काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् ।
राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले यही जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ ।
भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
उनले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
Facebook Comment
Comment