सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको रकम फिर्ता हुन सक्दैन : कानूनमन्त्री गिरी

नेपालभ्युज

सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको रकम फिर्ता हुन सक्दैन : कानूनमन्त्री गिरी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको बताएका छन् ।

बिहीवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो दाबी गरेका हुन् ।

उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताए ।

सहकारीमा समस्या आएपनि समाधानको लागि राज्यले लिएको कार्यशैली गलत भएको उनको भनाई छ ।

कानूनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उल्लेख गरे ।

सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिनेकुरा राम्रो पक्ष नभएको गिरीको भनाई छ ।

उनले आम जनताको बचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए । साथै, ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको उनले बताए ।

उनले विधि,पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने बताए ।

जुनसुकै हिसाबमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा उनले जोड दिए ।

सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई ।

गिरीले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved