सेवाग्राहीबाट बलात्कृत भएको भन्दै पठाओ चालक युवती प्रहरीमा, आरोपित युवा भन्छन्- प्रेममा थियौँ, सहमतिमै भयो

युवतीलाई डिपेन्डेन्टमा लैजान प्रस्ताव गरेको पनि बयान दिएका छन् । त्यसपछि आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमै शारीरिक सम्पर्क पनि भएको युवाले बताएका छन् ।

नेपालभ्युज

सेवाग्राहीबाट बलात्कृत भएको भन्दै पठाओ चालक युवती प्रहरीमा, आरोपित युवा भन्छन्- प्रेममा थियौँ, सहमतिमै भयो
स्केच तस्वीर (एआई)

काठमाडौं । राइडिङ सेवा एप्स पठाओ प्रयोग गरेर सेवा दिने एक महिला सेवाग्राहीबाटै बलात्कृत भएको भन्दै उजुरी लिएर प्रहरीमा गएकी छन् । तर, घटना भने युवतीले युवालाई स्कुटीमा घर पुर्‍याउने क्रममा भएको होइन । ‘प्रेम सम्बन्ध भएर धोका खाएपछि ती युवती बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी हुन् ।

पठाओ चढ्ने युवा नुवाकोटका थिए, उनी काठमाडौं मनमैजु डेरा गरी बस्थे । ती युवाले तीन महिनाअघि काठमाडौं प्रहरी परिसर टेकुबाट कोठामा जाने क्रममा पठाओ एप्सबाट राइडर बोलाए ।

सो क्रममा युवती राइडर आइपुगिन् । घर जाने क्रममा दुवैको कुराकानीको क्रममा चिनापरिचय पनि भयो । दुवैजना सोसल मिडिया फेसबुक म्यासेन्जरमा जोडिए । अर्काे दिनदेखि दुवैजना लगातार भेट्न थाले ।

ती पुरुषले आफू क्यानडा जाने तयारीमा रहेको बताएका थिए । पठाओ चालक युवती पनि विदेश जान भन्दै काठमाडौं आएकी थिइन् । तर, विदेश जाने प्रोसेस ढिलो हुने भएपछि स्कुटर लिएर पठाओ चलाउन थालेकी थिइन् ।

युवाले पठाओ चालक युवतीलाई आफूसँगै क्यानडा लैजाने बताए । युवतीलाई प्रेम प्रस्ताव राखे । युवती राजी भइन् । युवाले शारीरिक सम्बन्धको प्रस्ताव राखे ।

तर युवतीले बिहे अगाडि नहुने अडान लिइन् । पठाओ चालक युवतीले नमानेपछि युवाले गृहजिल्ला नुवाकोट लगेर ‘कोर्ट म्यारिज’ गर्ने आश्वासन दिए ।

त्यति भन्दा पनि युवती राजी भइनन् । युवाले जुक्ति निकाले ‘क्यानडा नलैजाने’ बहना बनाउने । युवाले भने, ‘त्यसो भए म तिमीलाई क्यानडा लैजान्न ।’ त्यसपछि युवती बिहेअघि नै शारीरिक सम्बन्धको लागि तयार भइन् ।

शारीरिक सम्बन्धपछि युवा टाढिए । उनले क्यानडा लैजाने मिति नजिकियो, तर वास्ता गरेनन् । न त ती युवा क्यानडा गए, न युवतीलाई लगे ।  त्यसपछि पठाओ चालक युवती प्रहरीमा गएकी हुन् ।

युवतीले भने अरू पनि आरोप लगाएकी छिन् । आफ्नो ‘नग्न फोटो र भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्दै पटकपटक सम्बन्ध राखेको’ युवतीको आरोप छ ।

केही पैसा समेत लिएको उनको आरोप छ । गत पुस १ गते पैसा फिर्ता दिन्छु भनी बोलाएर आफ्नै डेरामा शारीरिक सम्बन्ध पनि राखेको उनले बताएकी छन् ।

जाहेरीपछि युवा पक्राउ परेका छन् । उनले बयानमा आफूहरू प्रेममा रहेको र अहिले छुटेको दाबी गरेका छन् । प्रेममा रहँदा आफूले क्यानडा जान आईईएलटीस गरिरहेको बताएको पनि स्विकारेका छन् ।

युवतीलाई डिपेन्डेन्टमा लैजान प्रस्ताव गरेको पनि बयान दिएका छन् । त्यसपछि आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमै शारीरिक सम्पर्क पनि भएको युवाले बताएका छन् ।

युवतीले युवाको नागरिकता समेत दुई वटा रहेको दाबी गरेकी छिन् । तर, युवाले भने आफैँले नागरिकता एडिट गरेको बताएका छन् ।

प्रेममा हुँदा आफू दलित भएको कुरा जाहेरवालालाई थाहा हुन नदिन साइबरमा गएर नागरिकता एडिट गरी थर परिवर्तन गरेको उनले बताएका छन् । ‘म दलित भएको थाहा पाएपछि छाड्छिन् भनेर गैर दलित बनाएको हुँ’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved