आलेख

स्टालिनवादी भविष्यतिर फर्किएको पुटिनको रुस

आज स्टालिन शैली मन पराउने रुसीको संख्या ६०–७० प्रतिशतबीचमा पुगेको छ । स्टालिनको गौरवगाथको अर्थ युद्ध निर्माण र युद्धकालीन दमनको वैधताको खोजी हो । यो सत्य हो– पुटिन अरु कुनै सोभियत नेताभन्दा स्टालिनसँग बढी मिल्दोजुल्दो देखिन्छन् । सोभियत शैलीको चुनावमा पुटिनको भीषण विजयले रुसी जनताले क्रुर युद्ध, तानाशाही शासन र समाजको सैन्यकरणलाई अनुमोदन गरेको प्रतित हुन्छ ।

स्टालिनवादी भविष्यतिर फर्किएको पुटिनको रुस

सन् १९६८ मा अमेरिकी विद्धान जेरोम एम. गिलिसनले सोभियत निर्वाचनहरूलाई ‘मनोवैज्ञानिक जिज्ञासा’ का रूपमा वर्णन गरेका थिए । चुनावमा ‘मत’ शब्दको वास्तविक अर्थ भेटिँदैनथ्यो। ती शासनसत्ताको प्रदर्शनात्मक पुष्टिका लागि कर्मकाण्डजस्ता हुन्थे ।

गत आइतबार रुस एक चक्कर पूरा गरी सोभियत अभ्यासमा फर्कियो । राज्यका निर्वाचन अधिकारीले यो प्रतिवेदन गरे कि ८७ प्रतिशत रुसीले चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिन (Vladimir Putin) लाई पाँचौँ कार्यकालका लागि भोट दिए ।

यस्तो चुनावी नतिजा गणितीयरूपमा असम्भव थिएन । त्यहाँ धेरै विकल्प पनि थिएनन् । सबैजसो विपक्षी व्यक्तित्वको कित हत्या भएको थियो कित कैद र निर्वासनमा थिए । सोभियत शासनकालमा जस्तै यो एक चुनावभन्दा बढी जनमत संग्रहजस्तो थियो । यसले युक्रेनविरुद्ध, पुटिनको युद्धलाई रुसीहरूको बैधता प्रदान गर्दथ्यो ।

समग्रमा गत सप्ताहन्तको सोभियत शैलीको रुसी चुनावले कम्युनिष्ट शासनपश्चातको पुटिनको रूपान्तरणलाई सोभियत अधिनायकवादका धेरै जसो विशेषतासहित दमनकारी समाजमा कैद गरेको छ ।

तर, सोभियत अभ्यासमा रुसको फिर्ती चुनावमा मात्र सीमित हुँदैन, यो धेरै टाढासम्म जान्छ । एक रुसी निर्वासित पत्रकारको हालैको अध्ययन प्रतिवेदनअनुसार तथ्यांकले आजको रुस सोभियत नेतामध्ये पनि जोसेफ स्टालिनको शासनकालभन्दा बढी दमनकारी देखिएको छ ।

पछिल्लो ६ वरिपरि वर्षमा पुटिन शासनले ५ हजार ६ सय १३ रुसीलाई राजनीतिक अभियोग लगाएको छ । त्यसमा सेनालाई बदनाम गर्न खोजेको, गलत सूचना फैलाएको, आतंकवादको औचित्यसिद्ध गर्न खोजेको र अन्य यस्तै कथित अपराध छन् ।

युक्रेनमाथि रुसी युद्धको आलोचना गरेको र युक्रेनी प्रतिरक्षाको अधिकारको पक्षमा बोलेको कुरा पुटिनको रुसमा अभियोजन र दण्ड सजायको विषय बन्दछ ।

यी तथ्यांक सन् १९५६ पछिको सोभियतकालको कुनै पनि ६ वर्षको कालखण्डको तुलनामा निकै धेरै हुन । तर, त्यो त आपराधिक आरोप र सजायको तथ्यांक हो । त्यसका अतिरिक्त गत ६ वर्षमा १ लाख ५ हजारभन्दा बढी रुसीमाथि प्रशासनिक मुद्दा चलाइएको छ ।

यस्ता मुद्दामा चर्को जरिवाना गरिएको छ । पुनरावेदन गर्ने अधिकारसमेत नदिइकन ३० दिनको अनिवार्य श्रम कैद गरिएको छ । यीमध्ये अधिकांशलाई युद्ध विरोधी गतिविधि गरेको, अस्वीकृत जुलुस प्रर्दशन र राजनीतिक गतिविधिमा भाग लिएको आरोप थियो ।

त्यसबाहेकलाई कोभिड महाव्याधि नियम उल्लंघन गरेको आरोप थियो । यस्ता दण्ड त्यहाँ पुनरावेदन अधिकारसहितको न्यायिक प्रक्रियाबाट हैन, प्रशासनिक र द्रुत कार्यान्वयन गरिन्छन् ।

सन् २०२२ मार्च ४ मा युक्रेनमाथि आक्रमणको एक हप्तापछि रुसको कठपुतली संसद्ले यस्ता फौजदारी मुद्दा चलाउँन पाउनेगरी रुसी फौजदारी संहिताको द्रुत संशोधन गरेको थियो । रुसी सेनालाई अपजस दिने र गलत सूचना फैलाउनेलाई कारबाही गर्ने प्रावधान थपिएको थियो । यसले राज्यको दमनकारी शक्तिलाई व्यापक विस्तार गर्‍यो ।

यो नयाँ कानून पारित भएसँगै अभियोग व्यापक बढे । त्यसपछिको वर्षमा राजनीतिक कैदीहरूको संख्यामा व्यापक र नाटकीय वृद्धि भयो । यसको पछिल्लो उदाहरण गत फेब्रुअरी २७ मा नोवेल शान्ति पुरस्कार विजेता मानव अधिकार समूहका ७० वर्षिय सहअध्यक्ष ओलेग अर्लोभलाई रुसी सेनालाई अपजस दिएको आरोपमा साढे दुई वर्षको जेल सजाय भएको छ ।

निर्वासित पत्रकारको प्रतिवेदनले भन्छ– दमनको हकमा पुटिनले धेरै अगाडि नै सोभियतकालीन महासचिवहरूलाई उछिनिसकेका छन् तर जोसेफ स्टालिनबाहेकलाई । यो निष्कर्ष आफैंमा पर्याप्त हो कि यो त पुटिनले विस्तारै, क्रमश: र व्यवस्थित तरिकाले पुनर्निर्माण गरेको अधिनायकवादी राज्यको आइसवर्गको टुप्पो मात्र हो ।

सोभियत समयमा जस्तै आज रुसमा कुनै स्वतन्त्र मिडिया छैन । त्यस्ता अन्तिम संस्था पनि युक्रेन युद्धपछि देश छोडेर पलायन भए । जस्तो कि प्रोएक्ट, मेदुजा, एको मोस्कवी, नोवेल पुरस्कार विजेता नोभाया गजेता र दोज्दा टिभी ।

तिनको ठाउँ शासनसत्तासँग पङ्क्तिबद्ध समाचारपत्र, रेडियो स्टेशन, टिभी र सामाजिक सञ्जालले लिएका छन् । यिनले सैन्यवादी प्रचार गर्दछन्, रुसी साम्राज्यवादको प्रवर्द्धन गर्दछन् । पुटिनलाई देशको एक अद्धितीय र आश्चर्यजनक कमाण्डरका रूपमा चित्रण गर्दछन् ।

अधिनायकवादी अभ्यास पुनरुत्थानको अर्को प्रमाण पुस्तकमाथि प्रतिबन्ध हो । प्रतिबन्धित पुस्तकको संख्या हजारौंमा पुगेको छ । तिनलाई रुसी पुस्तकालय र बिक्री केन्द्रबाट हटाइएको छ । यस्ता प्रतिबन्धहरू विकिपिडिया, सामाजिक मिडिया र विभिन्न वेबसाइटसम्म विस्तार गरिएका छन् ।

मानव अधिकारकर्मी र स्वतन्त्र नागरिक नेताहरूलाई जेल हालिएको छ । कतिलाई भौतिक आक्रमण गरिएको छ । कतिलाई मौन बस्न धम्क्याइएको छ । कतिलाई निर्वासनमा पठाइएको छ ।

राज्यबाट स्वतन्त्र बस्न चाहने नागरिक संस्थाहरूलाई अवाञ्छनीय भन्दै प्रतिबन्ध लगाइएको छ । राज्यको आदेश अवज्ञा गर्दै सञ्चालित भए चर्काे जरिवाना गरिएको छ । मुद्दा चलाइएको छ । आन्द्रेई साखारोभ मेमोरियल फाउन्डेसन, प्रतिष्ठित मस्को–हेलसिन्की समूह, इयु–रुसिया सिभिल सोसाइटी फोरम पछिल्ला त्यस्ता संगठनहरू हुन् ।

त्यसको ठाउँमा पुटिन शासनपरस्त र युद्ध समर्थक समूह प्रवर्द्धन गर्न राज्यले व्यापक लगानी गरेको छ। युवा तथा बालबालिकाका बीच यस्ता समूह धेरै छन् । तिनले युद्धमा रुसी सेनाको विजय र पुटिन शासनको अमरताका लागि जयगान गर्दछन् । युवाहरूलाई सैन्य मूल्यप्रणालीको शिक्षा दिइँदैँछ ।

पत्रकार, विपक्षी नेता र नागरिक अभियन्ताहरूको हत्या, निर्वासनका घटना गनी साध्यै छैन । यस्ता धेरै तरिका र माध्यममार्फत् महत्त्वपूर्ण रुसी विपक्षी आवाज मौन गराइएका छन् ।

मान्छेको निजी र पारिवारिक जीवन पनि सरकारी निगरानी, उत्पीडन र दमनको दायराभित्र आउँदैछ । दमनको यस्तो भयावह लहरले रुसी सर्वसाधारणको जीवनमा ठूलो जोखिम उत्पन्न गरेको छ । सन् २०२३ मा अदालतको एक निर्णयले एलजिबिटी आन्दोलनलाई अतिवादी घोषणा गरेको थियो । इन्द्रेणी झण्डालाई निषेधित प्रतिकका रूपमा प्रतिबन्ध लगाएको थियो ।

यस्तो झण्डा कतै देखियो भने तुरुन्तै छापा मार्ने र पक्राउ गर्ने गरियो । समलैङ्गिकतालाई एक रोगका रूपमा पुनवर्गिकृत गरिएको छ । समलैङ्गिक अधिकारवादी संगठनले डरका कारण गतिविधि बन्द गरेका छन् । पति–पत्नी सम्बन्धमा समेत अनुशासन सम्बन्धि पुरातन कानून ब्युँताइएका छन् । यसले घरेलु हिंसाविरुद्धको कारबाहीमा कमी ल्याएको छ ।

रुसमा अधिनायकवादी नियन्त्रणका लागि गरिएको काम नै युद्धको विस्तार थियो । यसको पहिलो प्रयोग चेचेनियामा भयो । दोस्रो प्रयोग सन् २०१४ मा रुस अधीनस्थ क्रिमिया र पूर्वी युक्रेनमा भयो । विजित जनसंख्यामाथि गरिएको व्यवहार पूर्णतः सोभियत अभ्यासजस्तै थियो ।

सन् २०२२ पछि अधीनस्थ गरिएका युक्रेनी क्षेत्रमा मानव अधिकार हननबारे मानव अधिकार समूहहरूले डरलाग्दा रिपोर्ट दिएका छन् । त्यसमा बालबालिकामाथिको दुर्व्यवहारसमेत समावेश छन्। सोभियतकालीन कठोर श्रम शिविर र बन्दी गृहलाई बिर्साउनेगरी युक्रेनी जनतालाई कैद गरिएको छ ।

युक्रेनमा हिंसाको विस्तारसँगै स्वयम् रुसभित्र क्रुर हिंसालाई बैध, स्वीकृत र अनुमोदित बनाउने गरिएको छ । स्टालिन युगमा जस्तै क्रुरता र भय अब नैतिक र कानुनी मापदण्डमा अवतरित भएका छन् । अतिक्रमित युक्रेनी क्षेत्रलाई नियन्त्रण गर्न डरको व्यापक प्रयोग भयो । अब रुसभित्रै भयको व्यापक प्रयोग हुँदैछ ।

राष्ट्रपति निर्वाचनअघि विपक्षी नेता अलेक्सेई नाभाल्नीको हत्या पुटिनको तर्फबाट रुसी जनताका लागि डरको एक भीषण सन्देश थियो । पुटिनको युद्ध र दमनकारी राजनीतिक व्यवस्थामा नाभाल्नीहरूको अन्त्यबाहेक अरु कुनै विकल्प थिएन । यी सबै कर्म अधिनायकवादी स्टालिन शासनसँग सादृश्य छन् ।

सन् १९९९ मा सत्तामा आएदेखि नै पुटिन स्टालिनको प्रशंसा गर्थे । स्टालिनलाई ‘युद्धकालीन महान् नेता’ भन्थे । स्टालिनका निर्दयता र क्रुरतालाई भने बेवास्ता गर्थे । पुटिनको शासन बलियो हुँदै जाँदा रुसले स्टालिनको छविलाई सकारात्मकरूपमा प्रवर्द्धन गर्न खोजेको थियो । विद्यालयका पाठ्यपुस्तकमा स्टालिनको छविलाई सेतो पार्ने प्रयत्न गरिएको छ ।

रुसमा आज १०० भन्दा बढी स्टालिनका स्मारक छन्, जसमध्ये केही पुटिन शासनकालमा पुनर्स्थापित भएका हुन् । राज्य नियन्त्रित रुसी मिडियाले युद्धकालीन नेताका रूपमा स्टालिनको प्रशंसा गर्दै पुटिनलाई त्यस्तै अर्को एक अद्भुत युद्धकालीन नेताका रूपमा चित्रण गरिरहेका हुन्छन् । स्टालिन र पुटिनको तुलनालाई स्वाभाविक र आवश्यक मानिन्छ ।

सन् १९९० को दशकमा स्टालिनकालीन शासनप्रति सकारात्मक धारणा राख्ने रुसीको संख्या निकै कम भइसकेको थियो । प्रत्येक ५ मध्ये १ मात्र स्टालिनलाई सकारात्मक स्मरण गर्थे । आज स्टालिन शैली मन पराउने रुसीको संख्या ६०–७० प्रतिशतबीचमा पुगेको छ । स्टालिनको गौरवगाथको अर्थ युद्ध निर्माण र युद्धकालीन दमनको वैधताको खोजी हो ।

यो सत्य हो– पुटिन अरु कुनै सोभियत नेताभन्दा स्टालिनसँग बढी मिल्दोजुल्दो देखिन्छन् । उनी निकिता ख्रुश्चेभ, लियोनिद ब्रेझनेभ, कन्स्टान्टिन चेर्नेन्को र युरी आन्द्रोपोभको विपरीत छन् । मिखायल गोर्भाचेभ र बोरिस यल्तसिनको उनी नाम लिन चाहँदैनन् ।

पुटिनसँग निर्विवाद शक्ति छ, जसलाई कुनै संसद्, अदालत वा राजनीतिक समितिमा साझेदारी गरिएको छैन । राज्य प्रचार संयन्त्रले उनको स्टालिनकै जस्तो व्यक्ति पूजा गरिरहेका छन् । उनलाई एक निरपेक्ष नेता, एक प्रतिभा र एक युद्धकालीन जर्नेलको छविमा प्रस्तुत गरिन्छ । स्टालिनले नाजी सेनालाई हराएका थिए । पुटिन ‘युक्रेनी नाजी’ लाई हराउन जन्मेका हुन् । पूर्वी र मध्य युरोपमा प्रभुत्व जमाउन जन्मेका हुन् । यसरी हुन्छ पुटिन उपदेयताको प्रचार ।

अर्को विचित्रको कुरा छ– दोस्रो विश्व युद्धमा स्टालिनले जसरी रुसी अर्थोडक्स चर्चको शक्तिलाई प्रयोग गरेका थिए, त्यसरी नै पुटिनले रुसी अर्थोडक्स पार्टियाकीको प्रयोग गरेका छन् । त्यस्तै स्टालिनको जस्तै पुटिनको विदेश नीतिको केन्द्रबिन्दु छिमेकी देशमाथि आक्रमण र क्रेमलिनद्वारा तिनको भूभागको कब्जा हो ।

जीवनको उत्तरार्धकालीन स्टालिनजस्तै पुटिन अचेल एक्लो जीवन बिताउन थालेका छन् । उनी सबै सामाजिक परिवेशबाट सीमान्तकृत छन् । स्टालिनको जीवनको उत्तरार्धजस्तै पुटिनको स्थीर पारिवारिक जीवन पनि छैन । उनी आफ्नै परिवारबाट टुटेका छन् । केही सुसारेको सेवामा बस्दछन् । केही सुसारेले उनीबाट बच्चा पाएको चर्चा छ ।

स्टालिनजस्तै पुटिन बिहान ढिलोसम्म बाहिर निस्कँदैनन् । उनले कुरा गर्ने मित्रहरूको संख्या सानो छ । तीमध्ये अधिकांश उनका सन् १९६० वा ७० को दशकका साथीहरू छन् । यी केही मान्छेसँगको उनको मित्रता दशकौं लामो हो । यसभित्र व्यावसायी युरी कोल्भाचुक र इगोर सेगिन, रक्षामन्त्री सेर्गेइ सोइगु र सुरक्षा प्रमुख निकोलाई पेत्रुशेभ पर्दछन् ।

स्टालिनको कोटरी पनि यस्तै सानो थियो । सुरक्षा प्रमुख लेभरेन्टी बेरिया, सैन्य नेता क्लिमेन्ट भोरोशिलोभ र पार्टी अधिकारी जर्जी मेलेन्कोभ । स्टालिन र पुटिनको सानो मित्र समूह मिल्दोजुल्दो छ ।

नेतृत्वमा रहेका अन्य मान्छेका लागि पुटिन टाढाबाट निर्देशन दिने व्यक्ति मात्र हुन् । पुटिनले जासुसी संयन्त्र प्रमुख सर्गेइ नारिकिस्नजस्ता शक्तिशाली व्यक्तिलाई खुला अपमान गर्न सक्दछन् । रुसमा त्यस्ता थुप्रै उच्च अधिकारी छन्, जो पुटिनसँग असन्तुष्ट छन् र युक्रेन युद्धको समर्थन गर्न हिचकिचाउँछन् ।

पुटिनले दोस्रो विश्व युद्धकालीन स्टालिन व्यक्तित्वको अन्धानुकरण गरेजस्तो भान हुन्छ । पुटिनमा सोभियतकालिन कम्युनिष्ट विचारधाराप्रति भने कुनै प्रेम देखिँदैन । तर, उनले रुस र जनतालाई यसरी आकारित गर्न खोजिरहेका छन्, जसरी स्टालिनले सोभियत जनतालाई रूपान्तरित गर्न खोजेका थिए ।

गत साताको सोभियत शैलीको चुनावमा पुटिनको भीषण विजयले रुसी जनताले क्रुर युद्ध, तानाशाही शासन र समाजको सैन्यकरणलाई अनुमोदन गरेको प्रतित हुन्छ । रुसको नवस्टालिनवादी, नवसाम्राज्यवादी शक्तिको उदय अमेरिका र उसका युरोपेली साझेदाका लागि बढ्दो खतराको संकेत गर्दछ ।

यसबाट यो बुझ्न सकिन्छ कि आधुनिक रुसी जोखिम कति बलियो छ । स्टालिनको प्लेबुकबाट पुटिनले सापटी लिएका चिज कति गहिरा र खतरनाक छन् । सिंगो रुसी समाजलाई युद्धस्तरमा साम्राज्यवाद र पश्चिम विरोधी घृणातिर लैजानु एक ठूलो परिवर्तन हो ।

तर, यसको राम्रो पाटो पनि छ । त्यो हो– शीतयुद्धको उचाइमा स्टालिनको सोभियत संघलाई पराजित गर्न जुन निरन्तरता र गहिरो प्रतिबद्धता चाहिएको थियो, आज पनि त्यो जरुरी छ भनेर पश्चिमलाई बोध हुनु पर्दछ ।

(फोरेन पोलिसीबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved