बिना कुनै हिच्किचाहट म यो कुरा भन्न गर्न चाहन्छु कि संसदीय मोर्चामा वामपन्थ आज राम्रो अवस्थामा छैन । स्वतन्त्रतापछिको पहिलो आम चुनावमा पनि हामी दोस्रो ठूलो पार्टी थियौँ । यसबीच उतारचढाव त भए तर, यति कमजोर कहिल्यै थिएनौँ ।
भलै कि अघिल्लो चुनावमा हाम्रो स्थिति योभन्दा पनि खराब थियो । अहिलेको चुनावमा त थोरै सुध्रिएको हो । यसको कारण के हो त, हामी यसको पहिचान गर्दैछौँ ।
पहिलो कुरा त हाम्रै कमजोरी हो । हामीले जनान्दोलन विकासित गर्न, मान्छेमा आत्मविश्वास बढाउन सकेनौँ । हाम्रो देशमा अहिले यस्तो ध्रुवीकरण छ, जो कम्युनिष्ट पार्टीलाई अलगअलग गर्ने हतियार बनेको छ । हामीले यो ध्रुवीकरण तोड्न सकेनौँ ।
दोस्रो महत्त्वपूर्ण बदलिएको परिस्थिति र मैदानमा कम्युनिष्ट पार्टीले कसरी खेल्न र टिक्न सक्दछ, त्यसको पनि अध्ययन गर्न जरुरी छ । देशमा चुनावको प्रणाली यस्तो बनाइदिएको छ कि हजारौं करोड खर्च गर्नुपर्ने हुन्छ । मिडिया प्रबन्धन गर्न, पोलिङ बुथको प्रबन्धन गर्न जसरी पैसा बगाउन पर्छ, त्यो हाम्रा लागि एक अकल्पनीय कुरा भएको छ । ‘कर्पोरेटिज्म’ बढेको छ ।
पहिले हाम्रो पार्टीको तरिका सिधै जनतामा जाने थियो । सडकमा जाने, वस्तीमा जाने सिधा सम्पर्क बनाउने गर्थ्यौँ । विगत २०-२५ यता देशमा यस्ता थुप्रै कानून आएका छन्, जसले यस्ता गतिविधि गर्न कठिन बनाएका छन् । अब कम्युनिष्टहरू जनताबीच कसरी जाने त ? पैसा हामीसँग छैन, मिडिया हामीसँग छैन, जो तथाकथित रूपमा मुख्य तरिका हुन् । जस्तो कि हामी शहरका पर्खालमा भित्ते लेखन गर्थ्यौँ, नारा लेख्थ्यौँ, जनताका दु:ख लेख्थ्यौँ, माग लेख्थ्यौँ । देश र शहरलाई सुन्दर बनाउने नाममा अहिले पर्खालमा लेख्न पाइँदैन ।
हाम्रो त राजनीतिक संवाद र विचारधाराको प्रवाह नै रोकियो । मेरो शहरमा प्रत्येक हप्ता कुनै न कुनै चोक, कुनै न कुनै इलाकामा आमसभा हुने गर्दथ्यो । म आफैँ भियतनाम युद्ध विरोधी, त्यस्तै एक सभाको स्रोताबाट कम्युनिष्ट विचार र पार्टीप्रति आकर्षित भएको थिएँ । आज यसो गर्न असम्भव भएको छ । यी कारणले कम्युनिष्ट पार्टीलाई संसदीय राजनीति गर्न निकै अप्ठ्यारो भएको छ ।
कम्युनिष्ट पार्टी र विचारका लागि जुन ऐतिहासिक, शानदार र सुनौलो समय थियो, त्यो पनि अब रहेन । त्यो बेला साहित्यिक तथा सांस्कृतिक आन्दोलन बलियो थियो । त्यसले मान्छेको सोचमा रहेको जडता तोड्दथ्यो । कविता, कथा, नाटक, सिनेमामा कम्युनिष्ट विचारको प्रभाव बलियो थियो ।
आज यी चिज समाप्त भए त म भन्दिनँ तर, कमजोर भएका छन् । सांस्कृतिक मोर्चामा हाम्रो हस्तक्षेपकारी भूमिकामा कमजोरी भएका छन् । मिडिया त्यो बेला पनि हाम्रो पक्षमा थिएन । तर, आज जति विपरीत र विपक्षमा पनि थिएन । ग्राम्स्कीले भनेको वर्चस्व सिद्धान्त आज नयाँ तरिकाले क्रियाशील छ ।
ग्राम्स्कीको भनाइ थियो कि हाम्रो सङ्घर्ष आर्थिक मोर्चाको सङ्घर्ष मात्र हैन, सोचमा रहेको वर्चस्वविरुद्धको सङ्घर्ष पनि हो । त्यसलाई हटाउन हामी समाजवाद पर्खिन सक्दैनौँ । वर्चस्वविरुद्धको सङ्घर्षको मोर्चा आजैदेखि बलियो हुनु पर्दछ ।
यो सही हो कि हामीले ‘मार्केटिङ’ को कामलाई चुस्त, दुरुस्त बनाउन सकेनौँ । एक इतिहासकारको एक रोचक भनाइ छ— मान्छेले सबै चिज सधैँ सम्झना राख्दैनन्, लगातार याद दिलाउनु पर्दछ ।
यदाकदा मलाई यस्तो पनि लाग्छ कि हामी जस्तो भाषामा जनतालाई कुरा बुझाउन खोज्छौँ, त्यसमा पनि आमूल परिर्वतन जरुरी छ । हामी जुन बौद्धिक स्तरका कुरा गर्दछौँ, त्यसले काम गरिरहेको छैन । हामीले जनस्तरको भाषामा आफ्नो कुरा भन्न सक्नु पर्नेरहेछ । हाम्रो भाषाले जनतासँग सिधै ‘कनेक्ट’ गर्न सक्नु पर्नेरहेछ ।
हामीले सामाजिक सञ्जाल र युट्युबको पनि राम्रो प्रयोग गर्न सकेनौँ । जतिखेर देशको यो संविधान बनेको थियो, त्यतिखेर हामीले यसको निकै आलोचना गरेका थियौँ । हामी यसलाई ‘पुँजीवादी तथा सामन्ती’ संविधान भन्थ्यौँ । त्यो ठीक कुरा थियो । आज पनि हाम्रो आधारभूत अडान यही हो ।
तर, यसबीच एक व्यापक बदलाव आयो । यसबीच यस्ता संवैधानिक तथा कानूनी परिवर्तन भए, जसले एकाधिकार पुँजीवादलाई अझ बढ्ने मौका दियो । तर, यी यावत् सीमाका बाबजुद यो संविधानले हामीलाई दुई चिज दिएको छ । जनान्दोलन विकसित गर्ने स्पेश दिन्छ । त्यो हो, लोकतन्त्र । लोकतन्त्रले राजनीतिक तथा सङ्गठनात्मक स्वतन्त्रता दिन्छ । दोस्रो– धर्मनिरपेक्षता हो ।
तर, भाजपाको उदयपछि यी दुवै चिजप्रति शङ्का उत्पन्न भयो । यी दुई चिज गुम्यो भने झनै नराम्रो होला भन्ने डर कम्युनिष्ट पार्टीमा पनि पस्यो । हिजो हामीले संविधानको आलोचनाबाट जनमत बनाएका थियौँ । अब हामी संविधानको रक्षक जस्तो देखियौँ । हाम्रो वैकल्पिक प्रस्ताव कमजोर भयो । तसर्थ, जनतालाई हामी यही संविधानको पक्षधर हौँ, आलोचक हैनौँ भन्ने पर्न थाल्यो ।
हामीले यो सीमा कोर्न सकेनौँ, के-के कुरामा हामी संविधानका समर्थक हौँ र के-के कुरामा विरोधी हौँ । तसर्थ, हामी एक वैकल्पिक विचारधारा रहेनौँ कि भन्ने पर्यो । भारत कुनै बेला यस्तो देश थियो, जहाँ अमेरिका वा इजरायलप्रति कुनै सहानुभूति थिएन । अमेरिका विरोधी भावना भारतमा साम्राज्यवाद विरोधी भावनाको एक बलियो परम्परा थियो ।
सन् १९९० पछि यहाँको सत्ताधारी वर्ग चाहे त्यो कांग्रेस होस् वा भाजपा, तिनले यो परम्परा कायम रहन दिएनन् । किनकि सत्ताधारी वर्गको प्राथमिकता र समझदारी अब हिजोको ठाउँमा छैन । अब यी साम्राज्यवादसँग टकराव गर्न चाहँदैनन् । असंलग्न आन्दोलनको त अन्त्येष्टि नै भइसकेको छ । आज राजनीतिक दलहरूमा अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो समझ त छोडौँ, चर्चासम्म हुँदैन ।
हाम्रो अस्तित्व नै यस कारणले छ कि साम्राज्यवादसँग लडेका थियौँ, हाम्रो अन्तर्राष्ट्रिय प्रतिष्ठा यसकारणले छ कि हामीले साम्राज्यवादलाई पराजित गरेका थियौँ। तर, आज मान्छेमा यो सोच नै बाँकी रहेन । हामी कम्युनिष्टहरूले यो परम्परा बोक्नपर्ने हो ।
मार्क्सवादी भाषामा भन्दा सन् १९९१ अघि यहाँको बुर्जुवा वर्गको एक हिस्सा सधैँ साम्राज्यवाद विरोधी थियो, अब त्यो रहेन । कम्युनिष्टहरूले पनि यो परम्परालाई बलियो गरी बोक्न सकेनौँ ।
आज भारतको बुर्जुवा वर्गको ध्यान साम्राज्यवादसँग मिलेर आफ्नो धन्दा चलाउनतिर छ । भाजपा अन्तर्राष्ट्रिय मञ्चहरूमा पाएको स्थान, भेटघाट र भूमिकामा मख्ख छ । कांग्रेस पनि त्यसको विरोध गर्न सक्ने अवस्थामा छैन ।
मलाई लाग्छ, १९६० पछि कम्युनिष्ट विचारधाराविरुद्ध एक वैचारिक परियोजना सुरु भयो, उत्तरआधुनिकतावाद । प्रारम्भमा यो फ्रान्समा थियो । छिट्टै अमेरिकाले यसलाई हडप्यो । यस विचारले भन्यो कि अब वर्गको कुनै काम छैन । किनकि पुँजीवादको चरित्र नै बदलिएको छ ।
यो विचारले बढो योजनाबद्ध ढङ्गले बहसको वैचारिक केन्द्रमा कब्जा गर्यो । यो बहसले भारतमा ‘क्लास’ लाई भन्दा ‘कास्ट’ लाई माथि ल्यायो । हाम्रो विचारमा ‘कास्ट’ पनि भारतीय विशिष्ठताको ‘क्लास’ नै थियो । आज सम्पूर्ण राजनीतिक सङ्घर्ष जातीय भएको छ ।
मैले चुनावमा त्यहीँ देखे । बिहारमा वामपन्थी आन्दोलनको जबरजस्त प्रभाव छ । तर, पनि जब चुनाव आउँछ सबैले त्यही जातको कुरा गर्न थाल्दछन् । मेरो जातको को छ, कसको जातको को छ, मेरो जातिको कुन जातिसँग गठबन्धन छ ?
सन् २०१० पछि त अर्को कुरा आयो— ‘पोष्ट-ट्रुथ’ को भावना । अर्थात् हरेकको आफ्नोआफ्नो सत्य हुन्छ । नरेन्द्र मोदीको नेतृत्वमा भारतमा यो विचारलाई आक्रामक बनाइयो ।
गुजरात दङ्गामा जसले नरसंहार गराए, तिनको पनि एउटा सत्य छ, विचरा जो मारिए, तिनको पनि एउटा आफ्नै सत्य थियो । सबैको सत्यको सम्मान हुनु पर्दछ । नरसंहार गर्नेहरूको सत्यको पनि सम्मान हुनु पर्दछ । अर्थात् उत्तरआधुनिकताको विचार सत्योत्तर भावनामा अझ घातक, अझ बढी संहारक भएर आयो । अब यस्तो सोचलाई कसले तोड्न सक्ला त ? हामीलाई लाग्छ कि त्यो काम तिनैले गर्न सक्दछन, जो वर्गमा विश्वास गर्दछन् ।
अब हामी मार्क्सवादी पनि तात्कालिक लाभ हेरेर वर्ण र जातको राजनीतितिर लाग्यौँ भने के हुन्छ ? यो त शकुनीको पासा लिएर शकुनीसँगै खेलेजस्तो हुन्छ । यस्तो खेल शकुनीले नै जित्छ, हामी जित्न सक्दैनौँ । सन् १९८० को दशकमै हामीलाई लाग्न थालेको थियो कि जो पहिचानको राजनीति छ, त्यो पूरै खतरनाक छ । हामीले वर्गको रुझान छोड्न हुँदैन र वर्णको मुद्दालाई वर्गसँग जोडेर लैजानु पर्दछ ।
आज मार्क्सवादीहरूको एउटा हिस्सालाई उत्तरआधुनिकतावादले प्रभावित गरेको छ । ती आफूलाई उत्तरआधुनिकतावादी मार्क्सवादी भन्छन् । ती मार्क्सवादी भएरै पहिचानको राजनीति गर्दछन् । यो कस्तो प्रकारको सोच हो ?
आज जसलाई थिंक ट्यांक भनिन्छ, ती मनुवादको विरुद्धमा हैन, वामपन्थको विरुद्ध, मार्क्सवाद र कम्युनिष्ट विचारको विरुद्धका लागेका छन् ।
मैले एक किस्सा सुनेको थिएँ । एकपटक पञ्जाबबाट फर्किँदा हरकिसनसिंह सुरजित र काशीराम एउटै जहाजमा परेछन् । सुरजित पञ्जाबकै थिए । सुरजितले भनेछन्—आउनुस्, मिलेर काम गरौँ, मुद्दा तय गरौँ, दलित आन्दोलनको एक ठूलो मुद्दा भूमिअधिकार पनि हो, शोषणबाट मुक्तिको प्रश्न पनि हो ।
काशीरामले भनेछन्—सुरजितजी, तपाईं मलाई यति बेबकुफ ठान्नुहुन्छ कि मेरा साराका सारा भेडा तपाईंको पछि लगाइदिउँ ?
काशीरामको यो भनाइले पहिचानको राजनीति र कथित दलित आन्दोलनको सोचलाई प्रष्ट पर्दछ । दलितहरूलाई कम्युनिष्टबाट टाढा बनाउने सोच यही हो ।
(बादल सरोज भाकपा मार्क्सवादीका नेता हुन् । यो आलेख जनचौकडटकममा उनले दिएको अन्तर्वार्तामा आधारित छ)
Facebook Comment
Comment