ढोलाहिटी हत्या घटना : अभियुक्त भगाउनेलाई उन्मुक्ति, रगत पखालेर प्रमाण नष्ट गर्नेलाई ५ वर्ष जेल सजाय दाबी

हत्याका अभियुक्त भगाउन सुशीलले मोटरसाइकलको चाबी दिएको भन्दै प्रहरी वृत्त चापागाउँले मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेश गरेको थियो । तर, सरकारी वकिल कार्यालयले भने सुशीललाई उन्मुक्ति दिँदै बाँकी पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपालभ्युज

ढोलाहिटी हत्या घटना : अभियुक्त भगाउनेलाई उन्मुक्ति, रगत पखालेर प्रमाण नष्ट गर्नेलाई ५ वर्ष जेल सजाय दाबी

काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

ललितपुर २६ ढोलाहिटीमा राति सवा दशबजेतिर ‘डी–पोपिना’ खाजा घरमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएको घटनामा दुबै पक्षमा पाँचविरुद्ध मुद्धा दर्ता भएको हो ।

पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।

हत्या आरोपमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ घर भई ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई र तेह्रथुमको म्याङ्लुङ नगरपालिका–८ घर भई खुमलटार बस्ने ३२ वर्षीय राजु गुरुङसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

फागु पूर्णिमाको रात, जहाँ खेलियो ‘रगतको होली’ !

मुद्दा दर्ता भएकामध्ये सुलभलाई हत्यामा प्रत्यक्ष संलग्न नभई सहयोगी भूमिकामा रहेको भनिएको छ । हत्या भएपछि प्रहरीलाई खबर गर्नुको साटो रगत पखालेर प्रमाण नष्ट गर्ने काम गरेको आरोप लगाइएको छ ।

सहयोगी भूमिका (मतियार)लाई मुख्य अभियुक्तलाई हुनेको आधा सजाय मात्र दाबी गरिएको छ । सुलभ झडप भएको रेष्टुरेन्ट डी–पोपिनाका एक सञ्चालक समेत हुन् ।
बाँकी चार जनालाई कर्तव्य ज्यानको कसुरमा मुलुकी अपराध संहिताको दफा १७७ को कसुर गरेको अभियोगमा जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।
डी–पोपिनाका अर्का सञ्चालक विजयलाई भने जन्मकैदको साथै थप सजाय पनि मागदाबी गरिएको छ ।

उनी यसअघि लागु औषधको कसुरमा दुई वर्ष जेल बसेर छुटेका पटके अपराधी भएका कारणलाई उनलाई संहिताको दफा ४४ अनुसार थप सजाय मागदाबी गरिएको छ ।
अपराध संहिताको उक्त दफामा कुनै कसुरमा सजाय भुक्तान गरेको पाँच वर्षभित्र अर्को कसुर गरेमा त्यस्तो कसुर वापत हुने सजायको बढीमा आधासम्म थप सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

यस घटनामा प्रहरीले दिपु्रङ चुइचुम्मा गाउँपालिका–१ घर भएका २५ वर्षीय सुशील राईलाई पनि प्रतिवादी बनाउन राय दिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले भने उनलाई प्रतिवादी बनाएन ।

हत्याका अभियुक्त भगाउन सुशीलले मोटरसाइकलको चाबी दिएको भन्दै प्रहरी वृत्त चापागाउँले मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेश गरेको थियो । तर, सरकारी वकिल कार्यालयले भने सुशीललाई उन्मुक्ति दिँदै बाँकी पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved