उम्मेदवार बनेपछि सुहाङ भन्छन्- अप्ठ्यारै अवस्थामा पनि तयार भएको छु, विकासको सङ्कल्पसहित सेवा गर्छु

बुवाप्रतिको उचो विश्वास र भरोसा सहित उहाँले भविष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिँदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरूका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ ।

नेपालभ्युज

उम्मेदवार बनेपछि सुहाङ भन्छन्- अप्ठ्यारै अवस्थामा पनि तयार भएको छु, विकासको सङ्कल्पसहित सेवा गर्छु

काठमाडौं । आगामी वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) ले उम्मेदवार बनाएपछि सुहाङ नेम्वाङले आफू असजिलो र अप्ठ्यारो अवस्थामा पनि तयार भएको बताएका छन् ।

फेसबूकमा लेख्दै सुहाङ (Suhang nembang) ले असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएपनि मन, वचन र कर्मले इलामको सेवा गर्ने सङ्कल्पसहित उभिएको बताएका छन् ।

उनले भनेका छन्—

आगामी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले) ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुसी र उत्साही छु ।

यो महत्त्वपूर्ण अवसरको निम्ति हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा (एमाले) इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु ।

मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरूप्रति कृतज्ञ छु । तपाईंहरूको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमूल्य सम्पत्ति हो । अप्ठ्यारो परिस्थितिमा मलाई हौसला, ऊर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरूलाई धन्यवाद भन्छु । आभार ।

पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरू सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चाहन्छु ।

यहाँहरूलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा इलामेली आदरणीय जनताहरूले मेरो बुवा उहाँहरूको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर, हामीलाई अकल्पनीय बज्रपात आइलाग्यो । भौतिकरूपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र सङ्कल्पहरू हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थिति आइलाग्यो ।

गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरूको सुख, दुःख थाहा पाएको थिएँ । भविष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरूको अपेक्षा र चाहना बुझेको थिएँ ।

बुवाप्रतिको उँचो विश्वास र भरोसासहित उहाँले भविष्यप्रति राख्नुभएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिँदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरूका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ ।

गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरूले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोसा र विश्वास मेरो लागि कति भव्य थियो ? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिनँ । मलाई लागेको थियो, ‘अझै थुप्रै वर्षहरू बुवाको साथमा रहनेछु ।

सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको सङ्कल्प पूरा गर्न अधिकतम योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पूरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर विडम्बना मेरो जिन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय बज्रपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरू पूरा गर्न तयार हुनुपर्ने अवस्था आयो ।

हो, बुवालाई राजनीतिमा साथ दिँदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौँ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरू स्वागतको लागि तयार थिएँ । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरूको आशा, भरोसा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, सङ्कल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरूले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरूतिर जाने अनुमति दिएन । र भनिरह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’

त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु । उहाँहरूको कष्टसाध्य सङ्घर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु । रहनेछु ।

हो ! म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चाहन्छु, केवल परिस्थितिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापि होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने सङ्कल्पसहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोटसहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्रसहित यात्राको लागि तयार भएको हुँ । तपाईंको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved