बागमती देखाएर सुदूरपश्चिमको मुख्यमन्त्री ‘हत्याउन’ एकीकृत समाजवादी सफल

एकीकृत समाजवादी, बागमती प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद खनालका अनुसार मुख्यमन्त्रीमा आलोपालो हुनेछ । आलोपालोको समय भने ‘फिक्स्ड’ भइनसकेको बताए ।

नेपालभ्युज

बागमती देखाएर सुदूरपश्चिमको मुख्यमन्त्री ‘हत्याउन’ एकीकृत समाजवादी सफल

काठमाडौं । केन्द्रीय सत्ता गठबन्धनभित्र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको पाँचौँ ठूलो दल एकीकृत समाजवादीले यसअघि सातमध्ये कम्तिमा एउटा प्रदेशको नेतृत्व खोजेको थियो । उसको मागबमोजिम नै बिहान बसेको गठबन्धनको बैठकले निर्णय गरेको हो ।

यससँगै एकीकृत समाजवादी बागमती प्रदेशलाई देखाएर सुदूरपश्चिम प्रदेशको नेतृत्व ‘हत्याउन’ सफल भएको छ । तर, सुदूरपश्चिममा सहजरूपमा केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्ने सम्भावना देखिँदैन ।

बागमतीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीले कुनै एउटा प्रदेशको नेतृत्व नपाए बागमतीका मुख्यमन्त्री जमरकट्टेललाई विश्वासको मत नदिने ‘चेतावनी’ दिएको थियो ।

यसपछि गठबन्धनभित्र सुदूरपश्चिम प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय भएको हो । त्यसो त बागमतीमा सात सिट भएको एकीकृत समाजवादीले विश्वासको मत नदिए मुख्यमन्त्री जमरकट्टेलको पद गुम्ने निश्चितप्राय: देखिन्छ ।

जमरकट्टेल केन्द्रीय केन्द्रीय सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को तर्फबाट मुख्यमन्त्री बनेका हुन् । जसै, एकीकृत समाजवादीको मागलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका हुन् ।

सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनअनुसारको सरकार बन्न सकेको छैन, अझै सहजरूपमा बन्ने सम्भावनासमेत देखिँदैन । यही अवस्थालाई ध्यानमा राखेर बागमतीमा आलोपालो गर्नेसमेत सहमति भएको छ ।

एकीकृत समाजवादी, बागमती प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद खनालका अनुसार मुख्यमन्त्रीमा आलोपालो हुनेछ । आलोपालोको समय भने ‘फिक्स्ड’ भइनसकेको बताए ।

“हामी मुख्यमन्त्रीजीलाई विश्वासको मत दिँदैछौँ,” उनले भने, “यहाँ पनि आलोपालो हुने सहमति भएको छ । समय पछि तय हुनेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved