पोखरा पर्यटन राजधानी, प्रधानमन्त्रीले गरे रिमोटबाट लोगो अनावरण

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

नेपालभ्युज

पोखरा पर्यटन राजधानी, प्रधानमन्त्रीले गरे रिमोटबाट लोगो अनावरण

पोखरा । पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विशेष समारोहकाबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।

घोषणा समारोहमा सहभागी हुन पोखरा पुगेका उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण पनि गरे ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी बनाउन पहल गरिरहेका थिए ।

प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो ।

समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको महानगरको दाबी छ ।

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved