मुलुकमा अझै राष्ट्रिय एकता र समन्वयको आवश्यकता छ : पूर्वराष्ट्रपति भण्डारी

नेपालभ्युज

मुलुकमा अझै राष्ट्रिय एकता र समन्वयको आवश्यकता छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा अझै केही गर्न बाँकी रहेकाले त्यसका लागि राष्ट्रिय एकता र समन्वयको आवश्यकता रहेको बताएकी छन् ।

मधुस्थली फाउन्डेशनले शुक्रबार आयोजना गरेको वरिष्ठ वामपन्थी चिन्तक गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा दुईवटा वैचारिक प्रभाव रहेकामा एउटाले अर्काेको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढिरहेको तर अर्कोले अस्तित्वको स्वीकार गरेर अगाडि नबढिरहेको स्थिति रहेको औँल्याईन् ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय ‘एजेन्डा’मा कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सबै राजनीतिक दल एउटै धारमा उभिनुपर्ने तब मात्र देशलाई अगाडि बढाउन सकिने धारणा राखिन् । उनले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक खुराक दिइरहेको वैचारिक नेताका रूपमा आफूले चिनेको बताईन् । गोविन्दराज ज्ञवालीले वामपन्थी एकताका लागि मात्र नभइ, वाम शक्ति र प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन खेलेको भूमिकालाई इतिहासले उच्च मूल्याङकन गर्ने उनको भनाइ थियो ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा वाम खेमाबाट सन्तुलित विचार प्रवाह गर्नु हुने गोविन्दराज ज्ञवाली हामी सबैका लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ,” उनले भनिन, “गोविन्दराज ज्ञवाली आधुनिक नेपालको सामाजिक राजनीतिक उतारचढावलाई ऐतिहासिक विश्लेषणसहित नियाल्न सक्ने थोरै व्यक्तित्वमध्येका एक हुन् ।”

पूर्वराष्ट्रपति भण्डारीले टुटफुटले आक्रान्त नेपालको कम्युनिष्ट आन्दोलनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (साहना समूह) र मनमोहन समूहलाई २०४२ सालमा एक गराएर नेकपा (मार्क्सवादी) निर्माण गर्न र तत्कालीन नेकपा (मार्क्सवादी) र नेकपा (माले) लाई मिलाएर नेकपा (एमाले) को निर्माण गर्न गोविन्द ज्ञवालीको अहम् भूमिका रहेको उल्लेख गरिन् । “उहाँले कम्युनिष्ट राजनीतिक दललाई एक ठाउँमा उभ्याउनु भएको थियो । त्यसको साथै अर्को वैचारिक पक्षमा उभिएका साथीहरुलाई राष्ट्रिय मुद्दामा ल्याउने अनवरत प्रयास गरिरहनु भएको छ,” उनले भनिन् ।

उनले अग्रज पुस्ता र नवपुस्ताबीचको दूरी कम गर्न समन्वय गर्नुपर्नेमा जोड दिईन् । “इतिहासको जानकारी नलिँदा नवपुस्ताहरु र पुराना पुस्ताबीच ग्याप जस्तो देखिन्छ, । त्यो ग्याप मेटाउन यो कार्यक्रम कडीका रुपमा रहेको छ,” उनले भनिन्, “ज्ञवालीले समाजलाई दिएको योगदानलाई समेट्ने र भावी पुस्तासमक्ष राखिदिने कर्तत्व हो । अहिले त्यो काम भएको छ । यसलाई निरन्तरता दिनुपर्दछ । पूर्व र पश्चिमका व्यक्तित्वबीच पनि अन्तरसम्बाद हुनुपर्दछ ।”

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वामपन्थीलाई एक ठाउँमा जोड्नुपर्दछ भनेर सबभन्दा बढी जोड दिने नेताका रुपमा गोविन्दराज ज्ञवाली रहेको बताए । उनले ज्ञवालीले सिकाएको आदर्शको ज्ञान र कम्युनिष्ट आन्दोलनलाई नयाँ पुस्ताले निरन्तर जारी राख्ने बताए । कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले शान्त स्वभावका मृदुभाषी गोविन्दप्रसाद ज्ञवाली परिस्थितिको सूक्ष्म अध्ययन गर्न सक्ने व्यवहारवादी नेता रहेको चर्चा गरे । तुल्सीप्रसाद भट्टराईले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि निरन्तर लागेको व्यक्तिको रुपमा परिचित रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved