काठमाडौंमा कसले बजाउँदैछ बाँसुरी ? के यो सम्राट निरोको नयाँ अवतार हो ? कसले बेसुर बाँसुरी बजाउँदैछ, सिंहदरबार र बालुवाटारमा ? कसले उन्मादको गीत गाउँदैछ भोकाहरूको वस्तीमा ? के एक जमानामा रोमको टिईबर नदी किनारमा नशा काटेर अत्महत्या गरेको निरो त्यसको दुई हजार वर्षपछि काठमाडौंमा प्रकट भएको हो ?
काठमाडौं अर्थात् गरिबी । काठमाडौं अर्थात् बेरोजगारी । काठमाडौं अर्थात् असफल राजनीति । काठमाडौं अर्थात् असफल सरकार । काठमाडौं अर्थात् असफल संसद् । सर्वत्र भ्रष्ट नेता । यता सहकारी ठगी । उता गिरीबन्धु जग्गा घोटाला । एकातिर क्यान्टोन्मेन्ट प्रकरण, अर्कोतिर टेरामेक्स कमिसन । नेताहरू मस्तीमा र नागरिक सास्तीमा भएको यो अँध्यारो नगर काठमाडौंमा कसले बेसुर बाँसुरी बजाउँदैछ ? के यो निरोको नयाँ अवतार हो, जो काठमाडौंमा साइरन बजाउँदै सुरक्षामा हिँड्छ र यहाँका दरबारमा बसेर बेसुरले बाँसुरी बजाउँछ ?
हजुर, अहिले निरो छ काठमाडौंमा । निरो मस्त छ, राजधानीमा । ऊ यहाँको राजनीति देखेर मख्ख पर्छ र मुस्कुराउँछ । ऊ आफ्नै लयमा हुल बाँधेर हिँड्छ, चाकरीमा रमाउँछ र उथलपुथलको रात्रिभोज आयोजना गरेर उन्मादको गीत गाइरहेको छ । उसको गीतमा फगत सत्ता छ, तलब-भत्ता छ । उसँग छ, इतिहासमाथि स्वयम् उसले गरेको आघातको भद्दा किस्सा र ती किस्सा सुनेर ताली ठोक्ने चाकरहरूको एक जमात ।
निरो मग्नमस्त छ । ऊ कहिलेकाहीँ अङ्कगणित गर्छ । कहिलेकाहीँ सत्ताको ज्यामिति मिलाउँछ । कहिलेकाहीँ चेसका प्यादाहरू यताउता चाल्छ । एउटालाई घेर्छ, अर्कोलाई घेर्छ । बाँकी समय बाँसुरी बजाउँदै बस्छ र आफ्ना अनुचरहरूलाई सगर्व सुनाउँछ— म उथलपुथलको सम्राट हुँ । म अव्यवस्थाको सम्राट हुँ । म बेथितिको सम्राट हुँ । म आश्वासनको सम्राट हुँ । र, म स्वयम् आफ्नै पतनको सम्राट हुँ ।
ऊ पछिल्लो समय नेपाली राजनीतिमा हुनु नै आफैँमा दुर्भाग्य हो । तर, ऊ मुस्कुराउँदै बाँसुरीमा लय भर्छ र भन्छ— नाथे प्रजाहरू ! आउ सबैले मेरो जयजयकार गर, म तिम्रो प्रभु-परमेश्वर हुँ ।
इतिहासको प्रसङ्ग
राजनीतिमा एउटा विश्वचर्चित विम्ब छ निरोको । भनिन्छ, रोम जल्दा निरो बाँसुरी बजाउँदै थिए। के त्यस्तो पनि हुनसक्छ ? आफ्नै नगरमा आगोका हिंस्रक लप्काहरू उठ्दा कोही सम्राट कसरी सङ्गीतमा झुम्न सक्छ ? तर, इतिहासले भन्छ— यस्तो भएको थियो, हुन्छ र भइरहन्छ ।
किनभने शासकका लागि मानवीय समवेदना फगत तमासा हो । कोलाहल फगत मनोरञ्जन हो । त्यसैले मान्छे विपद्मा परेर रुँदा, शासकहरू मग्नमस्त हुन्छन् । त्यसैको ऐतिहासिक विम्ब हो— निरो ।
निरोको सन्दर्भ निकै रोचक छ ।
इतिहासकार भन्छन् कि इसापूर्व ५४ अक्टोबर १३ मा एउटा १७ वर्षे किशोर रोमन साम्राज्यको सम्राट बन्यो । उसको वास्तविक नाम थियो सिजर अगस्तस । जसलाई निरो पनि भनिन्थ्यो । केटो निकै चञ्चल र रसिक थियो । त्यसैले सानै उमेरमा उसको दासीपुत्री क्लाउदियासँग प्रेम भयो । तर, तत्कालीन रोमन साम्राज्यमा जातीय कट्टरता र सङ्कीर्णता चरम थियो । परिणाम उनीहरूको प्रेम अस्वीकार भयो । बरु उल्टो निरोको विवाह भयो एक सम्भ्रान्त युवती अक्टोलियासँग ।
तर, निरोले आफ्नी प्रेमिका क्लाउदियालाई भुल्न सकेन । र, सबैकुरा त्यसपछि गडबढ हुँदै गयो ।
निरोको जीवनीकार गाइअस कोर्नेलिअस ट्यासिटसका अनुसार निरो आफ्नी पत्नि अक्टोलियासँग पटक्कै खुसी थिएनन् । त्यसैले ऊ चिडचिडो र हठी हुँदै गयो । अवश्य नै उसमा शक्तिको उन्माद थियो । तर, थियो राजकाजमा चरम लापरबाही । खासमा आफ्नो प्रेमलाई असफल बनाउने भारदार, मन्त्री, परिवार, नाता-कुटुम्ब सबैसँग निरो बदला लिन चाहन्थ्यो ।
त्यसैताका एकदिन उसलाई परापूर्वकालमा भएको टाय युद्धको सम्झना आयो । त्यो भिषण युद्धमा पुरानो टायनगर पूरापुर जलेको थियो । त्यही सम्झनाले रोमाञ्चित निरोमा एउटा सनक चढ्यो । त्यो के भने उसलाई टायनगर जल्दाको दृष्य हेर्न मनलाग्यो । उसले तत्काल सैनिक बोलाएर आदेश दियो, रोम नगरमा आगो लगाउ ।
आदेश तामेल भयो । एकैछिनमा नगर हुर्हुरी बल्न थाल्यो । र, निरोले बाँसुरी बजाउँदै दरबारको अट्टालिकामा बसेर त्यो दृश्य हेरिरहे ।
त्यो घटनाबारे अनेक टिप्पणी छन् । कोही भन्छन् इसापूर्व ६४ मा आगो लागेकै हो । र, त्यो आगो रोम सहरको दक्षिणपूर्वी भागबाट उठेको थियो । जसले सहरको तेह्रमध्ये सात भागलाई लपेट्यो । जसमा तीन भाग पूरापूरा खरानी बन्यो । भनिन्छ, त्यो आगो कयौं दिनसम्म दन्दनाइरह्यो ।
केही भन्छन् आगो पाँच दिनसम्म लागेको थियो । कोही भन्छन् नौं दिनसम्म । आगो जुन क्षेत्रबाट उठ्यो, त्यहाँ दासहरूको वस्ती थियो । कसै-कसैले त्यो आगो रोमका कट्टरपन्थीहरूले लगाएको आरोप पनि लगाउँछन् । उनीहरूको झिनो मत थियो कि, निरोलाई फसाइएको हो ।
निरोको प्रेम त विवादास्पद भयो नै, ऊ स्वयम् पनि सन्की थियो । जसले गर्दा भारदारबीच शङ्का, टकराव र तनाव बढ्दै गए । निरोको हठ, अहङ्कार, लापरबाही र सन्काहापनबाट सबै दिक्क थिए । यतिसम्म कि विवादमा निरोकी आफ्नी आमा, धर्मगुरु र अनेक भारदारको समेत हत्या भयो । जुन हत्या स्वयम् निरोले गराएको मानिन्छ ।
अन्ततः दिक्क भएका भारदार उसलाई अपदस्त गर्नुपर्ने निष्कर्षमा पुगे । निरो क्रमश: एक्लो र निरीह बन्दै गयो । र, एकदिन ऊ मर्यो ।
निरोको मृत्युमाथि अनेक टिप्पणी गरिन्छ । कोही भन्छन् रोम जुन आगोमा जल्यो, त्यसैमा हाम्फालेर उसले आत्महत्या गर्यो । अर्को भनाइ छ, सनकको हदमा पुगेर निरो सिकिस्त बिरामी भयो र मर्यो । तर, निरोको जीवनी लेख्ने इतिहासकार ट्यासिटसको बयान अर्कै छ । उसको कथन छ कि जब निरोलाई अपदस्त गर्ने पक्कापक्की भयो, तब ऊ निकै उत्तेजित र निराश भयो । उसलाई लाग्यो षड्यन्त्रको सिकार भएर मारिनुभन्दा आफैँ मर्नु बेस ।
अतः इसापूर्व ६८ को एकदिन ऊ दरबारबाट निस्कियो र टिईबर नदीको किनारमा गयो । उसले आफ्नी प्रेमिकालाई पनि त्यही बोलायो । प्रियतमसँगको अन्तिम मिलनपछि उसले हातको नसा काट्यो र मर्यो । इतिहासकार सुटोनिअसका अनुसार अत्महत्यापूर्व निरोले भनेको थियो— न मेरा मित्र छन्, न शत्रु नै ।
त्यो एक तानाशाहको कठोर आत्मस्वीकृति थियो ।
निरोले बजाएको बाँसुरी खासमा एक विम्ब हो । रोम जल्दा उसले बजाएको असली बाजा थियो ‘लायर’ । किनभने लायर रोमन साम्राज्यको सर्वाधिक प्रिय बाजा थियो । यद्यपि उसले के बजाएको थियो, त्यो मुख्य कुरा होइन । मुख्य कुरा हो, उसको अहङ्कार, लापरबाही र सनक ।
जब सत्ता र शक्तिको उन्मादमा शासक मानवीय समवेदना र उत्तरदायित्व गुमाउँछन्, त्यहिबाट निरोको जन्म हुन्छ । त्यसपछि नगरहरू जल्छन् । जनताले दुःख पाउँछन् । इतिहास कलङ्कित हुन्छ । र, अन्ततः निरो स्वयम् आफ्नै दुश्कर्मको रापमा जल्न पुग्छ । यो सन्दर्भबाट निर्माण भएको विशाल ऐतिहासिक सत्य यही नै हो ।
नेपाली सन्दर्भ
निरोको मृत्यु आजभन्दा लगभग दुई हजार वर्षअगाडि नै भएको थियो । तर, मृत्युपछि पनि निरो पटक-पटक अनेक स्थान र अनेक सत्तामा जन्म लिन आइपुग्छ किन ? सायद यो हाम्रो शताब्दीको सबैभन्दा ठूलो श्राप हो । र, हो यो नेपाली राजनीतिको कठोर यथार्थ ।
किनभने अहिले निरो काठमाडौंंका दरबारहरूमा नयाँ अवतार लिएर प्रकट भएको छ । ऊ एकजना हैन, दर्जनौंमा प्रकट भएको छ ।
उता रोम जल्दै गर्दा निरो बाँसुरी बजाउँथ्यो । यताका निरोहरू देशमा बेथिति, बेरोजगारी र भ्रष्टाचारको आगो बल्दै गर्दा मग्नमस्त सत्ताको गीत गाउँछन् । रोमको निरो क्रूर र निर्लज्ज थियो । हाम्रा निरोहरू भ्रष्ट, ठग, लालची र अहङ्कारी छन् । ऊ बेलाको निरो हठी थियो, आजका निरोहरू षड्यन्त्रकारी छन् । त्यो समय रोममा निरो एउटा थियो, यता काठमाडौंमा आजकल दर्जनौं निरो भेटिन्छन् ।
उताको निरो प्रेममा पागल थियो । यताका निरोहरू प्रेम गर्न जान्दैनन् । यिनीहरू फगत षड्यन्त्र, बेथिति र भ्रष्टाचारका नायक हुन् ।
यताका निरोहरू कहिले गठबन्धन गर्दछन्, कहिले लडाइँ । कहिले एकता गर्दछन्, कहिले विभाजन । यिनीहरू पटक्कै विश्वासयोग्य छैनन् । छिनछिनमै भिड्छन् र मित्रलाई पछाडिबाट घात गर्दछन् ।
उताको निरो सन्की थियो । यताका निरोहरूको मन लोभी छ, आँखा पापी । पछिल्ला वर्षहरूमा हाम्रा आशा, अपेक्षा र सपनामाथि यिनीहरूले जसरी खेलवाड गरे, त्यो बेहिसाब थियो । त्यो निर्लज्जता थियो ।
सुदूर विगतलाई हेर्नै पर्दैन । हाम्रा निरोहरूको वर्तमान हाम्रो समयको सबैभन्दा दुखद् सत्य हो । जसभित्र छन्, लगातार सत्ताको खेलवाड । पार्टी विभाजन । निरन्तर आरोप-प्रत्यारोप । अस्थिरता । दिशाहीनता । नागरिकमाथी बेपरवाह, धोका । र, उही निरन्तरको भ्रष्टाचार, प्रदूषित बाचा र सत्ता षड्यन्त्र । कहिले यता, कहिले उता । कहिले कुन निरो सत्तामा, कहिले कुन ।
यसरी यताका निरोहरू सत्ताको जुवामा दाउ हानिरहेका छन् । अवश्य नै उनीहरू कसैले जिते होलान् तर, इतिहासले हार्यो, हारे नेपाली नागरिकले र हार्यो लोकतन्त्रले । त्यसैले त हाम्रा तीन दशक यिनीहरूको घात प्रतिघातमै बिते ।
पछिल्लो समय नयाँ अनुहारको निरो सिंहदरबार पसेको छ । उसको अनुहार नयाँ छ र हातमा छ नयाँ बाँसुरी । नयाँ र वैकल्पिक राजनीतिको नाममा उदाएको त्यो निरोसँग साना-ठूला अनेक नामका नयाँ-नयाँ चाकर छन् । सबै एकै अनुहारका । सबै जण्ड । सबै धूर्त । सबै ठग ।
भर्खरै नयाँ र पुराना निरोहरूले गठबन्ध गरेका छन् । उत्कापात र चटकमा गठबन्धन । भ्रष्टाचार र ठगीमा गठबन्धन । यसरी निरोहरू अझ बलिया र मग्नमस्त भएका छन् । उनीहरूले बजाउने बाँसुरीको धुन अझ चर्को, बेसुर र लयहीन हुँदै गएको छ ।
त्यसैले त आज देशमा भ्रष्टाचार, महङ्गी, कालोबजारी र बेरोजगारी तीव्र भएको छ । तर, हाम्रा निरोहरू अविराम सत्ताको बाँसुरी बजाउँदै रमाइरहेका छन् । ठगहरूको महाभोज जारी छ । भोजमा सुरा छ । लय बेसुरा छ । र, त्यो बेसुरमा मख्ख आजका निरोहरूले सामूहिक नाराबाजी गरिरहेका छन् । उनीहरूको नारा छ— सबै ठीकठाक छ ।
बेथितिहरूलाई ठीकठाक देख्नु र भ्रष्टाचारको सिंहासनमा बसेर बेसुरको बाँसुरी बजाउनु आजका निरोहरूको शौख हो । यही शौख नै उनीहरूको राजनीति हो ।
भन्नपर्दैन, देश अहिले ठूलो आर्थिक, सामाजिक र राजनीतिक सङ्कटमा छ । प्रचलित राज्यप्रणाली, चिन्तन पद्धति, विकास ढाँचा र शासन-प्रशासन सङ्कटमा छ । जसका प्रभावहरू भविष्यमा अझ व्यापक र गहिरा हुँदै जानेछन् । भविष्यमा यी सङ्कट यति प्रवल हुनेछन् कि त्यसलाई नरोके हाम्रो आँगनमा अझ चर्को राजनीतिक, आर्थिक र सामाजिक चक्रवात आउने पक्का छ ।
यति ठूलो सङ्कट सामुन्ने छ, हाम्रा निरोहरू के गर्दैछन् ? हाम्रो सरकार के गर्दैछ ? निरो मग्न छ । सरकार बेफिक्री छ । नेता मस्त छ । बालुवाटार आनन्दमा छ । के अहिले देश र जनताका समस्यासँग जुध्न कुनै गम्भीर राजनीतिक विमर्श र पहल हुँदैछ ? छैन । निरोहरू मस्त छन् र सिंहदरबारमा बाँसुरी बजिरहेको छ ।
आज सरकारले गर्नुपर्ने कामहरू अनेक छन् । शिक्षा, स्वास्थ, सामाजिक सुरक्षा, पूर्वाधार, आर्थिक उत्थान । तर, सरकार छ फगत अङ्कगणितमा । सरकार छ फगत तमासामा । प्रधानमन्त्री गर्वसाथ उथलपुथल गर्ने घोषणा गर्दछन् र उनका सहयोगीहरू ताली बजाउँछन् । प्रदेशहरू कामविहीन छन् । सरकार बनाउने र भत्काउने भन्दा धेरै राजनीतिको तस्वीर कतै देखिँदैन ।
निर्धा मान्छेका आँखाबाट पीडाका आँसु झर्दैछन् तर, सरकार सपथ ग्रहणमा मग्न छ ।
निरोको कथाले भन्छ, मुलुक अधोगतितिर गइरहेको बेला, जनता सङ्कटले त्राहिमाम भइरहेको बेला र मान्छेको अनुहारबाट सम्पूर्ण खुसी लुटिएको बेला जब शासकहरू आफ्नै मस्तीमा बाँसुरी बजाउँछन्, ती इतिहासकै भ्रष्ट, पतीत र नालायक शासक हुन् । ति निरोहरू हुन् ।
इतिहासमा निरोले झोसेको आगोले रोम जलेको थियो । यता आजका निरोहरू मान्छेका सपना जलाइरहेका छन् । उता निरोले लगाएको आगोले सहर जलेको थियो, यताका निरोहरू लोकतन्त्र जलाउँदै छन् ।
यो आगोले कतै हाम्रो सम्पूर्ण समयलाई नष्ट नगरोस्, यो नै आजको चिन्ता हो । अहिलेलाई म मात्र यति भन्छु, निरोको काठमाडौं अवतार समकालीन राजनीतिको सर्वाधिक ठूलो दुखान्त हो । यो दुखान्तबाट ननिस्कने हो भने हाम्रो भविष्य अझ सङ्कटमा पर्ने निश्चित छ ।
[email protected]
Facebook Comment
Comment