काठमाडौं । कामीरिता शेर्पाले ३०औं पटक सगरमाथा आरोहण गरी अर्को कीर्तिमान कायम गरेका छन् ।
कामीरिता आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् । यस वर्षको जारी सिजनमा कामीरिताले यो सँगै दुई पटक सफल आरोहण गरेका छन् ।
यसअघि उनले १० दिन अघि मात्रै २९औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सबै भन्दा धेरै आरोहणको किर्तिमान राख्ने आरोही कामीरिता शेर्पा बनेका छन् ।
३०औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् । गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताले २८औं पटकको रेकर्ड बनाएका थिए ।
सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।
कामीरितापछि धेरै आरोहण गर्नेमा पासाङ दावा शेर्पा छन् । उनले २७ पटक सगरमाथा आरोहण गरेका छन् ।
Facebook Comment
Comment