गोर्खा राज्य विस्तारसँगै नेपालमा पुँजीवादले औपचारिक रूपमा प्रवेश पाएको थियो । त्यो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा रूपमा क्रमश: देखा पर्दै आयो । उत्पादक शक्तिको आधारमा सामाजिक व्यवस्थाको निर्माण हुन्छ ।
समाज विकासका ६ वटा चरणमध्ये एक पुँजीवाद हो । पुँजीवादको भ्रूण सामन्तवादकै गर्भमा हुर्किएको हुन्छ (१)। पुँजीवादी सामाजिक व्यवस्थाको उत्पादक शक्ति पुँजी हुन्छ । अन्ततः पुँजीवाद व्यक्तिकेन्द्रित नाफामा आधारित व्यवस्था हो ।
यो स्वतन्त्र, गतिशील, असीमित, पुँजीको अनिवार्यता र अमूर्त हुन्छ । पुँजीवादले समाजको विभाजन व्यक्तिमा गर्दछ (२)। पुँजीवादले गम्भीर सङ्कटका बीच आफूलाई परिमार्जन गर्दै आइरहेको छ । तर, पनि निजी स्वामित्व र सामूहिक उत्पादनबीचको आधारभूत अन्तर्विरोधका कारण पुँजीवाद सधैँ सकटोन्मुख छ । लेनिनले साम्राज्यवाद भनेको मरणासन्न पुँजीवाद अर्थात् समाजवादी क्रान्तिको पूर्वसन्ध्याको पुँजीवाद हो भनेका थिए (३)।
नेपालको उत्तरमा ६५ गुणा ठूलो जनगणतन्त्र चीन छ भने पूर्व, पश्चिम र दक्षिणमा २२ गुणा ठूलो गणतन्त्र भारत अवस्थित छ । नेपाल १,४७,५१६ वर्ग किमि क्षेत्रफलमा फैलिएको देश हो (४) । नेपाल हुनुभन्दा पहिले तत्कालीन भूगोलमा विभिन्न गणराज्यहरूको अस्तित्व थियो । गणराज्यहरूले आफ्नै मौलिकतामा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र परराष्ट्र नीतिको अभ्यास गरिरहेका थिए ।
आफ्नै मौलिकताको आत्मनिर्भर अर्थतन्त्रमा भारतको कालिम्पोङ्ग व्यापार मार्ग र तिब्बत सम्बन्धले ती गणराज्यहरूको आर्थिक स्थिति तीव्र रूपमा विकास हुँदै थियो । तत्कालीन बेलायती दस्तावेजअनुसार भारतीय मुगल व्यापारीको झन्डै ३० प्रतिशत सम्पत्तिको स्रोत उत्तर तिब्बतमा नै थियो (५)।
भारतमा इस्ट-इन्डिया कम्पनीको स्थापनासँगै भारत औपनिवेशिक देशमा परिणत भएको थियो (६)। यही प्रक्रियामा बेलायती साम्राज्यवादले नेपालमाथि पनि आफ्नो हस्तक्षेपलाई तीव्रताका साथ अगाडि बढाएको थियो । नेपालले राम्रोसँग राष्ट्रिय पुँजीको विकास गर्न नपाउँदै यहीबीचमा पुथ्वीनारायण शाहको उच्च महत्वकाङ्क्षाका साथ गोर्खा साम्राज्यको विस्तार बेलायती साम्राज्यवादको घोडा बन्न पुग्यो ।
अन्त्यमा नेपालले सन् १८१६ मा बेलायती साम्राज्यवादको इस्ट-इन्डिया कम्पनीसँग सुगौली सन्धि गरेको थियो । बेलायतले सुगौली सन्धिमार्फत नेपालमा आफ्ना दलालहरू खडा गरेको थियो या भनौँ नेपाली राजनीतिमा बेलायती दलालहरूले सुगौली सन्धिमार्फत नीतिगत प्रवेश पाएको थियो । जसले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा तीव्रताका साथ हस्तक्षेप बढायो । यसले गोर्खा भर्ती केन्द्रको स्थापना भयो, राष्ट्रिय अर्थतन्त्रको विकासमा अवरोध खडा भयो ।
भारत, नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्धको विच्छेद भयो । परिणामस्वरूप नेपाल अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक राष्ट्र बन्न पुगेको थियो । अन्तत: यो नोकरशाही, दलाल पुँजीवाद बन्न पुग्यो (७)। अर्कोतिर नोकरशाही, दलाल पुँजीवादका क्षत्रछायामा हुर्किरहेको हिन्दु धर्ममा आधारित जात व्यवस्थाले नेपालको समग्र राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा अवरोध मात्र खडा गरेन, यसले दीर्घकालीन रूपमा विकास र समृद्धिको ढोका बन्द गर्यो (८)।
वि.सं. २०७५ पुस २७ गते शुक्रबार राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. पुष्प कँडेलले सार्वजनिक गरेको प्रतिवेदन ‘असमानताविरुद्ध सङ्घर्ष’ मा २०४८ पछि नेपालले अवलम्बन गरिएको नवउदारीकरणको नीतिमा सार्वजनिक खर्चमा कटौती गर्दै निजीकरणलाई टेवा पुर्याएको औँल्याएइएको छ । राज्य मातहत सञ्चालन भएका जम्मा ३० वटा उद्योगहरू नाफामा हुँदाहुँदै पनि निजीकरण गरिएको थियो । ३० वटामध्ये ११ वटा हाल सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि पाँचवटा उद्योगले मात्रै हाल नाफा गरिरहेका छन् । निजीकरणको अवधारणा कार्यन्वयनले सरकारलाई रु. ४ अर्ब ९३ करोड बराबरको घाटा लागेको छ भनेर प्रतिवेदनमा उल्लेख छ (९) ।
यो समस्या अहिले भएको भन्ने होइन, पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारसँगै नेपालमा पुँजीवादीहरूले नेपाली दलाल खडा गरे देखिको थियो । त्यसले वर्तमानमा पनि राष्ट्रिय पुँजीको विकास गर्न दिएको छैन । १६औँ शताब्दीबाट विश्वव्यापी बजारको थालनीसँगै पुँजीवादको सुरुबाट भएको थियो । अराजक पुँजीवादी आर्थिक प्रणालीको सुरुवातबाट नै आर्थिक सङ्कटहरूको सामना गर्दै आइरहेको छ ।
पहिलो सन् १७७२ मा बेलायतबाट सुरु भएर युरोपसम्म विस्तार भएको क्रेडिट सङ्कट, दोस्रो सन् १९२९ देखि सन् १९३९ सम्मको विश्वव्यापी महामन्दी, तेस्रो सन् १९७३ मा इजराइल र अरब राष्ट्रहरूबीचको योम किम्पुर युद्धमा अरब सदस्य राष्ट्रहरू (अर्गनाईजेसन अफ पेट्रोस एक्सपोर्टिङ कन्ट्रिज-ओपेक) कित्ताले इजराइलसहित अमेरिका, क्यानडा, बेलायत, नेदरल्याण्ड्स, पोर्चुगल र साउथ अफ्रिकाविरुद्ध पेट्रोलियम पदार्थमा लगाएको नाकाबन्दीका कारण पैदा भएको आर्थिक सङ्कट, चौथो १९९७ मा थाइ भाटलाई अमेरिकी डलरसँगको स्थिर विनिमय दरबाट माग र आपूर्तिको आधारमा निर्धारण हुनेगरी खुला बजारमा छोडेपछि भएको अवमूल्यनबाट सुरु भएको आर्थिक मन्दी एसियाली मुलुकमा विस्तार भएको वित्तीय सङ्कट हो ।
यस्तै पाँचौँ सन् २००८ को सेम्टेम्बरमा लगानी बैंक लेमान ब्रदर्स टाट पल्टेपछि विश्वका धेरै देशले आफ्नो देशका ठूला वित्तीय संस्थालाई धरासायी हुनबाट जोगाउने कोसिस गरेपनि अमेरिकाबाट सुरु भएको आर्थिक मन्दी विश्वभर विस्तार भएको वित्तीय सङ्कट थियो (१०) । छैटौँ कोभिड महामारी र त्यो नसकिँदै सुरु भएको रुस-युक्रेन युद्धले निम्त्याएको आर्थिक सङ्कट, विश्वव्यापी रूपमा फैलिएको मुख्य आर्थिक सङ्कटहरू हुन् (११)।
सोभियत सङ्घमा अभ्यास गरिएको समाजवादी अर्थतन्त्रले पुँजीवादी आर्थिक सङ्कटलाई टार्न सफल भयो । अर्कोतिर समाजवादी अर्थतन्त्रको सकारात्मक प्रभाव बद्ढो थियो । पुँजीवादीहरूले समाजवादको बढ्दो प्रभाव रोक्न चाहन्थे । पुँजीवादीहरूले राज्य नियन्त्रित अर्थनीति अर्थात् मिश्रित अर्थनीति अबलम्बन गरेका थिए । यसले नि:शुल्क स्वास्थ्य शिक्षा, बेरोजगार भत्ता, सामाजिक सुरक्षालगायत कल्याणकारी कार्य गरेपनि सन् १९७३ को आर्थिक सङ्कटसम्म आउँदा मिश्रित आर्थिक प्रणाली पनि पूर्ण रूपमा असफल भएको थियो ।
शीतयुद्धको अन्त्यसँगै पुँजीवादले नवउदारवादी अर्थनीति अवलम्बन गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको प्रत्यक्ष सहयोगमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले कार्यान्वयनमा ल्याएका थिए ।
व्यापारको स्वतन्त्रता, पुँजीको स्वतन्त्रता र लगानीको स्वतन्त्रता यसको विशेषता हो । यसका लागि सरकारी नियम, मजदुर सङ्गठन, सामाजिक सुरक्षा, पर्यावरणसम्बन्धी कुनै पनि कानून मान्य हुनु हुँदैन । अनि मात्र मानवीय समृद्धि र खुसी प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दथ्यो ।
तर, नवउदावदी अर्थनीतिले पनि २००८ को आर्थिक सङ्कटलाई टार्न सकेन । पुँजीवादीहरूले आफ्नो आर्थिक नीतिमाथि टालटुल गर्दै आए पनि यो पहिलेको भन्दा झन् सङ्कटग्रस्त बन्दै गएको छ (१२) । यसले बजार व्यवस्थापनको लागि आर्थिक साम्राज्य विस्तार गर्यो, राजनीतिक रूपमा भौगोलिक सिमाना कायम भए पनि आर्थिक गतिविधिमा स्वतन्त्र रहेको थियो, जसलाई भूमण्डलीय पुँजीवाद भनिन्छ ।
वर्तमान चीनको विश्वलाई जोड्नको लागि सामाजिक, संस्कृति र आर्थिक विकासका Belt and Road Initiative परियोजना सम्मान विकास रणनीतिसँग जोडिन्छ भने अमेरिकन साम्राज्यवादको Millennium Challenge Corporation परियोजना शैन्य रणनीतिसँग जोडिन्छ तर, दुवै भूमण्डलीय पुँजीवादी नीतिमा आधारित परियोजना हुन् (१३) ।
अर्कोतिर अमेरिकी साम्राज्यवादको योजनामा भएको यूक्रेन रसियाबीचको द्वन्द अथवा इजरायली र प्यालेस्टाइनबीचको द्वन्द्व पनि सीमित हुने-खाने वर्गको हितको लागि गरिएको युद्ध हो ।
लेनिनले भनेका थिए — पुँजीवाद भनेको साम्राज्यवाद हो, यो भनेको युद्ध हो । पुँजीवाद नाफाबिना बाँच्न सक्दैन, नाफाको लागि मानव नरसंहार, प्राकृतिक स्रोत साधनको निर्मम दोहन, संस्कार- संस्कृतिको विनासजस्ता कार्य गर्छ ।
वर्तमान स्थितिमा पुँजीवादको चौतर्फी विरोध र आलोचना भइरहेको छ । वर्तमानमा स्वयम् पुँजीवादीले नै आफ्नो भविष्य देखेका छैनन् । अर्थशास्त्रका नोबेल पुरस्कार विजेता तथा विश्व बैंकका वरिष्ठ उपाध्यक्ष जोसेफ सिग्लिजले नवउदारवादको मृत्यु भइसकेको घोषणा गरेका थिए । पुँजीवादी अर्थ प्रणालीले जति नै सुधारिए पनि समाधान दिन सक्दैन । बरु धनी-गरिबबीचको विकाराल असमानता पैदा गरी सङ्कटग्रस्त हुनेछ ।
Forbes र Oxfam जस्ता पत्रिकाबाट प्रकाशित खबारहरूमा विश्वको कुल जनसङ्ख्याको ८५ प्रतिशत जनताको बराबरको सम्पत्ति १० जना धनाढ्यको साथमा छ भन्ने विषयले यसलाई प्रमाणित गरेको छ ।
पछिलो समयको विज्ञान प्रविधिको उच्च विकास वस्तुत: उत्पादक शक्तिको विकास हो । विज्ञान प्रविधिको विकास पछिलो समयको उत्कृष्ट मानवीय सृजना हो । यसको अधिकतम् मानवहितको रक्षामा लागि प्रयोग हुनुपर्छ । तर, पुँजीवादीहरूले विज्ञान प्रविधिको अति दुरूपयोग गर्दै सीमित केही पुँजीपतिहरूको अकुत नाफा कमाउने साधन भएको छ । यसले मानव समुदायमाथि भयङ्कर नकारात्मक प्रभाव पारेको छ, यसको सामान्य नजरअन्दाज गर्न सकिँदैन ।
स्वचालित यन्त्र मानवको विकासले मानव अस्तित्वमाथि नै सङ्कट आइपरेको छ । Cade Metz ले सन् २०२० नोभेम्बर २४ मा The Network Times मा प्रकाशित गरेको ‘When AI falls in love’ शीर्षकको लेखअनुसार विभिन्न भाषा अनुवादलगायत बैंकिङ क्षेत्र, व्यवसाय क्षेत्र, सेवा क्षेत्र र उत्पादन क्षेत्रमा यन्त्र मानवको उपस्थितिले सन् २०३० सम्म विश्वमा ५० प्रतिशत मानिसले रोजगारी गुमाउँदै छन् ।
सयौं मानिसले गर्ने कुनै कार्य एउटा यन्त्र मानवले क्षणभरमै गर्न सक्छ । यस्तो अवस्थामा मजदुरहरू उत्पादन क्षेत्र, सेवा क्षेत्रसँगै अन्य क्षेत्रबाट किनारा लाग्दै जानेछन् । डिसेम्बर २, २०१६ मा बेलायतको अनलाइन पत्रिका Business Insider मा ‘स्वचालन र कृत्रिम मानवले मध्यम गर्गका प्रायः सबै कामहरूलाई सिध्याउँदै छ’ भनेर उल्लेख गरेको थियो ।
कृत्रिम मानवले निम्त्याएको खतराबारे पुँजीपतिहरू अनभिज्ञ छन् भन्ने पटकै होइन तर, नाफाको अगाडि पुँजीपतिहरू निरीह छन् । हकिङ्गलाई उद्घृत गर्दै प्राईसले लेखेका छन्— कृतिम मानवले विश्वभर फराकिलो बन्दै गइरहेको आर्थिक असमानताको गतिलाई अरु थप बढाइदिनेछ ।
इन्टरनेटजस्ता प्लेटफर्मले थोरै मान्छेलाई काममा लगाएर मानिसको एउटा सानो समूहलाई प्रचुर नाफा कमाउन सम्भव बनाइदिने छ । धनी झन् धनी बन्नेछ भने गरिब झन् धेरै गरिब हुँदै जानेछ । पछिल्लो २ वर्षमा ९९ प्रतिशत मानिसको कमाइको दोब्बर कमाइ संसारका सबैभन्दा धनी १ प्रतिशत व्यक्तिले कमाएका छन् । यो पुँजीवादी विशेषता हो, यो अनिवार्य छ । यो हेर्दा केही धनीका लागि प्रगति हो तर, यो समग्र मानव समुदायको हिसाबले ध्वंसात्मक छ ।
अमेरिकी सिटी बैंक र अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा फेब्रूअरी २०१६ को सार्वजानिक प्रतिवेदनअनुसार कृत्रिम मानवका कारण निकट भविष्यमा अमेरिकामा करिब ४७ प्रतिशत, बेलायतमा ३५ प्रतिशत, चीनमा ७७ प्रतिशत कामदारहरूको रोजगारी खतरामा पर्दैछ (१४) । सन् २०२२ मा अमेरिकाका १ सय २० ठूला कम्पनीहरू (प्रविधि, मुख्य बैंक, उत्पादन क्षेत्र र अनलाइन व्यवसाय) बाट १ लाख २५ हजार मजदुरहरू रोजगारीबाट निकालिए, यो क्रम जारी छ । यस समस्याले धनी र सम्पन्न मुलुकलाई धेरै असर गर्नेछ (१५) ।
हकिङले भनेका थिए कि विज्ञान तथा प्रविधिको विकासलाई विश्व श्रमजीवी वर्गको हितमा प्रयोग गर्ने उचित उपाय नखोजी खुला छाडियो भने त्यसले विश्वलाई नै ध्वस्त पार्छ । विश्वमा विज्ञान, प्रविधि उच्च विकासका साथै कृत्रिम मानवको विकासले मजदुरहरू दैनिक रूपमा बेरोजगार बन्दै जाने स्थिति छ । यसले स्वाभाविक रूपमा उनीहरूको क्रयशक्तिमा कमी आउनेछ, प्रश्न यो हो की पुँजीवादी उत्पादन कसका लागि र केका लागि हो ?
अर्कोतिर पछिलो समय अन्तर्राष्ट्रिय अखबारहरूका अनुसार मनोरञ्जन मानवीय आनन्द र सुख प्राप्तिको लागि विकसित राष्ट्रहरू जापान, चीन, अमेरिकाका युवा युवतीमा कृत्रिम मानवप्रति आकर्षण बढ्दो छ । यो गम्भीर विषय हो । पुँजीवादी उत्पादक शक्तिमा विज्ञान प्रविधिको विकासले पुँजीवादी सङ्कटलाई सन्निकट ल्याएको छ । पुँजीवादी व्यवस्थाभित्र मौलाएका अराजकताले असीमित इच्छा, आकाङ्क्षा र चाहनासहित मानवीय व्यवहारलाई परिवर्तन गरेको छ ।
जसका असर आज समाजमा छरपष्ट देखिन्छ । एकातिर धीरता, लगनशीलता, नैतिकता, आदर्श र सद्भावपूर्ण भवनाहरूको सङ्कट छ, अर्कोतिर स्वतन्त्रताको नाममा हरेक व्यक्ति नाफाको लागि बिनापर्वाह दौडिरहेका छन् । मानवीय विशेषता भनेको अनिर्वाय समाजभित्र परिवार र व्यक्ति हुनु हो । तर, ठीक उल्टो, समुदायलाई परिवारमा र परिवारलाई व्यक्तिमा विभाजन गरेको छ । आज एकले अर्कोलाई स्वीकार्ने स्थिति छैन, आधुनिक भनिएका मानिसहरूलाई अरुको नक्कल गर्दैमा फुर्सद छैन ।
मानिस विस्तारै समुदायबाट एक्लिँदैछ, आफ्नो जिम्मेवारीप्रति उदासीन देखिँदैछ । सबैको केन्द्रमा पुँजी छ, यहाँ मान्छेको क्षमता पुँजीमा मापन गरिन्छ । पुँजी जसरी भए पनि कमाउनु छ, त्यो भ्रष्टाचार गरेर होस् या चोरी, डकैती गरेर होस् या अरु नै केही । यस्ता असीमित इच्छा र आकाङ्क्षाहरूको नियन्त्रण र व्यवस्थापन नगर्ने हो भने मानवीय सङ्कट सन्निकट छ, यसको प्रभाव हरेक व्यक्ति-व्यक्तिमा पर्छ । त्यसैले पनि पुँजीवादी सङ्कटभित्र मानवीय जीवन फुल्दैन ।
विश्वव्यापी रूपमा फैलिएको पुँजीवादी आर्थिक सङ्कटविरुद्ध सोभियत सङ्घमा अभ्यास गरिएको समाजवादी अर्थतन्त्रले सहजै पार लगाएको थियो । राज्य नियन्त्रित योजनाबद्ध आर्थिक नीति कार्यक्रम समाजवादको मुख्य चरित्र हो । यसले पुँजीवादी अराजक उत्पादन प्रणालीलाई नियन्त्रण गर्दछ । उत्पादन प्रणालीमा सामूहिक स्वामित्व भएको कारण वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय अथवा सबै प्रकारका विभेदको अन्त्य गर्छ ।
अर्कोतिर गाउँ र सहर, किसान र मजदुर, बौद्धिक र शारीरिक श्रमबीचको असमानता क्रमश: मेटाउँदै जाने भएकोले योजना निमार्णमा सहजता हुन्छ । समाजवादी आर्थिक नीतिले उत्पादन, विनिमय र वितरणलाई सन्तुलनमा राखी सूत्रबद्ध गर्छ (१६)।
समाजवादी कार्यक्रमअन्तर्गत ८ घण्टा काम, ८ घण्टा आराम र ८ मनोरञ्जन छाडेर पुँजीको लागि २४ घण्टा खट्न तयार भएका समयको आधुनिक दासहरू हो, अरुको नक्कल गरेर कतै पुग्न सकिन्न, यसले बनाउने कौवा नै हो । वैज्ञानिक योजना, आत्मनिर्भर र राष्ट्रिय स्वाभिमानको जगमा उभिएको पुँजी निर्माणले मात्र जीवन फुलाउनेछ । अन्तत: पुँजीवादी व्यवस्थाको गर्भमा समाजवादको भ्रूण हुर्किएको हुन्छ । विज्ञान प्रविधिको प्रयोग आम श्रमजीवी वर्ग, उत्पीडित जाति, क्षेत्र, लिङ्गहरूको हितमा प्रयोग गर्दै सङ्कटग्रस्त पुँजीवादी व्यवस्थाविरुद्ध प्रहार गरी वैज्ञानिक समाजवादी व्यवस्थाको यात्रा तयार गर्नु नै आजको सङ्कटबाट मोक्ष प्राप्त गर्नु हो ।
सन्दर्भ सामाग्रीहरू
१. किरण, दोस्रो मंसिर २०६५, नेपाली समाज र संस्कृति एक संक्षिप्त अध्ययन, विवेक सिर्जनशील प्रकाशन प्रालि, अद्वैतमार्ग, काठमाडौं ।
२. २०७८, वैज्ञानिक समाजवादको घोषणापत्र, वैज्ञानिक समाजवाद निर्माण अभियान ।
३. मोहन वैद्य ‘किरण’, दोस्रो भाद्र २०७८ मार्क्सवादी दर्शन, भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौं ।
४. Sharma B, Khadka B, Nepal′s new map covers an area of 147,516 sq km, 10,000 copies being printed. My republica, May 21,2020
५. प्राडा एच.जी. बेहर, २०८० बैसाख, लुकाइएको नेपाली इतिहास, आदिवासी जनजाति सन्देश वर्ष १, अंक १ ।
६. डा. राजेश गौतम, २०७२, भारतको आधुनिक इतिहास (१७५७ देखि २००९ इसापूर्वसम्म), भुँडीपुराण प्रकाशन,
काठमाडौं ।
८. आहुति, २०७५ मंसिर, नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष, फिनिक्स बुक्स बानेश्वर, काठमाडौं, नेपाल ।
९. रमेश लम्साल, २७ पुस २०७५ शुक्रबार, नेपालमा धनी झन् धनी र गरिब झन् गरिब बन्दै, नयाँ पेज ।
१०. इन्द्रमोहन सिग्देल, २०७५, यसरी हुँदैछ पुँजीवादको अन्त्य ।
११. Chapter 1. The Economic Impacts of the COVID-19 Crisis, World Development
Report 2022.
१२. डा. विजयकुमार पौडेल, २०७४, मार्क्सवादी अर्थशास्त्र पृष्ठभूमि, उद्भव र विकास, जनता प्रसारण तथा प्रकाशन
लि. मिनभवन, नयाँ बानेश्वर, काठमाडौं, नेपाल ।
१३. Yubaraj Sangroula, June 2019, 3rd Print, South Asia China Geo-economics, Lex & Juris Publication Pvt.Ltd. Suryabinayak, Bhaktapur, Nepal.
१४. Cade Metz, 2020 November 24, When A.I. Falls in Love, The New Work Times.
१५. अमेरिकी आर्थिक मन्दी, अन्नपुर्ण पोष्ट ।
१६. रामराज रेग्मी, २०७६ बैशाख, मार्क्सवादी राजनीतिक अर्थशास्त्र, जागरण बुक हाउस, बागबजार, काठमाडौं ।
Facebook Comment
Comment