रुसद्वारा युक्रेनमा ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार

नेपालभ्युज

रुसद्वारा युक्रेनमा ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार
फाइल फोटो

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताए ।

रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उनले असन्तुष्टि व्यक्त गरे । यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाई छ ।

रुसले राजधानी सहर किभ, जापोरिझिया र ओडेसाका साथै पोल्यान्डसँग सीमा जोडिएको लभिभ सहरलाई पनि लक्षित गरी आक्रमण गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दोस्रो ठूलो सहर खार्किब र त्यस वरपरको क्षेत्रमा पनि क्षेप्यास्त्रहरुबाट आक्रमण गरेको बताए ।

यस सहरलाई केन्द्रित गरेर पछिल्ला दिनहरुमा रुसले निरन्तर आक्रमण गरिरहेको छ ।

युक्रेनका गृहमन्त्री आइगोर क्लिमेन्कोले देशका विभिन्न भागमा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको जानकारी दिए ।

यसैबीच, रुसले पनि रुसका विभिन्न सहरलाई लक्षित गरी प्रहार गरिएका १२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

युक्रेनले पनि रुसका विभिन्न भागमा ड्रोन मार्फत् केही महिनादेखि लगातार हमला गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved