‘कृष्णबहादुर महरालाई उचित समयमा पार्टीले कारबाही गर्छ’

नेपालभ्युज

‘कृष्णबहादुर महरालाई उचित समयमा पार्टीले कारबाही गर्छ’

काठमाडौं । पूर्वसभामुखसमेत रहेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्देशन दिइसकेका छन् ।

यसअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगले ९ किलो भेप प्रकरणमा दोषी देखाउँदै महरालाई कारबाहीको सिफारिस गरेको थियो ।

तर, पार्टीले भने महरालाई केही गरेको/भनेको छैन । यसअघि बसेको माओवादीको स्थायी समिति बैठकले उनलाई कारबाही गर्ने आकलन गरिएको थियो । तर, नेताहरूले बताएअनुसार बैठकमा महराको विषयले प्रवेश नै पाएन ।

महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन, विनोद चौधरीको पनि बयान लिइँदै

त्यसो त लोकतान्तिक मूल्य-मान्यताअनुसार आफ्ना नेतामाथि प्रश्न उठिसकेपछि उक्त प्रश्नबाट पार नपाएसम्म पार्टीले सामान्यतया कारबाही गर्ने गर्छ । तर, लोकतन्त्रको गान गाएर नथाक्ने माओवादीले भने महरालाई अहिलेसम्म केही गरेको/भनेको छैन ।

नेताहरू अहिलेसम्म पनि महरालाई कारबाही गर्ने सन्दर्भमा छलफल प्रारम्भ नै नभएको बताउँछन् । महरालाई कारबाही गर्ने सन्दर्भमा केही छलफल वा निर्णय नभइसकेको माओवादी महासचिव देवप्रसाद गुरुङ बताउँछन् । “अहिलेसम्म त्यस सन्दर्भमा केही छलफल भएका छैनन्,” महासचिव गुरुङले नेपालभ्युजसँग भने ।

तर, माओवादीका एक पदाधिकारी भने महरालाई कारबाहीको तयारी भइरहेको बताउँछन् । नेपालभ्युजसँग ती पदाधिकारीले भने, “प्रश्न उठिसकेको छ, अब यत्तिकै बस्ने कुरा हुँदैन । उचित समयमा कारबाहीको निर्णय लिन्छ पार्टीले । अनौपचारिकरूपमा छलफलहरू भइरहेका छन् ।”

त्यसमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि विशेष चासोका साथ अनौपचारिकरूपमा छलफल गरिरहेको ती पदाधिकारीले बताए । कहिलेसम्म कारबाही हुन्छ ? भन्ने जिज्ञासामा उनले भने, “अनौपचारिकरूपमा केही विषयहरू टुङ्गिएपछि बैठक बस्छ होला, त्यो बैठकले कारबाहीको निर्णय गर्ला । बैठक कहिले बोलाइन्छ, त्यसपछि हुने कुरा हो यो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved