बेलायती चुनावमा सुनक–स्टार्मर भिडन्त : को होला प्रधानमन्त्री ?

यो चुनावलाई ऋषि सुनक र कैर स्टार्मरबीचको व्यक्तित्वको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ । सुनक ४४ वर्षका छन् भने स्टार्मर ६१ वर्षका । स्टार्मर सन् २०२० देखि लेबर पार्टीको नेता रहँदै आएका छन् ।

नेपालभ्युज

बेलायती चुनावमा सुनक–स्टार्मर भिडन्त : को होला प्रधानमन्त्री ?

काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनकले देशमा नयाँ संसदीय आम निर्वाचनको घोषणा गरेका छन् । जुलाई ४ मा चुनाव हुनेछ । संसदको कार्यकाल डिसेम्बरसम्म बाँकी थियो । आगामी चुनाव सन् २०२५ को जनवरीमा हुने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री सुनकले नयाँ चुनावको मिति ७ महिना अगाडि सारेका छन् ।

संसदको अन्तिम वर्ष निर्वाचनको उपयुक्त समय छनोट गर्ने प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्दै उनले चुनावको घोषणा गरेका हुन्। सन् २०२२ मा ‘फिक्स्ड टर्म इलेक्सन एक्ट’ खारेज भएपछि प्रधानमन्त्रीलाई यस्तो अधिकार दिइएको थियो । तसर्थ ‘अर्ली इलेक्सन’ को विपक्षी दलहरुले स्वागत गरेका छन् ।

सुनक देशको इतिहासमै पहिलो गैर बेलायती भारतीय मूलका तथा हिन्दू प्रधानमन्त्री हुन् । तर, सत्तारुढ कन्जर्भेटिभ पार्टीभित्र यद्यपि उनको बलियो पकड भएको विश्वास गरिन्छ । प्रधानमन्त्रीका रुपमा सुनकले पहिलो आम निर्वाचन सामना गर्दैछन् ।

यो चुनावमा कजर्भेटिभ पार्टीले राम्रो नजिता प्राप्त गरे उनी फेरि प्रधानमन्त्री हुन सक्ने अपेक्षा गरिएको छ । तर, सर्वेक्षणहरुले प्रमुख प्रतिपक्षी दल लेबर पार्टीसँग कडा प्रतिस्पर्धा हुने देखाइरहेका छन् । कन्जर्भेटिभ पार्टी पछिल्लो १४ वर्षदेखि निरन्तर सत्तामा छ ।

प्रमुख विपक्षी लेबर पार्टीका नेता कैर स्टार्मर छन् । यो चुनावलाई ऋषि सुनक र कैर स्टार्मरबीचको व्यक्तित्वको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ । सुनक ४४ वर्षका छन् भने स्टार्मर ६१ वर्षका । स्टार्मर सन् २०२० देखि लेबर पार्टीको नेता रहँदै आएका छन् ।

कन्जर्भेटिभ र लेबरका अतिरिक्त लिवरल डेमोक्र्याट्स, एसएनपी र डेमोक्र्याटिक युनियनिष्ट पार्टी चुनावी मैदानमा मुख्य दल हुनेछन् । बेलायत बहुदलीय संसदीय लोकतन्त्र भएको देश हो । यहाँ अन्य थुप्रै साना दल पनि छन्।

बेलायतको तल्लो सभा हाउस अफ कमन्स ६५० सदस्यीय हुन्छ । बहुमत प्राप्त गर्न ३२६ सिट आवश्यक पर्दछ । सन् २०१९ को आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले ३६५ सिट प्राप्त गरेको थियो भने लेबर पार्टी २०२ सिटमा सीमित भएको थियो । तेस्रो र चौथो स्थानमा क्रमशः एसएनपीले ४८ र लिवरल डेमोक्र्याट्सले ११ सिट जितेका थिए ।

त्यस अवधिमा कन्जर्भेटिभ पार्टीका मुख्य नेता बोरिस जोनसन थिए । पार्टीभित्रको आन्तरिक अविश्वास, आर्थिक संकट र बढ्दो जनअसन्तुष्टिको कारण उनले सन् २०२२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

जोनसनको राजीनामापछि कन्जर्भेटिभ पार्टीभित्र लिज ट्रस र ऋषि सुनकबीच नयाँ नेतृत्व चयनका लागि आन्तरिक चुनाव भएको थियो । सुनक ट्रससँग पराजित भएका थिए । तर, आर्थिक संकट हल गर्न नसक्दा ट्रसले छोटो अवधिमै प्रधानमन्त्री पदबाट राजीनामा गरेकी थिइन । त्यसपछि सुनक प्रधानमन्त्री भएका थिए । सुनक जोनसन र ट्रस दुवैको सरकारमा अर्थमन्त्री थिए ।

सन् २०१९ यता कन्जर्भेटिभ पार्टीको लोकप्रियता घट्दै गएको बताइन्छ । यसबीच भएका १० उपनिर्वाचनमा कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लगातार पराजित भएका छन् ।

सुनकको विशेष क्षमता वित्तिय सन्तुलन कायम गर्न सक्ने नीति निर्धारण मानिएको छ । कोभिड–१९ कालमा बेलायती अर्थतन्त्र निक्कै संकटग्रस्त भएको थियो । त्यस संकटबाट देशलाई बाहिर ल्याउन सुनकले प्रभावकारी उपाय अवलम्बन गरेका थिए ।

यही कारणले कन्जर्भेटिभ पार्टी कमजोर हुँदै गए पनि प्रधानमन्त्री सुनकको व्यक्तिगत लोकप्रियता भने कायमै रहेको बताइन्छ । सुनकको व्यक्तित्वले पार्टीको भविष्य कति सुनिश्चित गर्ने हो, पर्खेर हेर्न पर्दछ । जनतामा प्रधानमन्त्री सुनकको लोकप्रियता कायमै भए पनि पार्टीभित्र भने उनले असन्तोषको सामना गर्न परेको थियो ।

सुनक ‘अर्ली इलेक्सन’ निर्णयमा पुग्नुको एउटा कारण कन्जर्भेटिभ पार्टीभित्रको असन्तोषलाई पनि मनिएको छ । स्कटल्याण्डमा एसएनपीको बलियो पकड बेलायती राजनीतिको अर्को महत्वपूर्ण पक्ष हो । सन् २०१४ मा स्कटल्याण्डमा जनमत संग्रह भएको थियो । थोरै भोटले मात्रै स्कटल्याण्ड बेलायतबाट विभाजित हुन रोकिएको थियो ।

एसएनपी नेता निकोला स्ट्रजनले नयाँ जनमत संग्रहका लागि दबाब दिइरहेकी छन् । तसर्थ जुलाईको आम चुनावमा स्कटिश भावनाको समेत परिक्षण हुनेछ । यसपटक पनि एसएनपीले राम्रो विजय हासिल गरे स्कटल्याण्डमा फेरि जनमत संग्रहको सम्भावना बढ्ने छ ।

सन् २०१६ मा बेलायत युरोपियन युनियनबाट बाहिर निस्केको थियो । बेलायत बाहिरिएपछि युरोपियन युनियन कमजोर हुने ठानिएको थियो । तर, त्यसो भएन ।

फ्रान्स, जर्मनी र इटालीले युनियनलाई बलियो काँध हाले । तसर्थ बेलायतमा बाँकी युरोपबाट एक्लिदै गएको भावना बढ्दै गएको बताइन्छ । यस्तो भावनाको राजनीतिक लाभ भने लेबर पार्टीलाई हुनेछ ।

कन्जर्भेटिभ नेता बोरिस जोनसन मुख्य ब्रेक्जिटको मुख्य पैरवीकर्ता थिए । ब्रेक्जिट मुद्दामा पराजयपछि तत्कालिन प्रधानमन्त्री डेबिट क्यामरुनले राजीनामा दिएका थिए । अहिले प्रधानमन्त्री ऋषि सुनकको समूहमा पूर्वप्रधानमन्त्री क्यामरुन पनि छन् । क्यामरुन सुनक सरकारमा विदेशमन्त्री छन् ।

तसर्थ सुनक समूहले युरोपसँगको सहकार्यमा सन्तुलित नीतिको सन्देश दिने अपेक्षा गरिएको छ । लामो समयदेखि सत्ता बाहिर रहेको लेबर पार्टीले फर्किने अधिकतम् प्रयत्न गर्ने छ । यी यावत परिप्रेक्ष्यमा बेलायतको नयाँ चुनावी भिडन्त रोचक हुने ठानिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved