रास्वपा राजनीति : ‘नो नट अगेन’देखि ‘बा ! एस अगेन’सम्म

रास्वपाले अब ‘नो नट अगेन, बाहरू घर बस’ को साटो ‘बा ! एस अगेन’ भन्न थालेको छ । ‘रेनुका बा’ सँग मात्र हैन, ‘बालकोटका बा’ र ‘कोटेश्वरका बा’ सँग समेत सहकार्यमा पुगेको छ । रास्वपाको पछिल्लो निर्णयपछि तीन वटा प्रश्न बलिया भएका छन् ।

रास्वपा राजनीति : ‘नो नट अगेन’देखि ‘बा ! एस अगेन’सम्म

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत आम निर्वाचनमा ‘नयाँ’ थियो । त्यसले दिएका केही लोकप्रिय नारामध्ये एक थियो– नो नट अगेन, बाहरू घर बस !

‘बा’ को अर्थ सञ्चारमाध्यममा ‘बालकोटका बा’ का रूपमा चर्चित नेकपा (एमाले) अध्यक्ष्य केपी शर्मा ओली मात्रै थिएनन्, उमेरले ७० कटेका र राजनीतिमा ३ दशकभन्दा बढी समयदेखि छाएका देशका मुख्य नेता र पूर्वप्रधानमन्त्रीलाई बुझाउने एक बिम्ब थियो ।

अर्थात् बूढानीलकण्ठमा बस्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, खुमलटार बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कोटेश्वर बस्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र डल्लु बस्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि रास्वपाले ‘नो नट अगेन, घर बस’ भनेका ‘बा’हरू भित्र पर्थे ।

अर्थात् रास्वपाले पुरानो एक सिंगो पुस्तालाई लक्षित गरेर प्रतिस्थापनको प्रयास गरेको थियो । तर, चुनाव सकियो परिदृश्य ठीक उल्टो देखियो । रास्वपा नेता रवि लामिछाने ती ‘बा’ हरूका घर-घर चाहर्न थाले ।

‘बा’हरूमध्ये डा. बाबुराम भट्टराई चुनाव नै लडेनन् । उनले गठबन्धन र सहकार्यका नाममा आफ्नो निर्वाचन क्षेत्र गोर्खा २ अर्का ‘बा’ पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहर्ष बुझाइदिए । झलनाथ बा आफ्नै गृहजिल्ला इलामबाट पाँचदलीय गठबन्धनको सहयोग र समर्थनका बाबजुद पनि पराजित भए । ओली बा, देउवा, रेनुका बा र कोटेश्वरका बा भने अहिले पनि संसद्मा छन् ।

रास्वपा पहिलोपटक एमाले अध्यक्ष ओलीको आडमा प्रचण्ड सरकारमा सामेल भयो । लामिछाने उपप्रधान तथा गृहमन्त्री भए । मानिसलाई अनौठो लाग्न थालिसकेको थियो, कस्तो पार्टी हो यो ? भन्छ एउटा गर्छ अर्कै । चुनाव अघि एउटा कुरा, चुनावपछि अर्कै कुरा ।

तर, लामिछाने र उनका सहकर्मीहरूको पहिलो सत्तारोहण त्यति सुखद भने रहेन । स्वयम् लामछिानेको ‘दोहोरो नागरिकता’ विवादको कारणले उनको पद गयो । जब पद गयो, उनले आफ्ना सहकर्मीलाई पनि प्रचण्ड सरकारबाट बाहिर निकाले ।

अब रास्वपाले प्रतिपक्षीय भूमिका र मिसन-२०८४ को गफ दिन थाल्यो । मान्छेलाई लाग्यो कि ‘घण्टावाला’ मित्रहरू नयाँ थिए, भर्खरै राजनीति सिक्दै थिए । तसर्थ झुक्किएर सरकारमा गए, खासमा उनीहरूले गर्नुपर्ने त प्रतिपक्षीय भूमिका थियो, सरकारमा जाने जनादेश थिएन उनीहरूसँग ।

यदि वैधानिक तथा नैतिक राजनीतिको कुरा गर्ने हो भने गत चुनाव पाँचदलीय गठबन्धनले जितेको थियो । सरकार पनि पाँच दलीय गठबन्धन कै बन्नु वाञ्छित हुन्थ्यो ।

तर, न पाँचदलीय गठबन्धनको सरकार बन्यो, न रास्वपा प्रतिपक्षीय भूमिकामा नै बस्यो । कतिपयले विश्लेषण गरे, रास्वपाले सच्चिने मौका पायो । रास्वपाले पाएको जनादेश प्रतिपक्षका लागि नै हो । प्रतिपक्षमै धकेलिए । शिकारुहरूले गल्ती त गरिसके । तर, एकपटकलाई माफ गर्न सकिन्छ । किनकि विचरा ! नयाँ र शिकारु छन् ।

रास्वपा सभापति रवि लामिछानेले पनि ठीक त्यस्तै आसय व्यक्त गर्न थालेका थिए । पहिलोपटक सत्ताबाट बाहिरिएपछि उनले बढो भावुक र आदर्शवादी कुरा गर्न थाले ।

उनले एक ट्वीटमा भने–‘अब यो ४ वर्ष तपाईंहरू नै मिल्नुस् । हामीबाहेकको सहमतीय सरकार बनाउँनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । हामी अब ८४ अगाडि कोहीसँग मिल्दैनौँ। तपाईंहरू सबै मिलेर रास्वपाविरुद्धको गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै ।’

सामाजिक सञ्जालमा लामिछानेको यो ट्वीट भाइरल छ अहिले । रास्वपाका कुनै नेता कार्यकर्ताले त्यसको उत्तर दिएका छैनन् ।

बालकुमारी घटनामा दुई निर्दोष युवक प्रहरी दमनमा मारिएपछि रास्वपा सांसद डा. तोसिमा कार्की हातमा प्लेकार्ड लिएर सडकमा उभिएकी थिइन्, अब सत्र हजार जोड दुई ।

रास्वपा-माओवादी जनयुद्धको विकृत व्याख्या गर्दै आएको दल पनि हो । त्यसले क्रान्तिकारी हिंसा, जनसंघर्ष र बलिदानलाई अपराधका रूपमा चित्रण गर्दछ । तर, त्यही पार्टी फेरि बिनालज्जा र कुनै प्रष्ट सार्वजनिक स्पष्टीकरणबिनै प्रचण्ड सरकारमा सामेल भएको छ । पार्टी नेता लामिछाने पुनश्च: उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका छन् ।

यसको सरल अर्थ रास्वपाले अब ‘नो नट अगेन, बाहरू घर बस’ को साटो ‘बा ! एस अगेन’ भन्न थालेको छ ।

रास्वपा ‘रेनुका बा’ सँग मात्र हैन, ‘बालकोटका बा’ र ‘कोटेश्वरका बा’ सँग समेत सहकार्यमा पुगेको छ । पुन: प्रचण्ड सरकारमा सामेल हुने रास्वपाको निर्णयपछि तीन वटा प्रश्न सार्वजनिक बहसमा बलिया भएका छन् ।

पहिलो– लामिछानेले हिजो अरुलाई भने जस्तो ‘उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि’ रास्वपाको ‘सटरचाहिँ किन बेग्लाबेग्लै’ चाहियो ? यो कुनै नयाँ र वैकल्पिक दल नभएर पुरानै सिन्डिकेटको एक नयाँ साझेदार मात्र भएन र ?

दोस्रो– के दोस्रो पटकको सत्ता अरोहणलाई नव शिकारुहरुको गल्ती भनेर क्षमा गर्न सकिन्छ ?

तेस्रो– सुशासन र नैतिक राजनीतिको चर्को गफ गर्ने दलको नेताले ‘स्वार्थ–बझान’ हुने मन्त्रालय र जिम्मेवारी सम्हाल्न मिल्छ ?

हिजो दोहोरो नागरिकताको सवालमा पनि लामिछानेको स्वार्थ बझान सर्वोच्च अदालतले प्रमाणित गरिदिएको थियो । नेपाली नागरिकता परित्याग गरेको अवस्थामा उम्मेदवार र निर्वाचित भएको कारण उनको सांसद पद नै गुमेको थियो । उनले उपनिर्वाचन सामना गर्नुपरेको थियो ।

यसपटक उनीमाथि ‘सहकारी ठगी’ मा संलग्नताबारे छानबिन भइरहेको छ । जसरी नागरिकता सवालको ताल्लुकदार मन्त्रालय गृह थियो, अहिले पनि ठीक त्यही कुरा हो । सहकारी ठगीको सवालमा गृह मन्त्रालय अन्तर्गतको प्रहरी सेल सीबीआई लगायतले छानबिन गरिरहेका छन् ।

शिक्षित, शहरिया र युवा पुस्ताको सुसंस्कृत राजनीति गर्ने भनिएका रास्वपा नेता कार्यकर्ता यसबारे मौन छन् ।

समग्रमा रास्वपा राजनीतिमा पनि अरु पुराना दलको जस्तै कथनी र करणीबीच ठूलो खाँडल देखिएको छ, भन्ने एउटा गर्ने अर्कै ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved