गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो : मुख्यमन्त्री पाण्डे

नेपालभ्युज

गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो : मुख्यमन्त्री पाण्डे

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताएका छन् ।

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ दिनको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पाण्डेले मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थलहरु रहेका र पछिल्लो समय पञ्चकोट पनि एक धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बताए ।

उनले भने, “अझै पनि यहाँ कैयौँ सुप्रसिद्ध धार्मिक तथा सांस्कृतिक गन्तव्य छन्, तिनको आवश्यक प्रचारप्रसार गरी धार्मिक एवं सांस्कृतिक पर्यटनको विकास गर्नुपर्छ ।” मुख्यमन्त्री पाण्डेले धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशमा धेरै सम्भावना रहेकाले धार्मिक पर्यटनमार्फत समृद्ध हासिल गर्न सकिने बताए ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाउनका लागि निरन्तर काम भइरहेको भन्दै अब धार्मिकस्थलसँग पर्यटकलाई जोड्न त्रिवेणीधामदेखि मुक्तिनाथसम्मका विभिन्न स्थानमा धार्मिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पञ्चकोटधामका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले मुख्यमन्त्री एवम् मन्त्रीहरुलाई स्वागत गर्दै गण्डकी प्रदेश सरकारसमक्ष पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचनाहरुको पूर्णताका लागि सहयोगको अपेक्षा गरिएको बताए।

यही फागुन ९ गतेदेखि सुरु भएको अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा हरेक दिन विभिन्न विषयका सम्मेलनहरु भइरहेका छन् । यसअन्तर्गत आज पञ्चकोटमा प्रादेशिक राजनीति र सुशासन सम्मेलन आयोजना गरिएको थियो ।

त्यस सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता राखेको बताउँदै जनतालाई सुशासनको अनुभूति दिलाइ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार लागिपरेको समेत उल्लेख गरे । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved