कोशी प्रदेश सरकार विरुद्ध निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

नेपालभ्युज

कोशी प्रदेश सरकार विरुद्ध निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
फाइल तस्वीर

काठमाडौं । सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदरलगायतको माग गर्दै कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

गत बैशाख २८ गते कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए ।

अल्पमतमा परेपछि पनि उनले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

सोही आव्हानपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति बदर र संविधान अनुसार आफ्नो पदमुक्त हुने व्यवस्था नभएकाले मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रतिवादी बनाइएका प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, एमाले सांसद किशोरचन्द्र दुलाल, माओवादी सांसद गणेश उप्रेतीसँग जवाफ माग गरेर विषयवस्तुको गम्भीर्यताका आधारमा पूर्ण सुनुवाइका लागि आजका लागि पेशी तोकेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved