काठमाडौं । प्रहरीले काठमाडौंमा ल्याई बन्धक बनाएर राखिएको अवस्थामा चार बंगलादेशी नागरिकको उद्धार गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धन बनाएर राखिएका उनीहरूलाई उद्धार गरेको हो । उनीहरूको परिचय भने खुलाइएको छैन ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको एसपी नकुल पोखरेलले जानकारी दिए।
पक्राउ पर्नेमा बंगलादेशको राजधानी ढाकाका ३८ वर्षीय नुरूल हुडा, ३१ वर्षीय सामिम अहमद, ३० वर्षीय मोहम्मद मासुम बिल्लाह र ३३ वर्षीय प्रणयकुमार दे छन् ।
उनीहरूले चार जना पीडितहरूको पासपोर्ट खोसेर कुटपिट गरी राखेको पाइएको एसपी पोखरेलले बताए ।
उनीहरूलाई वैदेशिक रोजगारका लागि युराेपका देशहरूमा पठाइदिने आश्वासन दिएर काठमाडौं ल्याइएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment