काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरूद्धको मुद्दामा असार १२ गते फैसला हुने भएको छ ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ ।
माओवादी विद्रोहका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल लगायतले विसं २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए ।
पूर्णिमायाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै अर्को रिट निवेदन पनि दायर गरेकी थिइन् ।
त्यस्तै, झलनाथ खनाल प्रधानमन्त्री भएको बेला सन्चारमन्त्री नियुक्त भएपछि सापकोटाविरूद्ध अर्को रिट परेको थियो ।
सँगसँगै अधिकारकर्मीहरू शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतले गम्भीर कसुरको आरोप लागेका व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त गर्न नहुने वा पदमा भएकालाई समेत पदबाट निलम्बित गरेर मात्र अनुसन्धानअघि बढाउनु पर्ने मागसहित सापकोटाविरूद्ध अर्को निवेदन दिएका थिए ।
Facebook Comment
Comment