सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लामा सोमबारदेखि विद्युत् सेवा अवरूद्ध भएको छ । सोमबार बेलुका आएको हावाहुरीका कारण रूख ढल्दा विद्युत् सेवा अवरूद्ध भएको हो ।
कोहलपुर–सुर्खेत ३३ केभी लाइन प्रशारणको विभिन्न खण्डमा रूख ढलेर तार चुडिँदा सेवा अवरूद्ध भएको नेपाल विद्युत् प्राधिकरण सुर्खेतले जनाएको छ ।
कार्यालय प्रमुख अशोक लोहनीले बाँकेको कोहलपुरदेखि सुर्खेतको रामघाटसम्म पाँच वटा रूखहरू ढलेर विद्युत्को तारमा परेको जानकारी दिए ।
‘हिजो हावाहुरी चल्दा १३२ केभी कोहलपुर सवस्टेशनमै समस्या आएका कारण विद्युत् सेवा अवरूद्ध भएको थियो ।’ उनले भने, ‘त्यहाँ बनिसकेपछि सुर्खेततर्फ विद्युत् लाइन पठाउन आएन । चिसापानी, बबई, हर्रे र रामघाटलगायतका क्षेत्रमा पाँच वटा रूख ढलेर तार चुँडिएका थिए । कोहलपुरदेखि सुर्खेतको रामघाटसम्म ढलेका रूख हटाएका छौँ ।’
छिन्चु क्षेत्रमा पनि रूख ढलेका कारणले मर्मत हुन केही समय लाग्ने प्रमुख लोहनीले बताए ।
Facebook Comment
Comment