन लाग्यो । आम जनतामा खासै अपिल गर्न नसकेको यो पार्टीको नेतृत्वका लागि कमरेड जेएन र कमरेड नेपालको लालसा देखेर दिक्क पनि लाग्यो ।
यो दृष्य हेर्दा त्यही उपन्यासको घोडा गुल्सारीका कहानीहरूको सम्झना हुन्छ । माधवकुमार नेपाल नेकपा मालेको कोअर्डिनेशन केन्द्र काल (२०३१) बाट पार्टीको शीर्ष तहमा छन्, जतिबेला उनी पच्चिसे उमेरका पनि भएका थिएनन् । मदन भण्डारीको निधनपछि उनी १५ वर्ष निष्कण्टक एमालेका महासचिव भए ।
व्यावहारिक राजनीतिमा माधवकुमार नेपालले गरिरहेको प्रयास जुन अन्तिमपटक प्रधानमन्त्री या अरु कुनै राजकीय पदमा जाने लालसासँग जोडिएको हुनसक्छ । वास्तविकता के हो भने उनीसँग न समाजलाई देखाउने सपना छ, न जनतालाई गर्ने अपिल व्यक्तित्व ।
२०७१ को नवौं महाधिवेशनका समयमा कमरेड केपी ओलीसँग अध्यक्षमा पराजित भएका उनले २०७८ मा पार्टी विभाजन गरे र अध्यक्ष भइराख्ने अभिलाषा पूरा गरे । हामी सक्रिय राजनीतिमा नरहेकाहरूलाई यसरी हात्तीबाट बोकाजत्रो पार्टीमा सरेका बहत्तर वर्षे माधव फेरि अध्यक्ष हुन बल गरिरहेका छन् भन्ने सुन्दा एकप्रकारको दिगमिग उत्पन्न हुन्छ ।
व्यावहारिक राजनीतिमा माधवकुमार नेपालले गरिरहेको प्रयास जुन अन्तिमपटक प्रधानमन्त्री या अरु कुनै राजकीय पदमा जाने लालसासँग जोडिएको हुनसक्छ । वास्तविकता के हो भने उनीसँग न समाजलाई देखाउने सपना छ, न जनतालाई गर्ने अपिल व्यक्तित्व । तर, यिनलाई अझै यो सानो सानो र खुम्चिँदै गएको पार्टीमा नेतृत्व गर्न रहर पुगेको छैन् । सत्ताको आशक्तिले मानिसलाई कसरी तर्कातित बनाउँछ भन्ने एउटा उदाहरण हुन् यी ।
सम्भव असम्भव जे भएपनि एकपटक प्रधानमन्त्री भएका र लामो समय एमालेको महासचिव रहेर सत्ताको स्वाद लिएका माधवका आकाङ्क्षाहरू उनको उमेरभन्दा बलशाली छन् । एमाले र खासगरी ओलीले बाहेक अरु दलले उनलाई यथोचित मान र भाउ दिन्छन् । पार्टीपङ्क्तिमा पनि उनको पक्षमा एउटा शक्ति छ ।
अघिल्लोपटक ओलीलाई सत्ताबाट विस्थापित गर्न दिएको सहयोगको गुणको साटो उनको दललाई संसद्मा १० सिट प्राप्त छ । योचाहिँ प्राकृतिक शक्ति होइन । उनीसँग जे शक्ति छ, त्योचाहिँ अप्राकृतिक भएपनि त्यही १० सिटको तागत हो । उनलाई हटाउँछु र आफैँ अध्यक्ष हुन्छु भनेर बल गर्ने जोसुकैले पनि उनको उपरोक्त सामाजिक राजनीतिक पुँजीलाई पनि चुनौती दिनुपर्ने हुन्छ ।
यहाँ भने काल्पनिक अवस्था अनुमान गरेर एउटा प्रश्नको सेराफेरोमा कुरा गरिनेछ, माधवलाई हराएर घनश्याम भुसाल एकीकृत समाजवादीको अध्यक्ष भए भने त्यसले उनको पार्टी र नेपालको राजनीतिमा के फरक पर्छ ?
भुसालका दुःख-सुख
थोरै घनश्यामको बायोडाटातिर जाउँ । उमेरले साठी कटेर पनि कपाल नफुलेका घनश्याम भुसाल सार्वजनिक मञ्चहरूमा टिभी हुँदो र अरु साना-ठूला कोठे भेलामा भाषण गरिरहेका र आफ्ना विचारको सत्यता स्थापित गर्न प्रयास गरिरहन्छन् । समकालीन राजनीतिमा विचारधारात्मक पक्षलाई महत्त्व दिएर लगातार बहस र छलफल गर्ने र समाजका तत्कालीन चुनौतीहरूको मार्क्सेली निरुपण खोज्ने प्रयास गरिरहेका भेटिन्छन् ।
२०७७ -२०७८ मा तत्कालीन नेकपा र पछि एमालेमा विकसित राजनीतिक घटनाक्रमका समयमा यिनले विभाजनलाई होइन, एकतालाई रोजे । कुनै पनि राजनीतिक उद्देश्यहरू पूरा गर्न ती उद्देश्यहरूप्रति आस्था राख्ने जनसमूह, त्यसलाई कार्यान्वयनमा लैजान निरन्तर लागिपर्ने कार्यकर्ता पङ्क्ति, जनतालाई आश्वस्त पार्नेरी लेख्न तथा बोल्न सक्ने नेताहरूको प्रतिबद्ध समूह चाहिन्छ ।
पार्टी नेतृत्वसँग अनेक असहमति र तिक्ततापूर्ण सम्बन्ध हुँदाहुँदै १० बुँदे सहमती गरेर यिनले पार्टीलाई एकताबद्ध बनाउने बाटो रोजे । संसदीय राजनीतिका दृष्टिले यिनले गरेको निकै महत्त्वपूर्ण निर्णय र सुझबुझ थियो यो ।
भुसालजत्तिका नेतालाई राजनीतिको केन्द्रमा रहिरहन र विचारधाराहरूलाई शक्ति आर्जन गर्ने तहसम्म विकास गर्न पनि यस्तो सङ्गठन महत्त्वपूर्ण हुन्छ भन्ने अवश्य थाहा थियो । यसअघि २०५४ मा गरिएको पार्टी विभाजनले ब्यहोरेको दुर्गतिको भूक्तभोगी पनि हुन् भुसाल ।
पार्टी नेतृत्वसँग अनेक असहमति र तिक्ततापूर्ण सम्बन्ध हुँदाहुँदै १० बुँदे सहमती गरेर यिनले पार्टीलाई एकताबद्ध बनाउने बाटो रोजे । संसदीय राजनीतिका दृष्टिले यिनले गरेको निकै महत्त्वपूर्ण निर्णय र सुझबुझ थियो यो । अनि सबैभन्दा ठूलो गल्तीचाहिँ आफ्नो पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकार भङ्ग गरेर प्रतिपक्षको नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा पुगेर गरेको सनाखत थियो । त्यो असामान्य अवस्थाको बाबजुद पार्टीभित्र बसिरहन उनले गरेको निर्णय जीवनका अभुभवकै शिक्षाबाट प्रेरित हुँदो हो ।
२०३६ साल मंरिरको कुनै दिन यिनका बारेमा पहिलोपटक सुन्दा म पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्दै थिएँ । माले राजनीतिमा जोडिइसकेको थिएँ । नवलपरासीतिरका साथीहरूले धाराप्रवाह बोल्छ, हाइस्कुलको विद्यार्थी हो, अनेरास्ववियु एकताको पाँचौँ रासतसको सदस्य छ र क्याम्पसका विद्यार्थीको पनि नेतृत्व गर्छ । यस्तै के-के सुनाएका थिए ।
यिनलाई मैले पहिलोपटक देखेकोचाहिँ २०४० साल चैतमा कीर्तिपुरको तीनकुनेमा जुल्फी हल्लाएर गफ गरिरहेको बेला हो, कसैले चिनाएको थियो तर, त्यतिबेला बोलचाल भएन । गान्धी भवनमा भएको अनेरास्ववियुको सातौँ राष्ट्रिय सम्मेलनको समापन कार्यक्रम सकेर हामी बाहिर निस्कदै थियौँ । पार्टीमा बहुमतवाला र अल्पमत (गडबडिया) वाला लफडा थियो ।
अनेरास्ववियुको छैटौँ केन्द्रीय समितिका २५ जनामध्ये अध्यक्ष टङ्क कार्कीसहित २१ जनालाई पार्टीले कारबाही गरेर हटाएपछिको सम्मेलन थियो यो । उनीभन्दा अत्यन्त कमजोर व्यक्तिलाई अध्यक्ष बनाइएको थियो सम्मेलनबाट । यिनी कारबाहीमा पनि परेका थिएनन् र सातौँ केन्द्रीय समितिमा पनि बसेनन् । मैले सम्झेसम्म त्यतिबेला पनि यिनले पार्टी या सङ्गठनको विभाजनलाई भन्दा एकतालाई रोजेका थिए ।
पछि यी नवौं केन्द्रीय कमिटिका महासचिव भए । अध्यक्ष तुलबहादुर गुरुङ र कोषाध्यक्ष शङ्कर पोखरेल थिए । केन्द्रीय समितिको बैठकमा घनश्याम(हरू) र शङ्करहरूको बीच अन्तर्सङ्घर्ष चलिरहेको, कुरा नमिलेको जस्तो देखिइहाल्थ्यो । दशौँ सम्मेलनबाट घनश्याम अध्यक्ष हुन चाहन्थे । त्यो दाबी स्वाभाविक थियो । त्यतिकै स्वाभाविक के थियो भने उनी पार्टीको संस्थापन पक्षमा नभएकाले अध्यक्ष पाउन सक्दैनथे ।
लेनिनवादी परम्परामा हुर्केका पार्टीहरूको संस्कृति नै यस्तो थियो । उनले आफूमाथि अन्याय भएको र अपमान गरिएको अनुभूति गरे । म अध्यक्ष मण्डलको सदस्य थिएँ र यो सबै हेरिरहेको थिएँ (हाम्रो काम औपचारिकता पूरा गर्नु थियो, वास्तविक निर्णय बाहिरै पार्टी नेतृत्वले गर्थ्यो) । अन्ततः शङ्करलाई पनि अध्यक्ष हुनबाट रोकियो र तुलबहादुर दोहोरिए । शङ्कर उपाध्यक्ष र घनश्याम महासचिव भए । भुसाल अखिलको अध्यक्ष हुन पाएनन् । उनको राजनीतिक जीवनमा यो एउटा धक्का थियो, सिसिफसको जस्तो ।
२०३९ तिरबाट पार्टीभित्र अल्पमत विपक्षमा रहने एउटा सिलसिला जस्तो बन्यो र उनले लामो समय प्रतिपक्षको भूमिका खेलिरहे । यस्तो प्रतिपक्ष थप कमजोर हुँदै गयो । महाकाली सन्धिका समयमा सहाना प्रधान र वामदेव गौतम पनि पार्टी संस्थापनका विपक्षमा उभिएपछि अचानक पार्टीमा प्रपितक्षको हैसियत र नेतृत्व पनि बदलियो । सिपी मैनाली छायाँमा परे वामदेव अघि लागे । २०५४ मा पार्टी विभाजन भयो । घनश्यामहरू नयाँ मालेको निर्माणमा खटे । तर, यो दल दुई वर्षमै थला पर्यो ।
माले र एमालेबीच एकता गर्न पहिले अगुवाइ गर्ने र छटपटिनेहरूमध्ये घनश्याम पनि थिए । सार्वजनिक मञ्चहरूबाट कम्युनिष्ट आन्दोलनमा नयाँ बहस आरम्भ गर्न प्रयास गरिरहेका थिए । विचारधाराको मोर्चामा पनि उनी खटिरहेका थिए । माओवादी आन्दोलनसँग यिनको असहमति थियो । एमालेमा पनि पूर्ण समाहित हुन सकिरहेका थिएनन् । त्यसबीचमा यिनले लेखनमार्फत वैचारिक बहस जारी राखे ।
समकालीन नेपाली समाजको मार्क्सवादी व्याख्या गर्दै दुईवटा पुस्तक लेखे । उनले दलाल पूँजीवादलाई नेपाली समाजको मुख्य समस्याका रूपमा चित्रित गर्न सम्पूर्ण समय लगाए । अर्को उनले नेपाली समाजलाई पुँजीवादी चरित्रको समाजका रूपमा बुझ्नुपर्ने बेला भएको भन्दै अर्धऔपनिवेशिक र अर्धसामन्तीवाला निरूपणलाई चुनौती दिइरहे । प्राज्ञिक क्षेत्रमा प्रा. चैतन्य मिश्रले गरिरहेको यो बहसलाई राजनीतिक तहमा कार्यसूची बनाउने काममा घनश्यामको महत्त्वपूर्ण भूमिका छ ।
२०६० वरपरबाट यिनले गरेको अर्को महत्त्वपूर्ण कामचाहिँ देशभरका युवालाई मार्क्सवादबारे पढाउनु पनि हो । खासगरी मार्क्सको दोस्रो जन्म शतवार्षिकी समारोह समितिका नाममा यिनले एउटा सङ्गठन बनाए र त्यसको ब्यानरमा एमाले र एमालेबाहिरका पनि मार्क्सवादप्रति रुचि राख्ने युवालाई प्रशिक्षण दिने काम गरे । यसले मार्क्सवादी झुकाव राख्ने, ऐतिहासिक भौतिकवादलाई विश्लेषण पद्धतिका रूपमा अङ्गाल्ने क्रिटिकल युवाको एउटा जमात उत्पादन गर्न भूमिका खेल्यो । यिनको समेत पहलमा गुरुकुलले ‘मार्क्स फर्किए’ नाटक प्रदर्शन गरेको थियो ।
विचार र नेतृत्वबीच तालमेल भएन भने विचारधाराले शक्ति आर्जन गर्दैन । २०६५ को बुटवल महाधिवेशनमा घनश्यामका कतिपय वैचारिक कार्यसूचीले पार्टीको आधिकारिक मञ्चमा प्रवेश पाए । तर, त्यसले दस्तावेजको रूपमा स्वीकृति पाएन । झलनाथ अध्यक्षमा निर्वाचित भएपछिका केही समय भने घनश्याम पार्टी संस्थापनमा पुगे र पार्टीको दैनिक नीति निर्माणमा सक्रिय रहे ।
२०७१ को नवौं महाधिवेशनले एमालेको आधिकारिक दस्तावेजमा नेपाली समाजको चरित्र निरूपणको घनश्यामको व्याख्यालाई स्वीकार गर्यो । केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन आवस्यक गणितीय व्यवस्थापनका लागि ओली पक्षले प्रस्ताव पास त हुन दियो तर, नयाँ कार्यसमितिले यसलाई व्याख्या गरेर पार्टीपङ्क्तिमा लगेन । नेपाललाई पुँजीवादी चरणको समाजका रूपमा बुझ्दा जनताको बहुदलीय जनवादको कार्यक्रमिक औचित्य सकिन्छ भनेर बुझ्नेहरू पनि थिए । अहिले पनि कतिपय एमाले नेताहरू नेपाली समाजलाई पुँजीवादी समाजका रूपमा स्वीकार गर्न तयार भइसकेका छैनन् ।
पार्टी विभाजनको अवस्था आइसकेपछि रोक्न घनश्याम र योगेशले निकै प्रयास गरेका थिए । उनीहरू अफ्नो ठाउँमा अरुलाई नै मन्त्री दिएर भएपनि पार्टी जोगाउन ओलीलाई भनिरहेका थिए । माओवादी युवा तुर्कहरूसँग संवाद गरिरहेका थिए । तर, ओली र प्रचण्डको सङ्घर्ष रोकिएन ।
नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिव त भए तर, उनी सदाबहार प्रतिपक्ष जस्ता रहे । एउटा प्रयोगका रूपमा केपी शर्मा ओलीले योगेश भट्टराईसँगै घनश्याम भुसाललाई क्याबिनेटमा स्थान दिए । उनीहरू माधवकुमार नेपाल समूहका थिए । यसो गर्दा ओलीले माधवकुमार नेपालसँग सल्लाह गरेका थिएनन् । पार्टी अध्यक्ष र संसदीय दलका नेताका रूपमा ओलीको यो कदम उचित नै थियो, जसले पार्टीभित्र प्रतिपक्षको सङ्गठित अस्तित्वलाई खण्डित गर्थ्यो ।
पार्टी विभाजनको अवस्था आइसकेपछि रोक्न घनश्याम र योगेशले निकै प्रयास गरेका थिए । उनीहरू अफ्नो ठाउँमा अरुलाई नै मन्त्री दिएर भएपनि पार्टी जोगाउन ओलीलाई भनिरहेका थिए । माओवादी युवा तुर्कहरूसँग संवाद गरिरहेका थिए । तर, ओली र प्रचण्डको सङ्घर्ष रोकिएन ।
एकपटक अर्कै सन्दर्भमा कुरा हुँदा प्रचण्डले यो पङ्क्तिकारसँग भनेका थिए— ‘त्यतिबेला माधवहरूको बढी नै विश्वास गरिएछ । पार्टी विभाजन गरेर गल्ती भएछ भन्ने अहिले महसुस हुन्छ ।’ कहीँ न कहीँ यो गल्तीको आभास ओलीलाई पनि भएकोले हो प्रचण्डसँग पछिल्लो निर्वाचनपछि गरिएका दुईपटकका गठबन्धन ।
जब पार्टीमा प्रधानमन्त्री ओलीको संसद् विघटनको पक्ष र विरोधी पक्षका रूपमा कित्ता अलग भयो, त्यसपछि भुसाल सडकमा ओर्ले र अध्यक्ष ओलीका विपक्षमा खुलेर लागेका थिए । प्रधानमन्त्रीका रूपमा ओलीले आफ्नो राजनीतिक पुँजीको प्रयोग गरेर नजोगिएको भए सम्भवतः उनको राजनीतिक यात्रा सकिन्थ्यो । अहिलेको एमाले पक्ष अल्पमतमा घचेटिन्थ्यो ।
केही संवैधानिक संस्थाको आड लिएर ओलीले विस्तारै पहलकदमी आफ्नो हातमा पारे । पहिले माओवादी अलग्गियो अनि माधव-झलनाथ समूह अलग्गिने तयारी चल्यो । यस क्रममा हो घनश्यामले पार्टी एकताको महत्त्वलाई आत्मसात गरेको र एकता बचाउन अन्तिमसम्म खटेको । माधवकुमार नेपाललाई ओलीसँग बसेर केही हात लाग्दैन भन्ने लागेर छुट्टिन बल गरे र गए तर, घनश्याम आफ्ना सहयोगीसहित एमालेमै बसे ।
पार्टीको चितवन महाधिवेशनमा ओलीले गर्न खोजेको शक्ति केन्द्रीकरणका विपक्षमा उभिएपछि घनश्यामका दुःख फेरि सुरु भए । उनी उपाध्यक्षमा उठे र पराजित भए । आफैँले समेत बनाएको पार्टीमा लागतार छेउ लागेपछि सिसिफसको अनुभूति गर्नु स्वाभाविक थियो होला । यद्यपि उनलाई स्थायी समितिमा स्थान दिइयो । २०७९ को संसदीय निर्वाचनमा टिकट दिन अस्वीकार गरेपछि भने उनले पार्टीमा आफ्नो सम्भावना सकिएको ठाने र बाहिरिए । त्यसपछि हो उनी एकीकृत समाजवादी प्रवेश गरेको र महासचिवको भूमिका पाएको ।
यही पृष्ठभूमिमा उनी अहिले एकीकृत समाजवादीको अध्यक्ष हुन चाहेको देखिन्छ ।
घनश्यामका केही नोटेबल कमजोरी छन् । कतिपय निर्णय वस्तुगत विश्लेषणबाट होइन, आवेश र भावनामा बगेर गर्छन् । पहिले पार्टी विभाजनको पृष्ठभूमि बनाए, अन्तिममा विभाजन रोक्न प्रयास गरे, उमेदवारीमा चित्त नबुझ्नेबित्तिकै कांग्रेस र माओवादीको समर्थनमा स्वतन्त्र रूपमा चुनाव लडे र पराजित भएपछि एकीकृत समाजवादीमा गए ।
घनश्यामको चर्चा गर्दा मैले सुने/जानेसम्म उनी अहिलेसम्म दलाल र कमिसनखोर पुँजीसँगको सङ्गतबाट बचेका छन् । देशको कानून र लोक-मान्यताभन्दा भिन्न शक्तिको अभ्यास गर्नबाट आफूलाई बचाएका छन् । व्यक्तिगत जीवनशैली सहज र साधारण छ, त्यसमा पद-प्रतिष्ठाले जन्माउने उच्चवर्गीय दुर्गन्ध भेटिँदैन । तर, पार्टीको नेतृत्व पाएपछि अहिलेकै निर्वाचन प्रणाली, संसद्का गणितीय खेल र जनतालाई प्रभावित गर्न खेलिने अर्थपूर्ण दाउपेचबाट उनी कसरी जोगिएलान् भन्ने परीक्षण हुन बाँकी छ ।
घनश्यामका केही नोटेबल कमजोरी छन् । कतिपय निर्णय वस्तुगत विश्लेषणबाट होइन, आवेश र भावनामा बगेर गर्छन् । पहिले पार्टी विभाजनको पृष्ठभूमि बनाए, अन्तिममा विभाजन रोक्न प्रयास गरे, उमेदवारीमा चित्त नबुझ्नेबित्तिकै कांग्रेस र माओवादीको समर्थनमा स्वतन्त्र रूपमा चुनाव लडे र पराजित भएपछि एकीकृत समाजवादीमा गए । यी सबै एक डेढ वर्षका घटना हुन् । यसरी हेर्दा उनमा छिटो आवेग र उत्तेजनामा आउने समस्या छ जस्तो देखिन्छ । जहिले पनि हतारमा देखिन्छन् । पार्टी निर्माण र राजनीतिबाहेक उनले अरु कुनै पेशा या व्यवसाय या सरसङ्गत गरेको भने सुनिएको छैन ।
सम्भावना
माधवकुमार नेपाल र घनश्यामबीच झन्डै दश वर्षको उमेरगत भिन्नता छ । लगभग त्यति नै राजनीतिक जीवनको आयु पनि । ४१ वर्षको उमेरमा माधवकुमार नेपाल एमालेको महासचिव भए । घनश्याम कार्यकारी अध्यक्ष रहेको पार्टीमा महासचिव हुन पनि ६१ वर्षको पुग्नुपर्यो ।
२०६५ पछिको केही वर्ष हो, माधवकुमार नेपाल पार्टीमा प्रतिपक्षमा रहेको । घनश्यामचाहिँ अहिले महासविच हुनुभन्दा अघिको लगभग सम्पूर्ण राजनीतिक जीवन प्रतिपक्षको भूमिकामा रहे । २०३९ देखि २०५४ सम्मको १५ वर्षमा घनश्याम पार्टी संस्थापनबाट पेलिएका थिए भने यसरी पेल्नेमा सबै समयमा कमरेड माधवकुमार नेपालको भूमिका छ । २०७१ को महाधिवेशनबाट हो उनीहरू एउटै समूहमा देखा परेको ।
जेल जीवन बिताएका, अध्ययनशील, निरन्तर सार्वजनिक बहसमा रहने र लेख्ने-बोल्ने भएकोले घनश्यामप्रति शहरको पढालिखा बौद्धिक वर्गको एउटा हिस्सामा सहानुभूति छ । त्यस्तो सहानुभूति या उनले केही गरून् भन्ने अपेक्षा पार्टी बाहिरको वामपन्थी पङ्क्तिमा पनि छ जुन, माधवकुमार नेपालमा छैन ।
माधवकुमार नेपालको तागत दुईवटा किलामा अडिएको छ । पहिलो, उनको राजनीतिक इतिहास । एमालेजस्तो शक्तिशाली दलको लामो समय नेता रहेका र देशको प्रधानमन्त्री भइसकेका कारण उनलाई राजनीतिक एलिटहरूको क्लबमा स्वागत गरिन्छ । घनश्यामलाई त्यस्तो अवसर प्राप्त छैन ।
दोस्रो, माधवकुमार नेपालले २०३१ देखि माले एमालेको नेतृत्व गर्ने सिलसिलामा र पार्टी विभाजनको ठिक्क पहिलेसम्म संरक्षण गरेका कार्यकर्ताको एउटा पङ्क्ति उनीसँग छ । सार्वजनिक जीवनमा उनले संरक्षण गरेका, नियुक्त गरेका, कुनै खास काम सल्टाइदिएर गुण लगाएका उद्योगपति, व्यापारी, कमिसन एजेण्ट र एउटा सानो बौद्धिक तप्का पनि उनीसँग अझै सहानुभूतिपूर्वक हेर्ने गर्ला ।
घनश्यामको अर्को तागत भनेको उनले अध्यक्ष भए भने निर्माण हुने पार्टीको छवि र उनले ल्याएका दस्तावेजमा रहेका केही भिन्न प्रस्तावनाहरू हुन् । घनश्याम दाबी गरिरहेका छन् कि उनी नयाँ खाले कम्युनिष्ट पार्टी बनाउन चाहन्छन् ।
यता घनश्यामका लागि एउटा चुनौती १० बुँदे सहमति गरेपछि एमालेमै रोकिएका र पछि उनीसँग एकीकृत समाजवादीतिर नगएका कार्यकर्ता समूहको अभाव हो ।
घनश्यामको अर्को तागत भनेको उनले अध्यक्ष भए भने निर्माण हुने पार्टीको छवि र उनले ल्याएका दस्तावेजमा रहेका केही भिन्न प्रस्तावनाहरू हुन् । घनश्याम दाबी गरिरहेका छन् कि उनी नयाँ खाले कम्युनिष्ट पार्टी बनाउन चाहन्छन् । दलाल या अनुत्पादक पुँजीलाई नियन्त्रण गर्दै राष्ट्रिय औद्योगिक पुँजीको विकास गरेर समाजवादको यात्रामा जान चाहन्छन् ।
यससँगै स्थानीय तहका कमिटी र पार्टी सदस्यलाई निर्णायक बनाएर अहिलेका अरु दलभन्दा भिन्न एउटा डेमोक्रेटिक गतिशीलतासहितको दल बनाउन चाहन्छन् । यस मानेमा उनले पार्टी र आफूलाई प्रष्ट गन्तव्य पहिल्याएको जस्तो लाग्छ । यदि यसलाई तल्लो तहसम्म सम्प्रेषण गर्न सके भनेचाहिँ उनले आफ्नो पक्षमा माहोल सिर्जना गर्न सक्छन् ।
घनश्याम अध्यक्ष हुँदैमा के हुन्छ ?
अहिलेको एकीकृत समाजवादी केही थाके हारेका, एमालेमा ओली नेतृत्वमा पुगेपछि प्रतिपक्षमाथि भएको दमनका कारण किनारामा धकेलिएका र आफ्नो औकात र हैसियतअनुसार पार्टी भित्र र सार्वजनिक जीवनका पदमा ठाउँ बुकिङ गर्न पार्टीमा बसिरहेकाहरूबाट बनेको छ ।
आम कार्यकर्ता र नेतामा समेत यो पार्टी बन्छ, बनाउनुपर्छ र आफ्नो भविष्य यही पार्टीको शक्तिमा निर्भर छ भन्नेमा विश्वास एकदम कमै छ । उनीहरू आफ्नो भविष्यको सुरक्षा खोजेर एमालेमा फर्किन या एकतामा जान चाहन्छन् ।
यसको मुख्य कारण भने माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले लिएको राजनीतिक कार्यदिशा एमालेकै छायाँकपी जस्तो हुनु हो । गत निर्वाचनमा गठबन्धनको सहयोगमा केही स्थानीय तहका पदमा र सङ्घीय तथा प्रदेश संसद्मा उपस्थिती जनाएपनि आम निर्वाचनमा प्राप्त मतलाई आधार बनाउँदा यो दलको भविष्यमाथि प्रश्न उठेको छ । यस्तो प्रश्नको जवाफ घनश्यामले कसरी दिनेछन् भन्नेमा उनको इन्ट्रीको अर्थ खुल्छ ।
घनश्यामले जित्दा विचारधारात्मक शक्तिको वर्चस्व विस्तार हुने आशा पलाउँछ । राजनीति नै कलरले चिनिने हुनसक्छ । यस्तो भयो भने पछिल्लो ३२ वर्षको पार्टी निर्माणको लयबाट थोरै मोडिने सम्भावना रहन्छ । सार्वजनिक वृत्तमा गैह्रराजनीतिक या अराजनीतिक बहसमाथि हस्तक्षेप हुनसक्छ ।
तर, पनि घनश्यामले जितिहाले भने दुईवटा सम्भावना रहन्छन् । पहिलो, हो उनले जुन दस्तावेज ल्याएका छन्, त्यसले नेपालमा पार्टी निर्माणको खासगरी कम्युनिष्ट पार्टी निर्माणको परम्पारागत ढाँचामा हस्तक्षेप गर्ने आशा बढ्छ । तल्ला कमिटीमा को चुनिने, स्थानीय र प्रदेश तथा सङ्घका निर्वाचनमा कसलाई उम्मेदवार उठाउने भन्ने कुरामा सम्बन्धित तहका पार्टी कमिटी र सदस्यहरू निर्णायक हुनेछन् । तलको पङ्क्ति इम्पावर्ड हुनेछ । यस्तो पद्धति बस्यो भने पार्टी बाहिर रहेको नयाँ पुस्ताको ध्यान आकर्षित हुनसक्छ ।
दोस्रो पक्ष हो, घनश्यामले जित्दा विचारधारात्मक शक्तिको वर्चस्व विस्तार हुने आशा पलाउँछ । राजनीति नै कलरले चिनिने हुनसक्छ । यस्तो भयो भने पछिल्लो ३२ वर्षको पार्टी निर्माणको लयबाट थोरै मोडिने सम्भावना रहन्छ । सार्वजनिक वृत्तमा गैह्रराजनीतिक या अराजनीतिक बहसमाथि हस्तक्षेप हुनसक्छ ।
सम्भवतः यो आजको नेपाली राजनीतिमा अत्यन्त कम सम्भावनाको विषय हो । घनश्यामले आफ्नो पङ्क्तिलाई यसरी मोड्न सके भने योचाहिँ नेपाली राजनीतिका लागि उनको सबैभन्दा महत्त्वपूर्ण योगदान हुनेछ । उनले आफ्नो दलमा नै आफ्नो विचारधाराको परीक्षण नगरिकन अरुलाई कसरी प्रभावित गर्न सक्लान् र ?
महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्षमा दोहोरिँदा अहिलेको गठबन्धनको निरन्तरतामा जोखिम थपिन्छ र वामपन्थी एकताका आधार कमजोर बन्छन् भन्ने कुरा पछिल्ला तीन महिनाका घटनाले पुष्टि गरिसकेका छन् । यस्तो अवस्थामा घनश्याम नेतृत्वमा आउनु र नआउनुले आगामी निर्वाचन (२०८४) मा वामपन्थीका बीच सहकार्य या एकता हुने नहुने प्रश्नमा पनि फरक पर्न सक्छ ।
पर्यवेक्षकीय टिप्पणी
नेपाली समाजको राजनीतिक चेतना र मनोविज्ञानमा अहिलेको फेज भनेको निराशा, पलायन र विघठनको फेज हो । २०६५ सम्म नेपाली समाजलाई क्रान्ति, विद्रोह, परिवर्तनप्रतिको आसावादमा आधारित मनोविज्ञानले डोर्याएको थियो ।
२०१७ पछि हुर्केको नेतृत्वले जनतालाई आफैँले देखाएको सपना पूरा गर्न रोकिरहेको सन्दर्भमा समाजवाद, क्रान्ति जनवाद, जबज, विकास, लोकतन्त्र, संसद्, सङ्घीयता, विचारधारा, भ्रष्टाचारमुक्त समाज, जनताको मुक्ति, विभेदको अन्त्य, साम्राज्यवाद, दलाल पुँजीवाद, त्याग, निष्ठा, बलिदान, आदर्श, देश र जनताको हित, जनयुद्ध, विद्रोह, शहीदजस्ता अनेक राजनीतिक शब्दले अर्थ गुमाउँदै गएका छन् ।
तिनको नयाँ परिभाषा या वैकल्पिक शब्दहरू नखोजी गरिने अपीलले जनतालाई छुँदैन । अहिलेकै जस्तो सङ्गठन, नेतृत्व र अभ्यासको ढाँचाबाट, जुन धेरै हदसम्म क्रोनी क्यापिटालिष्टको सेवामा समर्पित छ, समाजवादतिर हैन प्रगतिशील पुँजीवादतिर जान पनि सम्भव छैन । यस्तो अवस्थाका लागि दाहाल, देउवा, नेपाल, ओली, भट्टराई, खनाल, कोइराला, पौडेल, यादवहरू मुख्य रूपमा जिम्मेवार छन् । माथि उल्लेखित शब्दले जस्तै नेतृत्वका यी थरले पनि अर्थ गुमाएका छन् ।
हाम्रो विकाससम्बन्धी आम बुझाइबारे हालै कर्णाली नदिमाथिको झोलुङ्गे पुलको लठ्ठा चुूँडिएर खच्चड फस्दा सार्वजनिक बहसमा व्यक्त भएको एउटा विम्बले प्रतिनिधित्व गर्न सक्छ । शासकहरूका लागि प्राथमिकतामा भ्यूटावर पर्छ, आम जनताका लागि झोलुङ्गे पुल आवश्यक पर्छ ।
राजनीतिक इतिहासले समयलाई थोपरेको कुराबाट भने हामी भाग्न सक्दैनौँ । वामपन्थी भनिने कित्ताको मात्र कुरा गर्दा व्यावहारिक राजनीतिको बाध्यता के हो भने अहिले नै ओली र प्रचण्डको विकल्प खोज्नु सार्वजनिक खपतका लागि त काम लाग्छ, परिणाम आउँदैन । अहिलेदेखि नै उनीहरूको विकल्पको तयारी थाल्नु भने आवश्यक छ, त्यो पनि विचारधारात्मक बहसका माध्यमबाटै आउने हो ।
यसका लागि घनश्यामले आफ्ना समकालीन वामपन्थी दलका नेता कार्यकर्ता, सार्वजनिक बौद्धिक विमर्शमा रहेका बुद्धिजीविहरूसँग सघन छलफल गरेर वामपन्थी राजनीतिका अबका साझा कार्यसूची तय गर्दै पहल लिनुपर्छ ।
त्यसमा पनि एकल वर्चस्व या स्वामित्वको प्रयास प्रत्युत्पादक हुनसक्छ । यसरी कार्यसूची तय गरेपछि त्यसले कार्यदिशा माग गर्छ, त्यो तय भएपछि नेतृत्वको कुरा आउँछ । यस्तो नेतृत्व सामूहिकतामा आधारित र अन्तर्पार्टी मास डेमोक्रेसीमा आधारित हुनसक्छ ।
एकीकृत समाजवादी, एमाले, माओवादी केन्द्र सबैले गर्नुपर्ने काम यही हो ।
हाम्रो विकाससम्बन्धी आम बुझाइबारे हालै कर्णाली नदिमाथिको झोलुङ्गे पुलको लठ्ठा चुूँडिएर खच्चड फस्दा सार्वजनिक बहसमा व्यक्त भएको एउटा विम्बले प्रतिनिधित्व गर्न सक्छ । शासकहरूका लागि प्राथमिकतामा भ्यूटावर पर्छ, आम जनताका लागि झोलुङ्गे पुल आवश्यक पर्छ । अर्थात् विकास र समृद्धिको मापन र कार्यसूचीमा कसलाई प्राथमिकतामा राखिन्छ भन्ने कुराले वामपन्थी र गैह्रवामपन्थी राजनीतिक शक्तिको पहिचान खुल्नुपर्छ । सबै कम्युनिष्ट पार्टीमा नेता हुन्छु भनेर ताइँ गरिरहेका दोस्रो तहका युवाले बुझ्नुपर्ने कुरा यत्ति हो ।
विद्रोहको राजनीति गरिरहेको सन्दर्भमा विचारधारात्मक विभाजनले शक्ति आर्जन गरेको देखिएको छ । तर, संसदीय कालमा त्यस्तो खासै देखिएको छैन । त्यसैले पनि यस्तो बहस डिस्ट्रक्टिव नभएर कन्स्ट्रक्टिव हुनुपर्छ ।
पछिल्लो राजनीतिक समीकरणलाई जोगाउन सकियो र आन्तरिक रूपान्तरणतिर लैजान सकियो भने यस्तो बहसले वामन्पथीको एउटै दल बन्ने बाटो पनि खुल्छ । यस्तो एकता प्रक्रियाबाट मात्र घनश्यामले आफ्ना तर्कहरूको औचित्य पुष्टि गर्न सम्भव हुनेछ ।
भुसालले गुल्सारीका झैँ आफ्नो नेतृत्व स्थापित गर्छन् कि यसै बुढो हुन्छन्, त्यो परीक्षण पनि यसैबेला हुनेछ ।
स्थानीय तह उपनिर्वाचन : चञ्चल मतदाताले दिएको सन्देश र सङ्केत
लोकतन्त्रको ‘सप्लाई साइड डेफिसिट’
साहित्यको बाटो प्रवेश गरेका माओ
थप लेख
लोकप्रिय (यो साता)
-
१
अस्ट्रेलियाबाट फर्किएलगतै श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ
-
२
नेपालमा वैकल्पिक राजनीति : गठन र विघटनको दुश्चक्र
-
३
टिकटकबाट गायब भए आयुष र एलिजे, गाली सहन नसकेर कि फलोअर बचाउन ?
-
४
अमेरिकामा जन्मिएको आधारमा स्वतः नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा
-
५
नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई हर्क साम्पाङको धम्की
-
६
इजरायली प्रधानमन्त्रीले दिए सिरियाको बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश
-
७
सुध्रिएनन् ‘भाइरल झाँक्री’ प्रकाश भुजेल, जेलभित्रै झारफकु गर्न थाले चिसोका बिरामी !
-
८
गंगा दाहाललाई सञ्जय दत्तको सन्देश: स्मितालाई बिहेको शुभकामना, चाँडै भेट्न आउने वाचा
न्यूज अपडेट
-
आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका नेपाली युएईबाट पक्राउ
-
पर्सामा रविको बयान सकियो, बुधबार पोखरा फिर्ता पठाइने
-
वेष्टइण्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने
-
एमालेले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
-
विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन
-
उपनिर्वाचनबाट शहरी क्षेत्रमा धक्का लागेको एमालेको निष्कर्ष
Facebook Comment
Comment