टिप्पणी

बाबुरामको राजनीतिक मोडका गल्ती र आगामी यात्रा

पुरानैसँगको सहकार्य र गठबन्धन, एकता र विभाजन, पुरानै कार्यशैली र तरिकाबाट नयाँ शक्ति बनाउने भट्टराईको रणनीति अन्ततः असफलतामा परिणत भयो । तसर्थ, उनको राजनीतिको पछिल्लो अध्याय नियति मात्र हैन, आफ्नै गल्तीको परिणाम पनि हो ।

बाबुरामको राजनीतिक मोडका गल्ती र आगामी यात्रा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘व्यक्तित्व’ र उनको ‘पार्टीको आकार’बीच विचित्रको विरोधाभास छ । यसबारे उनकै एक पूर्वसहकर्मी भन्छन्— यो बाल्टीमा मग हैन, मगमा बाल्टी हालेजस्तो छ, मगमा बाल्टी कसरी अटाउँछ !

खासमा भट्टराईको विचार, आकाङ्क्षा, सपना र व्यक्तित्वलाई चाहिएको बाल्टीभन्दा पनि ठूलो ‘ड्रम’ वा ‘ट्याङ्की’ जत्रो पार्टी हो । किनकि उनी शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन, प्रदेशको पुनर्सिमाङ्कन, नामाङ्कन, सुशासन, समावेशिता र समृद्धिजस्ता बृहत् र ठूला-ठूलो आकार र मर्म भएका मुद्दा वकालत गरिरहेका छन् । यस्ता ठूला मुद्दाको सम्बोधन यति सानो पार्टीबाट हुन सम्भव नै छैन ।

तर, उनको त्यही ‘सानो पार्टी’ पनि फेरि एकपटक चोइटिएको छ । नेताहरूको एउटा पङ्क्ति बाहिरिएको छ । अर्थात् सानो पार्टी अझै सानो भएको छ । केही नेताहरू बाहिरिएका छन् । तर, पार्टी समितिको ठूलो सङ्ख्या र बहुमत भने भट्टराईकै पक्षमा रहने देखिएको छ ।

गत आमनिर्वाचनमा भट्टराईले पूर्वसहकर्मीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्र गोर्खा नं. २ बाट जिताउन मद्दत गरेका थिए । अहिले आएर यस घटनाले भट्टराईलाई ओइल्याउँछ । उनले प्रतिक्रिया दिएका छन्— प्रचण्ड नै समावेश भएर यस्तो गर्नु राजनीतिक बेइमानी भयो, पार्टी नै ‘हाईज्याक’ गरेको अनुभूति भयो । उहाँले गुण तिर्नुभयो ।

नि:सन्देह कुनै बेला भट्टराईको व्यक्तित्व र राजनीतिप्रति जनमानसमा ठूलो आकर्षण थियो । जनयुद्ध सुरुवात हुनुअघि उनी माओवादीको खुला मोर्चाका अध्यक्ष थिए, जो संसद्को तेस्रो ठूलो दल थियो ।

जनयुद्धकालमा उनी जनसरकार प्रमुख बने । भूमिगत प्रचण्डलाई भन्दा धेरैले भट्टराईलाई नै चिन्थे । प्रचण्डबारे धेरै कमलाई मात्र थाहा थियो । शान्ति प्रक्रियापछि उनी झनै महत्त्वपूर्ण भूमिकामा रहे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि अर्थमन्त्री हुँदा उनी निकै सफल र प्रशंसित भएका थिए । उनको पक्षमा ठूलै जनसमर्थन देखिएको थियो ।

यद्यपि उनको प्रधानमन्त्रित्वकालमा भने त्यतिधेरै फलदायी रहेन । तर, उनको लोकप्रियता भने कायमै थियो । असम्भवझैँ मानिएका केही काम गरेपछि जनतासँग उनी जोडिएकै थिए ।

दोस्रो संविधान सभाभित्र राजनीतिक संवाद समितिका सभापतिसमेत बनेका भट्टराईले संविधान जारी भएलगत्तै माओवादी पार्टी, संसद् सदस्य परित्याग गरे । २०७२ साल असोज ३ गते संविधान जारी भयो, ९ गते उनी पुरानो घर परित्याग गरी नयाँ शक्ति निर्माण यात्रामा निस्किए ।

२०७३ जेष्ठ ३ गते रङ्गशालामा नयाँ शक्ति पार्टी स्थापनाको घोषणा भेलासम्म पनि उनीप्रतिको जनाकर्षण व्यापक थियो । हजारौं मानिसले नयाँ शक्ति पार्टीको स्थापना भेलामा भाग लिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले त पार्टी स्थापनाको शुभकामना दिँदै ‘नयाँ शक्तिले एमालेबाहेक सबै दललाई सिध्याउने’ अनुमानसमेत गरेका थिए ।

तर, त्यसपछिका दिनमा भने घटनाक्रमले उल्टो मोड लियो । नयाँ शक्ति पार्टी अपेक्षितरूपमा बलियो हुन सकेन, बरु पार्टी थप कमजोर बन्दै गयो । त्यति ठूलो तामझामका बीच बनेको पार्टीले २०७४ को आम निर्वाचनमा ३% को थ्रेसहोल्डसमेत भेट्न सकेन ।

आखिर किन यस्तो भयो ? नयाँ शक्ति निर्माणको चरणमा बाबुरामलाई साथ दिएका डम्बर खतिवडाका अनुसार भट्टराईको समस्या विचार, सिद्धान्त र एजेन्डाको भन्दा बढी ‘टाईमीङ र स्टेपीङ’ को हो । खतिवडा भन्छन्— कतिखेर कस्तो कदम चाल्दा कस्तो सन्देश जान्छ, जनता र मतदाताले त्यसलाई कसरी लिन्छन्, जनधारणा पार्टी र आन्दोलनप्रति सकारात्मक बन्छ कि नकारात्मक भन्ने पाटोबाट सही अनुमान गर्न नसक्ने र अधिकांश कदमविपरीत र आत्मघाती हुने’ कमजोरीले गर्दा यस्तो समस्या आएको हो ।

नभन्दै नेपाल समाजवादी पार्टी (नेसपा) निर्माणको दस्तावेजमा भट्टराई आफैँले पनि यस्ता कमजोरी स्वीकार गरेका छन् । २०७३ जेष्ठ ३० गतेको नयाँ शक्ति पार्टी स्थापनाको भेलापछि के-के गल्ती भए, सविस्तार चर्चा गरेका छन् ।

२०७४ को स्थानीय चुनावमा तत्कालीन सङ्घीय समाजवादी फोरमको चुनाव चिह्न शेयरिङ गर्नेदेखि, वाम गठबन्धनको भेलामा हात उठाउनु, तुरुन्तै गठबन्धन छोडेर कांग्रेससँग गठबन्धन गर्नु, फोरमसँग पार्टी एकता गर्नुसम्मलाई उनले गल्तीका रूपमा औँल्याएका छन् ।

तर, अनौठो कुरा के भने २०७९ को आमनिर्वाचनमा माओवादीको चुनाव चिह्न शेयरिङ र गठबन्धनलाई भने उनले सही निर्णय दाबी गरेका थिए, जो फेरि गलत सावित भएको छ । जुन गठबन्धनले जसलाई जितायो, तिनै आफ्ना नरहने र पार्टी झनै कमजोर हुने प्रकारको चुनाव चिह्न शेयरिङ र गठबन्धन कसरी ठीक ? यसको जवाफ स्वयम् उनी आफैँसँग छ कि छैन अथवा हुन्छ कि हुँदैन ? सोचनीय छ ।

जसै अहिले आएर हेर्दा प्रचण्डका लागि गोर्खा २ छोड्ने निर्णयको पनि कुनै साथर्कता देखिँदैन । यदि माओवादीसँग पार्टी एकता गर्नु थिएन भने माओवादीको चुनाव चिह्न शेयरिङ गर्नु, गठबन्धन बनाउनु र प्रचण्डलाई गोर्खा २ मा लगेर जिताउनु भट्टराईका लागि ‘आत्मघाती’ कदम थिए । यहाँनेर पनि उनले डम्बर खतिवडाले भनेझैँ ‘टाईमीङ र स्टेपीङ’ मिलाउन नसकेको र अर्को गल्ती गरेको स्पष्टै देखिन्छ ।

भट्टराईका पूर्वसहयोद्धा खिमलाल देवकोटा मुख्यगरी दुई कारणले भट्टराई ‘असफल’ भएको बताउँछन् । “पहिलो त डा.साबले हाम्रो समाजको मनोविज्ञान बुझ्नुभएन, अर्को त उहाँका कतिपय काम, अभिव्यक्ति र कदम एउटा लिडरसीपको जस्तो भएनन् कि !,” उनले भने ।

नेपाली समाजसँग राम्रो विचार हुँदाहुँदै पनि जमात भएन भने विश्वास नै नगर्ने मनोविज्ञान रहेको र त्यसलाई भट्टराईले नबुझेको देवकोटाको विश्लेषण छ । “डा.साबले हाम्रो समाजको मनोविज्ञान नै बुझ्नुभएन । अर्कोचाहिँ उहाँले दिने अभिव्यक्तिहरूमा चाँडो-चाँडै परिवर्तन आउँछन् । मिलेको बेलामा दिएको अभिव्यक्ति छुट्टिने बेलामा अर्कै भइसक्छ, हुन त यो सबैकै सन्दर्भमा लागू हुन्छ । तर, डा.साब जतिको लिडरले त्यसो गर्न हुँदैनथ्यो । एउटा व्यक्तिका रूपमा त त्यो ठीकै होला तर, लिडरसीपका हिसाबले त्यो गर्नुहुँदैनथ्यो ।”

भट्टराई विचार, दृष्टिकोण र सक्रियताका हिसाबले राम्रो भएको औँल्याउँछन् उनी । तर, त्यसलाई कार्यान्वयन गराउनका लागि सङ्गठन चाहिने उल्लेख गर्दै उनी भन्छन्, “डा.साबलाई मेरो सुझावचाहिँ के भने बरु आफैँले बनाएको सङ्गठनको नेतृत्व गर्नुपर्छ ।”

त्यसो त यदि वैकल्पिक धारको राजनीतिलाई नै सहयोग गर्ने इच्छा र मनसाय थियो भने पुराना दल र सहकर्मीप्रति त्यो स्तरको सहकार्यको लालसा हुन जरुरी थिएन । त्यतिको स्थापित र लोकप्रिय व्यक्तिले नयाँ पार्टी खोल्दा जनमत आकर्षित नहुनु तर, अन्य नयाँ, स्वतन्त्र र पपुलिस्टहरू प्रभावशाली बनेर आउनु आफैँमा एउटा ठूलो विरोधाभास पक्कै हो ।

यसबाट के पुष्टि हुन्छ भने पुरानासँगको सहकार्य, अनावश्यक एकता र विभाजन, असान्दर्भिक चुनाव चिह्न शेयरिङ र गठबन्धन नयाँ र वैकल्पिक शक्ति निर्माणको बाटो नै हैन । हरेक राजनीतिक आन्दोलनका आआफ्ना मौलिक मार्ग हुन्छन् । पुरानो शैली र तरिकाले नयाँ शक्ति बन्दैनथ्यो, आखिर बनेन पनि ।

पुरानैसँगको सहकार्य र गठबन्धन, एकता र विभाजन, पुरानै कार्यशैली र तरिकाबाट नयाँ शक्ति बनाउने भट्टराईको रणनीति अन्ततः असफलतामा परिणत भयो । तसर्थ, उनको राजनीतिको पछिल्लो अध्याय नियति मात्र हैन, आफ्नै गल्तीको परिणाम पनि हो ।

नयाँ र पुरानो, वैकल्पिक र परम्परागत, सत्तापक्ष र प्रतिपक्षमध्ये कुनै एक रोज्न सक्नु पर्दछ । दुवैको मोह गरेर कहीँ पुग्न सम्भव थिएन । नेसपाको बाँकी पङ्क्तिले यही गल्ती दोहोर्‍यायो भने परिणाम फेरि यस्तै आउने निश्चितप्राय: देखिन्छ ।

बाबुरामको राजनीतिक व्यक्तित्व र भूमिका यद्यपि पूर्णत: असान्दर्भिक र किनारीकृत मान्न सकिँदैन । राजनीति हो, लोकप्रियता तलमाथि भइरहन्छ । तर, आफ्नो उद्देश्य र मार्गको प्रष्टता भने हुनु पर्दछ । विगत एक दशकको जस्तै तरिका र कमजोरी दोहोर्‍यएर भने बाबुरामले कुनै नयाँ परिणाम निकाल्न सक्ने छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved