काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस २०८० को अवसरमा गायिका मेनुका पौडेलले सम्मान पाएकी छिन् । भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गायिका मेनुका पौडेलले सम्मान ग्रहण गरेकी हुन् ।
“Invest in Women: Accelerate Progress” and “Inspire Inclusion” भन्ने नाराका साथ महिलाको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिको रूपमा उपस्थित भएकी थिइन् । कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव पनि सहभागी थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्राहरू लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्धिका लागि गरेको अथक प्रयासको प्रशंसा गरिन ।
सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै उनले यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको श्रीवास्तवले बताइन् ।
अष्टलक्ष्मी शाक्यले भारत र नेपालबिच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तीकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत् कार्यक्रम बारे जानकारी गराइन । उनले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरिन ।

काठमाडौंकी मेनुका पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन् ।
रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउँदै चर्चा कमाएकी थिइन् । सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीलाई उपहार स्वरूप पुस्तक प्रदान गरेको थियो ।
Facebook Comment
Comment