मधेसका मुख्यमन्त्री यादवले आज पाँचौं पटक विश्वासको मत लिने, कांग्रेस बाहेक सबै विपक्षमा

नेपालभ्युज

मधेसका मुख्यमन्त्री यादवले आज पाँचौं पटक विश्वासको मत लिने, कांग्रेस बाहेक सबै विपक्षमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौं पटक विश्वासको मत लिने तयारी गरेका छन् । गठबन्धनमा रहेका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका हुन् ।

डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन् । विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव निकट मानिने मुख्यमन्त्री यादवले आज विश्वासको मत पाउने सम्भावना भने देखिदैन । हिजो मात्रै एकीकृत समाजवादी पनि सरकारबाट फिर्ता भइसकेको छ ।

चारै पटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि यसअघि  सरकारको नेतृत्व भने परिवर्तन भएको थिएन ।

यसपटक भने नेपाली कांग्रेसले मात्र यादवलाई विश्वासको मत दिने सम्भावना छ । बाँकी सबै दल उनको विपक्षमा उभिने बताइएको छ । विश्वासको मत दिने नदिनेमा लोसपाले अझै निर्णय गरिसकेको छैन ।

मुख्यमन्त्री यादवले सदनमा आफ्ना पक्षमा  विश्वासको मत दिन  सांसदहरुलाई आग्रह गर्ने बताएका छन् । उनले भने, ‘सदनमा बहुमत नपुगे सरकारबाट राजीनामा दिनेछु ।’

मधेस प्रदेश सभामा जसपाका १९ र कांग्रेसका २२ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठनको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

एमाले, माओवादी केन्द्र, जनमतसहितको विपक्षी गठबन्धले जनमत पार्टीलाई मधेसको मुख्यमन्त्री दिने सहमति गरिसकेका छन् । तर जनमतभित्र मुख्यमन्त्रीमा संसदीय दलका नेता महेशप्रसाद यादव बाहेकलाई पठाउनु पर्ने लबिङ तिब्र बनेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved