काठमाडौं । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको उत्तरी भेगमा पर्यटन प्रबर्द्धनका लागि सरकारसँग आग्रह गरेका छन् ।
मकवानपुरको उत्तरी भेगमा पर्ने चित्लाङ, मार्खु, कुलेखानी, सिमभञ्ज्याङ, दामन र बज्रबराही क्षेत्र असाधारण पर्यटनको सम्भावना भएको क्षेत्रहरू भएको उनको भनाइ छ ।
‘नेपाल सरकारले पर्यटनलाई प्रबर्द्धन गर्ने नीति पनि अख्तियार गरेको छ । यस प्रकारको असाधारण महत्त्व बोकेको, पर्यटनका लागि गन्तव्यको रुपमा चिनिएको स्थानहरूलाई नेपाल सरकारले देशकै पर्यटन गन्तव्यको रुपमा घोषणा गरी पर्यटन प्रबर्द्धनसँग सम्बन्धित कार्यक्रम र विकासका आधारभूत प्रक्रियाहरू अगाडि बढाउनका लागि म नेपाल सरकारसँग माग गर्न चाहन्छु’, मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने ।
बर्तौलाले ती क्षेत्र सुन्दर स्थान पनि भएको भन्दै सभामुख र सांसदहरूलाई आमन्त्रण पनि गरे ।
बर्तौलाको भनाइ छ, ‘सभामुखसहित म सबै माननीयज्यूहरूलाई चित्लाङ मार्खुमा त्यहाँको लोकल माछा खाँदै, इन्द्रसरोबरको तालको बोटिङ गर्दै चित्लाङको होमस्टेमा आएर आराम गर्नका लागि म आमन्त्रण समेत गर्न चाहन्छु ।’
Facebook Comment
Comment